मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीवनशैली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनशैलीः पाँच बजे उठ्छन्, योगा गर्छन्

रोटी र खिचडी भनेपछि हुरुक्कै

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका चर्चित र लोकप्रिय नेताहरुमध्ये एक हुन् । सन् २०१४ ऐतिहासिक जनमत प्राप्त गरी प्रधानमन्त्री बनेका मोदीले आफ्नो मुलुकलाई विश्व मञ्चमा नेतृत्व दिइरहेका छन् ।

उनको नेतृत्वमा भारत विश्वको पाचौँ ठूलो अर्थतन्त्र बनेको छ भने तीव्र आर्थिक वृद्धिदर हासिल गरिरहेको छ ।

भारतमा यसैवर्ष अप्रिल र मे महिनामा ५ सय ४३ जना सदस्य रहने लोकसभाको चुनाव हुँदैछ र भारतले नयाँ प्रधानमन्त्री पनि चुन्नेछ । मोदीको बढ्दो लोकप्रियताको ग्राफ र विकासमा कायापलट गरेको अनुभव रहेकाले उनी पुन प्रधानमन्त्रीमा उठेमा मोदीलाई चुनौती दिन सक्ने कुनै लोकप्रिय नेता छैनन् ।

विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र रहेको र उदियमान शक्ति भारतीय प्रधानमन्त्रीको जीवनशैली धेरैका लागि चासोको विषय बनेको छ ।

७३ वर्षको उमरेमा पनि मोदी ताजा, स्फूर्त र निकै फिट छन् । सात्विक जीवनशैली अपनाउँदै आएका मोदी शाकाहारी हुन् । उनी प्रधानमन्त्रीमा चुनिएयता झण्डै १० वर्षसम्म बिरामी नै भएका छैनन् नत कुनै अस्पताल नै भर्ना हुनु परेको छ ।

मोदी बिहान ५ बजे उठ्छन् । उठेर व्यायाम योगा र पूजापाठपछि कार्यालयको काममा व्यस्त हुन्छन् । दैनिक ५ देखि ६ घण्टा मात्र सुत्ने मोदी ढिलामा ५ बजे उठिसक्छन् र योगबाट आफ्नो दैनिकी शुरु गर्छन् । योगपछि उनी आधाघण्टा प्रधानमन्त्री निवासभित्रै पैदल यात्रा गर्छन् । मोदी दैनिक साधारण  खाना मात्र खान्छन् ।

मोदीलाई रोटी र खिचडी धेरै मनपर्छ, उनी भिन्डीको कडी, गुजराती स्वीट आदि खान रुचाउँछन् ।  धेरैजसो ब्रेकफास्टमा इडली र डोसा खान्छन् । मोदी बाहिर हुँदा धेरैजसो फ्रुट सलाद खान्छन् तर मसलेदार खाना खाँदैनन् । 

मोदी मादक पदार्थ सेवन पनि गर्दैनन् । बरु कागती हालेको तातोपानी पिउँछन् । मोदी कागजी पानीमात्र सेवन गरी नवरात्रमा पूरै ९ दिनसम्म उपवास बस्ने गरेका छन् ।

मोदीको नेतृत्वमा भारत विश्वकै नेतृत्ववादी भूमिकामा स्थापित भइरहेको छ । पछिल्लो समय रुस युक्रेन युद्ध, इजरायल हमास युद्ध, इण्डो प्यासिफिक क्षेत्रमा बढ्दो चिनियाँ प्रभावजस्ता विश्व भू–राजनीतिक मामिलामा भारतले अपनाएको स्वतन्त्र र विशिष्ट विदेश नीतिका कारण मोदीलाई आफ्नो पक्षमा पार्न विश्व शक्ति राष्ट्रहरु अग्रसर देखिएका छन् ।

यसबाट मोदीको कद पनि उँचो भएको छ । त्यसबाहेक भारतभित्रै पनि मोदीको लोकप्रियता अटल छ । बारम्बार आउने सर्वेक्षणमा मोदी विश्वकै सबैभन्दा लोकप्रिय नेताका रुपमा देखिएका छन् ।

मोदीले विश्वमा सन्त नेताको छवि बनाएका छन् । मोदी भारतले स्वतन्त्रता पाएको तीन वर्षपछि अर्थात् सन् १९५० को सेप्टेम्बर १७ मा गुजरातको वादनगरमा जन्मेका थिए ।

