काठमाडौं– रञ्जना लिपिलाई विश्वभर फैलाउन उनको योगदानलाई कदर गर्दै ‘लिपि क्वीन’ को उपनाम पाएकी सुनिता डङ्गोल काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हुन् ।
सुनिताका लागि सन् २०११ मा जितेको मिस नेवाको ताज जीवनको टर्निङ प्वाइन्ट बन्यो । काठमाडौंमा सम्पन्न नेवार समुदायका युवतीहरूले मात्र सहभागिता जनाउने सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने यही प्लाटफर्मले नै डङ्गोललाई एकाएक ‘सेलिब्रेटी’ बनायो भने समाजसेवामा समेत उनले आफ्नो यात्रा अगाडि बढाइन् ।
हुन त काठमाडौँकी स्थायी बासिन्दा डङ्गोल बाल्यकालदेखि नै पढाइमा मात्र नभएर अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै सक्रिय थिइन् । ‘ब्युटी पेजेन्ट’ जित्नुअघि पनि विभिन्न कार्यक्रममा उद्घोषिकाका रुपमा काम गरेको अनुभव उनीसँग थियो ।
मिस नेवाः को उपाधि जितेपछि भने उनी एफएममार्फत औपचारिक रूपमै सञ्चार कर्ममा समेत अगाडि बढिन् ।
उद्घोषिकाका रूपमा सक्रिय रहेका बेला करीब आठ वर्षअघि सुनिताले एनटिभी प्लसमा कार्यक्रम उद्घोषिका तथा निर्मात्रीका रूपमा समेत काम गर्न थालिन् ।
यो समयमा उनले उत्पादन गर्ने हलिउड फिल्म, संगीत तथा फेसनका विशेष होस् या बालबालिका सम्बन्धी कार्यक्रम होस् । लोकप्रिय रहे भने उनले सञ्चार कर्ममा समेत आफूलाई प्रमाणित गरिन् ।
बहुमुखी प्रतिभाकी धनी डंगोलले सञ्चार कर्मकै बेला हाल उनी उपप्रमुख रहेको काठमाडौँ महानगर मै नेवाः भाषा विज्ञका रूपमा काम गर्न थालिन् ।
उनले युट्युबमार्फत नेवारी भाषा पनि सिकाइन् । साथै उनले नेवाः भाषा सिकाउने क्रममा रञ्जना लिपिको प्रशिक्षकको रूपमा समेत काम गर्न थालिन् । यसैबाट उठेर रञ्जना लिपिलाई विश्वभर पुर्याउन उनले गरेको प्रयास तत्कालीन समयमै धेरैको नजरमा परिसकेको थियो ।
कोरोना महामारीका बेलामा समेत उनले अनलाइनबाटै रञ्जना लिपिबारे प्रशिक्षण कायम राखिन् । त्यति नै बेला उनले नेवा: भाषाविज्ञ र रञ्जना लिपिको प्रशिक्षकका रूपमा गरेको योगदानले नेवा: समुदायमा उनको छुट्टै छवि बन्यो ।
महानगरसँगको आबद्धता र नेवाः समुदायमा प्रभाव पारिसकेको छवि अनि त्यति बेलै युवा नेतृत्वको चुलिँदो बहस ।
डङ्गोललाई पनि यसले राजनीतिक यात्राका लागि हौसला दिलायो । नेवाः सम्पदा संरक्षणवादी, भाषा कार्यकर्ताको चिनारीमा राजनीतिज्ञ थप्न रहर लाग्यो । अझ आफ्नै गृह नगरमा नेतृत्वमा पुगेर केही नयाँ काम गर्न हुटहुटी पनि उनीमा थपियो ।
फलत: स्वतन्त्रहरूको लहर चलेको काठमाडौँ महागरपालिकामा सुनिताले समेत मेयरमा स्वतन्त्र उम्मेदवारी दिन लागेको चर्चा हावासरी फैलियो । प्रमुखका रूपमा उनले गर्ने प्रतिबद्धताले समेत मानिसहरूको ध्यान आकर्षित गर्यो भने सञ्चार माध्यमहरूले पनि सुनिताको मेयर पदको उम्मेदवारको यात्रामा राम्रै साथ दिए ।
तर, विगतबाटै कहीँकतै एमालेसँग जोडिएकी उनलाई अध्यक्ष केपी शर्मा ओलीले नै उपप्रमुखको टिकट प्रस्ताव गरे ।
त्यसलाई सहर्ष स्वीकारेर चुनावी मैदानमा होमिएकी डङ्गोलले प्रमुख पदका उम्मेद्वार बालेन साह लक्षित अभिव्यक्तिका कारण केही आलोचना खेप्नुपरे पनि जीत हासिल गरिन् ।
विश्वका एक दर्जनभन्दा बढी मुलुकको भ्रमण गरेर त्यहाँको विकास नियालेकी तथा सामाजिक विज्ञानमै स्नातकोत्तर गरेकी उपप्रमुख डंगोल अहिले काठमाडौँ लाई ‘कान्तिपुरी’ बनाउने यात्रामा छिन् ।
अहिले महानगरको बजेटको कार्यान्वयन पक्ष बलियो बनाउनमा व्यस्त रहेकी उनी योजना गरेका बजेट तथा कार्यक्रम र अनुगमनमा तीव्र रूपमा काम भइरहेको बताउँछिन् ।
अझै पनि नेतृत्वमा महिला त्यसमा पनि युवालाई ‘एसेप्ट’ गर्ने ‘कल्चर’ विकास नभइसकेको यद्यपि महानगरकै काममा व्यस्त भएका कारण कठिन महसुस नगरेको उनको अनुभव छ ।
चुनावअघिका प्रतिबद्धता कति पूरा भए त ? भन्ने प्रश्नमा कार्यकारी भूमिका नभएकाले कतिपय समयमा आफूले सोचेको जस्तो गर्न नसकिने बाध्यता रहेको उनले बताइन् ।
‘जो जहाँ छ र जसले जे सक्छ त्यति नै योगदान गर्न सके मात्र पनि राष्ट्र निर्माणका लागि पर्याप्त हुन्छ, मैले पनि त्यही गरिरहेकी छु,’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया