बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् ।
जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो । सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो ।
नगरपालिकाको रु १७ लाख लागतमा यस गाउँमा सडक पुगेको ढोरपाटन–६ का वडाध्यक्ष उमेश बुढा मगरले बताए । करिब एक घण्टाको दूरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौंपहिले सडक पुगे पनि पुरानो गाउँमा लामो प्रयासपछि यही महिना सडक पुगेको उनको भनाइ छ ।
गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पुर्याउने स्थिति रहेको उनले बताए ।
मोटरबाटोले स्थानीयको वर्षौँदेखिको समस्या समाधान गर्ने अध्यक्ष बुढा मगरको भनाइ छ । सडक गाउँसम्म पुर्याउन लागि यस वर्ष नगरपालिकाबाट रु पाँच लाख विनियोजन भएको थियो ।
अघिल्लो वर्षसम्म रु ११ लाख खर्च भइसकेको उहाँ बताउनुहुन्छ । करिब २६ घरधुरी रहेको पुरानो गाउँका अधिकांश स्थानीय कृषि र पशुपालनमा आबद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पुर्याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ ।
झण्डै १६ घरधुरी रहेको भित्रीवनका स्थानीयले यसअघि घन्टौँ हिँडेर मात्रै गाडीको सुविधा लिने गरेका थिए । यहाँ सडक पु¥याउन नगरपालिकाले गत वर्ष रु चार लाख र यस वर्ष रु दुई लाख विनियोजन गरेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।
सो गाउँ नजिक रहेको ढोरपाटन सडकको करिब ११ किलोमिटर सडक कालोपत्रे हुने तयारीमा छ । ढोरपाटन जोड्न छ किलोमिटर बाँकी रहेको उहाँको भनाइ छ ।
ढोरपाटनको छन्तेङ जोड्ने गरी निर्माण भएको सडक सिकार आरक्षले अवरोध पुर्याउँदा काम रोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया