मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काठमाडौं सहर सफा बन्दै, महानगरले ठाउँठाउँमा डस्टबिन राख्ने

काठमाडौं- काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा कुहिने र नकुहिने फोहर व्यवस्थापनका लागि छुट्टाछुट्टै गरी एक हजार नौ सय ५० सेट फोहर सङ्कलन बिन राख्ने भएको छ । महानगरको वातावरण विभागका अनुसार एक सेटमा दुई डस्टबिन हुन्छन् । यसमध्ये हरियो बिन कुहिने र रातो बिन नकुहिने फोहर व्यवस्थापनका लागि हो ।

उत्पादन भएकै ठाउँमा फोहरलाई छुट्याएर प्रकृतिअनुसार छुट्टाछुट्टै व्यवस्थापन गर्ने योजनाअनुसार बिन राख्न लागिएको हो वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार सबै बिन विभागमा ल्याइसकिएको र वडाको माग तथा आवश्यकताअनुसार वितरण गर्ने तयारी छ । स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन भयो भने व्यवस्थापनमा सहज हुने उनको भनाइ छ ।

कामपाका सबै स्थानमा एकैपटक काम गर्दा परिणाम प्राप्त गर्न कठिन हुने भएकाले नमूनाका रुपमा अहिले वडा नं २७ र त्यसपछि अन्य वडामा उक्त बिन राख्ने काम गरिने प्रमुख श्रेष्ठले बताए । यसका लागि घरदैलो कार्यक्रममार्फत उत्पादकलाई फोहर वर्गीकरण विधिमा सचेत गराउने काम पनि महानगरले गरिरहेको छ ।

वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै व्यवस्थापन गर्न रङ सङ्केतसहितको सवारीसाधन तयारी अवस्थामा राखिएको पनि उनले जानकारी दिए । घरघरमा फोहर वर्गीकरण गरेजस्तै सार्वजनिकस्थलमा उत्पादन हुने फोहरलाई पनि कुहिने र नकुहिने गरी छुट्टाछुट्टै भाँडामा सङ्कलन गरी दीगोरुपमा फोहर व्यवस्थापन गर्न लागिएको हो ।

यसरी राखिने सेट दुई प्रकारका छन् । पहिलो सेट सानो आकारको रहेको जनाइएको छ । सोमा राखिने एउटा बिनको क्षमता ७० लिटरको हुनेछ । एक दशमलव दुई मिटर उचाइ, एक दशमलव २३ मिटर चौडाइ र २५ दशमलव ५५ किलोग्राम तौलको फलामे स्ट्यान्डमा बिन राखिने छ ।

यसमा राखिने स्ट्यान्डको मूल्य रु पाँच हजार एक सय ५० र डस्टबिन प्रतिगोटा मूल्य रु दुई हजार नौ सय ५० पर्नेछ । मध्यम आकारका सेटमा एक दशमलव तीन मिटर चौडाइ र एक दशमलव चार मिटर उचाइ भएको स्ट्यान्ड हुनेछ ।

एक सय २५ लिटर क्षमताका दुई वटा बिन राखिने छन् । यसमा प्रयोग हुने स्ट्यान्डको मूल्य रु पाँच हजार चार सय ५० र बिनको मूल्य रु तीन हजार आठ सय ९० हो । राखिएका सबै बिनको संरक्षणको जिम्मा सम्बन्धित वडाले लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?