गरीब परिवारमा जन्मेका मोदीले बाल्यकालमा अनेकौँ संघर्ष गर्नुपरेको थियो । उनी जन्मेको घर केबल ४० फिट लामो र १२ फिट चौडा थियो । त्यसबेला परिवारले सञ्चालन गरेको चिया पसलमा उनी सघाउन जाने गरेका थिए ।

मोदीले विश्वलाई चिया पसलेको छोरो पनि भारतजस्ता संसारको सबैभन्दा ठूलो लोकतन्त्रको प्रधानमन्त्री बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । शुरुवाती वर्षहरुमा मोदीले आफ्नो पढाइ र पारिवारिक जिम्मेवारीलाई सन्तुलनमा राख्न ठूलै प्रयास गर्नुपरेको थियो ।

सानोमा उनी नजिकैको पुस्तकालयमा गएर घण्टौँसम्म अध्ययन गर्ने गरेका उनीसँगै पढेका साथीहरु बताउँछन् । सानोमा उनलाई पौडी खेल्न पनि औधी मन पथ्र्यो ।

सानो उमेरमा मोदीलाई पूर्वीय दर्शनप्रति रुचि थियो । वादनगर एक समय भारतीय उपमहाद्विपकै एक महत्वपूर्ण बौद्ध अध्ययन केन्द्रका रुपमा स्थापित भइसकेको थियो । इतिहासका विभिन्न कालखण्डमा भारत भ्रमणमा आएका चिनियाँ यात्रीले वादनगरमा बौद्ध अध्ययनबारे वर्णन गरेका थिए ।

त्यही भएर पनि मोदी सानै उमेरमा बौद्ध दर्शनतर्फ पनि आकर्षित भएका थिए । बौद्ध दर्शनबाहेक मोदी भारतीय आध्यात्मिक गुरु स्वामी विवेकानन्दको विचारबाट पनि प्रभावित भएका थिए । विवेकानन्दको दर्शनले उनलाई समग्र भारतीय समाजबारे राम्रोसँग बुझ्ने मौका मिल्यो ।

भारतलाई जगत गुरु बनाउने दृढता पनि मोदीले विवेकानन्दको शिक्षणबाट नै प्राप्त गरेको विश्वास गरिन्छ ।

भारतीय समाजलाई थप राम्रोसँग बुझ्ने लालसाका कारण मोदीले १७ वर्षको कलिलो उमेरमै घर छाडे । दुई वर्षसम्म भारतका विभिन्न भागको भ्रमण गरी मोदीले विभिन्न संस्कृति, भाषा, धर्म, परम्परा र सामजबारे अध्ययन गरे । भारत भ्रमणकै क्रममा मोदीले आफ्नो गन्तव्य पहिचान गरिसकेका थिए । पछि उनी संगठनात्मक राजनीतितर्फ आकर्षित भए ।

गुजरातकै अहमदावादमा उनले राष्ट्रिय स्वयंसेवक संघ आरएसएसको सदस्यता लिए । सन् १९७२ मा उनी आरएसएसको अहमदावाद एकाइमा प्रचारक बने । त्यसबेला उनको दिनचर्या निकै व्यस्त थियो । उनी दैनिक ५ बजे उठ्थे भने राति अबेरसम्म काम गर्थे ।

सन् ७० को दशकको उत्तराद्र्धमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले लोकतन्त्रलाई खारेज गरी मुलुकमा आपतकाल घोषणा गरेपछि भारतीय राजनीतिसँगै मोदीको राजनीतिक जीवनले पनि अर्को मोड लियो । आपतकालका बेला मोदी पनि लोकतन्त्र पुनस्र्थापना गर्ने अभियानमा जोडिए ।

संगठन हाँक्न सक्ने क्षमताका कारण ८० को दशकसम्म आइपुग्दा मोदी आएसएसको महत्वपूर्ण सदस्यको रुपमा स्थापित भइसकेका थिए । १९८७ मा मोदीले गुजरात राज्यको भारतीय जनता पार्टी भाजपाको महासचिवको पद सम्हाले ।

सन् १९९० मा भएको विधानसभा चुनावमा गुजरातमा भाजपा एक सय ८२ मध्ये ५६ सिटमा विजयी भयो । त्यसको ५ वर्षपछि सन् १९९५ मा भएको विधानसभा निर्वाचनमा भने भापजाले अप्रत्याशित नतिजा निकाल्दै एक सय २१ सिटमा विजयी भयो । गुजरात विधानसभा निर्वाचनमा भाजपालाई जित दिलाएका मोदी पार्टीको केन्द्रीय महासचिव चुनिए । त्यसबेला उनले उत्तरी राज्यहरु हरियाणा र हिमाञ्चल प्रदेशमा पार्टीका गतिविधि हेर्थे ।

सन् १९९८ मा सम्पन्न आम निर्वाचनमा भाजपा विजयी भयो । भाजपाले कुल ५ सय ४३ मध्ये १ सय ८२ सिट जित्यो । केही साना पार्टीहरुको साथ लिएर भाजपाका अटलविहारी वाजपेयी प्रधानमन्त्री भए । अघिल्लो निर्वाचनमा मोदीको योगदान र सोही योगदानका कारण हासिल भएको जीतलाई भाजपाको उच्च नेतृत्वले निकै महत्त्वका साथ हेरिरहेको थियो ।

सन् २००१ मा तत्कालीन प्रधानमन्त्री वाजपेयीले मोदीलाई फोन गरेर तत्काल ७ रेस कोर्स रोड (प्रधानमन्त्री निवास) बोलाए । एक्कासी प्रधानमन्त्रीले बोलाएपछि अक्क न बक्क भएका मोदी त्यहाँ पुगे ।

त्यसपछि वाजपेयीले मोदीलाई भने, ‘दिल्ली छाडिदेऊ ।’

अचम्म मान्दै मोदीले प्रश्न गरे, ‘त्यसो भए म कहाँ जाऊँ ?’

एक शब्दमा वाजपेयीले जवाफ दिए, ‘गुजरात’ ।

सन् २००१ को गणतन्त्र दिवस अर्थात् जनवरी २६ मा विशाल भूकम्प गएको थियो । भूकम्पमा परी १५ देखि २० हजार जनाको मृत्यु भएको थियो । त्यसबेला गुजरातका मुख्यमन्त्री केशुभाइ पटेलको स्वास्थ्य अवस्था पनि खस्किँदै गएको थियो भने उनको प्रशासन पनि सबल थिएन ।

यही पृष्ठभूमिमा वाजपेयीले मोदीलाई राज्य सम्हाल्ने आशयले ‘गुजरात जाउ’ भनेका थिए । प्रधानमन्त्री वाजपेयीसँग भेट भएको केही दिनपछि मोदीले गुजरातको मुख्यमन्त्रीको शपथ लिए । आफ्नो कार्यकालमा मोदीले २००२, २००७ र २०१२ गरी तीन पटक भाजपालाई जीत दिलाए ।

संगठन बुझेका र जनता–कार्यकर्तालाई परिचालन गर्ने क्षमता भएका मोदीको नेतृत्वमा गुजरात भारतकै उदाहरणीय राज्यको रुपमा स्थापित हुन पुग्यो भने मोदीको ‘गुजरात मोडल’ ले भारतभर चर्चा कमायो ।

आफ्नो कार्यकालमा मोदीले भ्रष्टाचार नियन्त्रणमा विशेष ध्यान दिए । ‘भाइब्रेन्ट गुजरात’, ‘न्यूनतम सरकार अधिकतम शासन’ को नीतिअन्तर्गत गुजरातमा निजी क्षेत्रलाई प्रोत्साहन दिइयो । सन् २००१ देखि २००७ सम्म मोदीको कार्यकालमा गुजरातमा कृषि क्षेत्रको उत्पादकत्व औसत ९ दशमलब ६ प्रतिशतले बढेको थियो ।

किसानहरुलाई न्यून शुल्कमा विद्युत र सिँचाइजस्ता सुविधा दिइएका कारण कृषि क्षेत्रको विकासमा विशेष सहयोग पुग्यो ।

साना किसान र निजी क्षेत्रलाई प्रोत्साहन तथा भ्रष्टाचार नियन्त्रणमा विशेष पहलजस्ता कारणले छोटो समयमा नै मोदी भारतकै सबैभन्दा लोकप्रिय नेताका रुपमा स्थापित भए । यही कारणले मोदीलाई सन् २०१४ मा आयोजित आम निर्वाचनमा सफलता हासिल गर्न मद्दत पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?