मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाई कलाप्रेमी हुनुहुन्छ ? घरमा सजाइने कलाकृतिका यस्ता छन् फाइदाहरु

काठमाडौँ– पछिल्लो समय घर होस् या कार्यालयका भित्ताहरुमा चित्रकलाहरु झुन्ड्याएको देखिन्छन् ।

घर तथा कार्यालय परिसरमा विभिन्न कलाकृतिहरुले सजाउने अभ्यास समेत बढेको छ । केही समय अघि फिल्ममा अभिनय गर्ने अभिनेता तथा अभिनेत्रीका तस्वीरहरु सजिने सामान्य होटेल र चिया अड्डाहरुमा समेत चित्रकलाहरु सजिएको देख्न सकिन्छ ।

अझ अहिले होटेल व्यवसाय र कलालाई सँगसँगै लैजाने उद्देश्यले खानासँगै कला प्रदर्शनीलाई समेत जोड दिइएको छ । सरकारी देखि गैरसरकारी कार्यालय र अस्पतालहरुमा पनि कलाकृतिहरु अवलोकन गर्न सकिन्छ ।

यस्ता अभ्यासले आम मानिसमा ललितकलाप्रतिको बुझाइ फराकिलो बन्दै गएको मान्न सकिने कला क्षेत्रका विज्ञहरुको भनाइ छ । उनीहरुका अनुसार कला केवल सजावटको वस्तु मात्र नभएर कुनै पनि व्यक्तिको व्यक्तित्व झल्काउने प्रतीक पनि हो ।

विज्ञहरुका अनुसार यसले व्यक्ति, समाज र मानवीय पक्षको आदर्शलाई सभ्य र सुसंस्कृति बनाउन सघाउँछ । कलाकार, कला समीक्षक तथा कला लेखक रमेश खनाल र तीर्थ निरौलाका अनुसार कलाले व्यक्ति, समाज तथा समग्रमा वातावरणमा यी फाइदाहरु पुर्‍याउन सक्छ :

सुन्दर वातावरणको सिर्जना

कुनै स्थानमा राखिने कलाले त्यो परिवेशको सौन्दर्य बढाउँछ । भित्तामा होस् या कोठा र खुल्ला ठाउँमा राखिएका कलाहरुले सुन्दरता बढाएर आकर्षक बनाउँछ । कलाले ढाकेको वातावरण नै मधुरताले भरिन्छ ।

वातावरणको माहोल बताउँछ

कुनै पनि ठाउँमा राखिएको कलाले त्यसको वरपरको वातावरणको झलक दिन्छ । अस्पतालतिर राखिएको चित्रकलाले डाक्टर, नर्स तथा सहभागीहरुलाई स्नेह र शान्त भावको विचार पैदा गर्छ । त्यस्तै हिमालका चित्रहरुले सुन्दर प्रकृति र शीतलताको भाव दिलाउँछ ।

व्यक्तित्व वर्णन गर्छ

कुनै पनि व्यक्तिको घरमा राखिने कलाले उसको व्यक्तित्व कस्तो भनेर अनुमान लगाउन सकिन्छ । अर्काेतिर कलालाई बुझ्न गहन भावको आवश्यकता पर्ने भएकोले कलाकृति सजावट भएको घर र त्यहाँभित्र रहने मानिसहरुलाई कलाप्रेमीका रुपमा पहिचान गर्न सकिन्छ । घरभित्र सजिएका कलाहरुले पनि त्यहाँभित्रका मानिसका स्वभाव समेत थाहा पाउन सकिन्छ ।

व्यक्तिमा मनोविज्ञान प्रभाव

व्यक्तिले छनोट गर्ने कला र उसको कला प्रेमले उसको मनोविज्ञान बुझ्न सकिन्छ । युद्ध भावका कलाहरु मन पराउने मान्छे उग्र भावका हुने संकेत दिन्छ । अर्काेतिर कलाले मानिसको मनोविज्ञानमै प्रभाव पार्छ । शान्त भावका कलाकृतिहरुको वरिपरी बसिरहने मानिसको स्वभाव समेत बदल्न सघाउँछ ।

व्यक्तिलाई आर्थिक फाइदा

कलाकारहरुका कलाकृति संकलन गर्नु भनेको आर्थिक रुपमा फाइदा पनि हो । अहिले संकलन गरेर संग्रह गरिएका कलाकृतिहरु ५० वर्षपछि मूल्यवान हुन सक्छ । १० हजार रुपैयाँमा अहिले खरिद गरेको कला पछि १० लाख रुपैयाँसम्ममा बिक्री गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?