मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बालबालिकाको क्यान्सर चाँडै निको हुन्छ’

काठमाडौं- बालबालिकामा हुने क्यान्सरको समयमा नै उपचार गरे चाँडै निको चिकित्सकले बताएका छन् । उमेर पुगेका मानिसको तुलनामा बालबालिकामा देखिएको क्यान्सर समयमा उपचार गरे निको हुने सम्भावना धेरै रहेको चिकित्सकको भनाइ छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग तथा क्यान्सर रोग विशेषज्ञ डा सूचारिका तण्डुकारले बढी उमेर भएका क्यान्सर रोगीको तुलनामा बालबालिकामा हुने क्यान्सरको समयमा उपचार गर्दा निको हुने सम्भावना धेरै रहेको बताइन् । “वयस्क व्यक्तिमा क्यान्सरसँगै अन्य रोग पनि देखिन्छ”, उनले भनिन्, “क्यान्सर भएका बालबालिकामा अन्य रोगको सम्भावना कम हुने भएकाले समयमा उपचार गराउँदा निको हुने सम्भावना पनि धेरै हुन्छ ।”

डा तण्डुकारका अनुसार नेपालमा उपचारको पहुँच नहुँदा धेरै बालबालिकाको क्यान्सरका कारण अकालमा मृत्यु हुने गरेको छ । वार्षिक करिब एक हजारसम्म बालबालिकाले क्यान्सरको उपचार गर्नुपर्नेमा अहिले पाँच सयले मात्र उपचार गरिरहेका उनले जानकारी दिइन् । भक्तपुर क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा ऋतु सापकोटाले मुलुकमा बालबालिकामा देखिएको क्यान्सर ३० प्रतिशत निको हुने गरेको बताइन् ।

“समयमै अस्पताल पुग्न नसक्दा पूर्ण उपचार नपाएर करिब ७० प्रतिशतमा पूर्ण निको हुँदैन”, उनले भनिन् । उनका अनुसार नेपालजस्तो अल्पविकसित मुलुकमा बालबालिकामा हुने क्यान्सर निको हुने दर कम रहेको छ । विकसित देशमा ८० देखि ९० प्रतिशत बाल क्यान्सर निको पार्न सकिने डा सापकोटाले जानकारी दिइन् ।

गरिबी, उपचारमा कम पहुँच हुनुलगायत कारणले उपचारमा समस्या भइरहेको उनको भनाइ थियो । डा सापकोटाले वयस्क मानिसलाई क्यान्सरसँगै अन्य रोग पनि देखिने भएकाले निको हुने सम्भावना कम हुने बताइन् । “बालबालिकामा अन्य कुनै रोगको लक्षण हुँदैन । त्यसैले क्यान्सर निको हुने सम्भावना धेरै हुन्छ”, उनले भनिन्, “उमेर पुगेका मानिसमा उच्च रक्तचाप, मधुमेहलगायत अन्य रोग देखिने भएकाले क्यान्सर निको हुने सम्भावना कम हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?