मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

संरक्षणको पर्खाइमा धनकुटा चौबिसेका ताल

धनकुटा– धनकुटाको चौबिसे गाउँपालिकामा रहेका ताल संरक्षणका पखाईमा रहेका छन् । धेरैजसो निजी स्वामित्वमा रहेका यी तालहरूको व्यक्तिले उपयोग नगर्ने र संस्थागत प्रयोजनमा आउन नसक्दा यसको प्रवर्द्धन हुन नसकेको हो । 

संरक्षण अभावमा पालिकाको केन्द्रमा रहेको वडा नं ६ स्थित राजारानी बजारमा रहेको राजा र रानी तालमध्ये राजातालको पाँच सय रोपनीभन्दा बढी क्षेत्रफल दलदलमा सीमित रहेको छ । 

याे तालको रानीताल क्षेत्र २०६३ सालबाट एक सय ५० रोपनीमा संरक्षण गरिए पनि सँगै जोडिएको राजाताल भने जग्गादाताले सहकार्य नगर्दा संरक्षण गर्न नसकिएको मावरक रानीताल संरक्षण समितिका अध्यक्ष टेकरत्न चेम्जोङले जानकारी दिए ।

त्यस्तै गाउँपालिकाको वडा नं २ को शौरेबजारसँगै रहेको धप्पड तालसँगै रहेको टिठुङ ताल पनि संरक्षणको पर्खाइमा रहेको छ ।

गाउँपालिकाले गत वर्षबाट रु चार करोडको लागतमा ५२ रोपनीमा फैलिएको धप्पडताल संरक्षणको काम सुरु गरेको छ । तर सँगै रहेको टिठुङताल बजेटको अभाव हुँदा संरक्षण गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए । 

त्यस्तै पालिकाको वडा नं १ सानो मुक्तरामा रहेको काङ्गडातालको पनि पूर्णरूपमा संरक्षण हुन नसकेको पूर्ववडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले जानकारी दिए । 

व्यक्तिको नाममा रहेको करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको यो तालको दुई वर्षअघिबाट संरक्षण थालिए पनि बजेट अभावमा यसको पूर्णरूपमा प्रवर्द्धन गर्न नसकिएको उनको भनाइ छ ।

 पालिकाको वडा नं १ को स्याङ्दन गाउँमा दुई सय रोपनीमा फैलिएको रानीपोखरी ताल अलपत्र अवस्थामा रहेको छ । व्यक्तिको नाममा रहेको यो पोखरी आंशिकमात्र खेतीपाती गरिएकाले अधिकांश तालक्षेत्र दलदल र सिमसार रहेको छ । 

यस क्षेत्रका अधिकांश जग्गाधनी तराईमा रहेकाले आफ्नो कार्यकालमा गरेको पहल पूरा हुन नसकेको गाउँपालिका पूर्वउपाध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिइन । 

तालको संरक्षण गर्न व्यक्तिका जमिनलाई सहकारीमा लाने प्रक्रियाको सुरु गरिसकिएकाले ताल निर्माणको काम अब अघि बढ्ने पालिका अध्यक्ष लिम्बूको भनाई छ । 

त्यस्तै पालिकाको वडा नं १ स्थित छ नम्बर बुधबारे बजार नजिक पूर्वमा करिब ४० रोपनीमा रहेको गडेरेताल पनि संरक्षण अभावमा दलदलमा सीमित छ । 

यी ताल निर्माणाधीन एक सय किलोमिटर भेडेटार–रवि–राँके राजमार्गको पहुँचमा रहेकाले यहाँका तालको संरक्षण र प्रवर्द्धन गर्नसके यस पालिका क्षेत्रलाई तालैतालको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?