मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

छात्रवृत्तिमा विद्यार्थीलाई पाठी

तनहुँ आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन । उनले छात्रवृत्तिका रुपमा नगद वा शैक्षिक सामग्री पाउने अनुमान गरेकी थिइन् ।

कक्षा ८ मा अध्ययनरत भट्टलाई छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो लागेकोे उल्लेख गरिन् । उनले भनिन्, “हामीले त छात्रवृत्तिमा नगद वा शैक्षिक सामग्री दिएको पढेका, देखेका थियौँ । तर विद्यालयले हामीलाई बाख्राको पाठी छात्रवृत्तिको रुपमा दिएको छ ।”

कक्षा ७ मा अध्ययनरत रोजना रोकालाई पनि छात्रवृत्तिको रुपमा पाठी पाउँदा नौलो अनुभूति भएको छ । उनले भनिन्, “छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाएपछि नयाँपन लाग्यो ।”

छात्रवृत्तिको रुपमा नगद वा शैक्षिक सामग्री दिने परम्परालाई परिवर्तन गर्दै विद्यालयले तनहुँ जिल्लामै पहिलो पटक बाख्राको पाठी प्रदान गरेको हो । विद्यालयले तीन जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी वितरण गरेको प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए ।

नगद वितरण गर्दा छिटो खर्च हुने र पुनः उही समस्या दोहोरिने भएकाले विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने उद्देश्यले छात्रवृत्तिमा पाठी वितरणको अभियान सुरु गरिएको उनले बताए ।

उनले भने, “विद्यार्थीलाई आयआर्जनसँग जोड्न पहिलो पटक पाठी वितरण अभियान सुरु गरिएको हो । पैसा दिँदा खर्च हुने र अर्को वर्षपनि उही विद्यार्थीलाई दिनपर्ने अवस्था आउँछ । पाठी दिएपछि विद्यार्थीको परिवारलाई समेत आयआर्जनमा जोड्न सकिने विश्वास लिएका छौँ ।”

प्रधानाध्यापक बोगटीका अनुसार कक्षा ८ मा अध्ययनरत सपना भट्ट, कक्षा ७ मा अध्ययनरत रोजना रोका र कक्षा ६ मा अध्ययनरत सृष्टि गुरुङलाई छात्रवृत्तिका रुपमा एक/एक वटा पाठी वितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?