मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

नेपाली सिनेमाको त्यो स्वर्णिम युग

फिल्म शूटिङ हुँदा खाजा बोकेर आउँथे दर्शक

काठमाडौं– निर्देशक दीपक श्रेष्ठलाई नेपाली सिनेमाको ‘स्वर्णिम युग’ सम्झँदा अहिले सपनाजस्तो लाग्छ । साठीको दशकमा नेपाली सिनेमाको क्रेज यस्तो थियो कि, नयाँ सिनेमा प्रदर्शन हुँदासाथ दर्शकको भीड व्यवस्थापन गर्न हलवालालाई हम्मेहम्मे पर्थ्यो ।

काउन्टरमा तँछाडमछाड गर्दै दर्शकले टिकट काट्थे । बाक्लो भीड छिचोलेर टिकट काउन्टरसम्म जान नसक्नेले ‘ब्ल्याक’मा भए पनि टिकट किनेर सिनेमा हेर्थे ।

रिलिजको पहिलो शुक्रवार र शनिवार त जतिमा वा जसरी होस्, टिकट पाउनु नै दर्शकका लागि सौभाग्यको कुरा हुन्थ्यो । हलभित्र भुइँमै बसेर सिनेमा हेर्नका लागि भए पनि दर्शकले ब्ल्याकमा टिकट किन्थे ।

सिनेमा हलको ठूलो पर्दामा जब हिरोको ‘इन्ट्री’ हुन्थ्यो दर्शकले ठूल्ठूलो स्वरमा हूटिङ गर्थे । सिट्टी बजाउँथे । आफ्ना प्रिय अभिनेतालाई आफ्नै आँखा अगाडि सेतो पर्दामा देख्दा खुशीले चिच्याउँथे ।

साँच्चिकै नेपाली सिनेमाको त्यो ‘स्वर्णिम युग’ बडो अजिबको थियो ।

सिनेमाप्रतिको यस्तो क्रेज अहिले सम्झनामा मात्र रहेको निर्देशक दिपक श्रेष्ठ बताउँछन् । ‘त्यो बेलामा पुग्न सिनेमामा झैँ फ्ल्यासब्याकमा पुग्नुपर्ने हुन्छ, त्यो समय साँच्चिकै बडो रोमाञ्चक थियो,’ श्रेष्ठ पुराना दिन स्मरण गर्दै भन्छन् ।

चलचित्र ‘हिम्मत’, ‘तकदीर’, ‘राम लक्ष्मण’, ‘कृष्ण अर्जुन’, ‘गाउँले’, ‘पापी मान्छे’ लगायतका दुई दर्जन सिनेमा निर्देशन गरेका दीपक श्रेष्ठ त्यतिबेला फिल्म छायांकन गर्दाको समयमा पनि उत्तिकै रमाइलो हुने बताउँछन् ।

उनी केहीबेर स्मृतिपटमा पुगेपछि भन्छन्– मेरो पहिलो सिनेमा ‘गाउँले’, त्यतिबेला सिनेमाको शूटिङ गर्दा दर्शकको क्रेज नै बेग्लै थियो । ‘गाउँले’ को छायांकन एउटा गाउँमा गरिएको थियो । कथाअनुसार सिनेमाको लगभग सबै छायांकन नै गाउँमै गर्नुपर्ने थियो । सिनेमाको मुख्य कलाकार थिए, राजेश हमाल, विपना थापा, दीपाश्री निरौला लगायत ।

‘शूटिङ सेटमा राजेश हमाल आउँदा गाउँ नै पूरै उर्लेर शूटिङ हेर्न आउँथ्यो,’ निर्देशक श्रेष्ठ त्यो बेला सम्झँदै सुनाउँछन्, ‘गाउँका मान्छे त यति आए कि, त्यहाँको तोरी बारी नै सखाप भयो, पछि हामीले त्यसको पनि पैसा तिर्नुपर्‍यो ।’

उनी भन्छन्, ‘नेपाली सिनेमाप्रति दर्शकको माया अथाह थियो, अहिले त छायांकनमा पनि नआइदिए हुन्थ्यो भन्ने अवस्था छ ।’ त्यतिबेला गाउँलेले सिनेमाकर्मीलाई घरबाटै खाजा बोकेर ल्याइदिने गरेको उनलाई अहिले पनि सम्झना छ ।

निर्देशक श्रेष्ठ अर्को किस्सा पनि सुनाउँछन्– हामी ‘भाइ भाइ’ सिनेमाको छायांकनका क्रममा थियौँ । सिनेमामा जुम्ल्याहा दुई भाइको कथा थियो । सिनेमाको एक दृश्य अस्पतालमा छायांकन गर्नुपर्ने थियो । संयोगवश त्यही अस्पतालमा एक महिलाले पनि जुम्ल्याहा सन्तानलाई जन्म दिइछन् ।

त्यसको केही दिनपछि छायांकनमै रहेका दीपकलाई गाउँकै एकजना महिला लिन आइन् । उनले भनिन्, ‘तपाईंको सिनेमा पनि जुम्ल्याहा छोराहरुको कथामा रहेछ, हाम्रो परिवारमा पनि जुम्ल्याहा छोरा भए, उनीहरुको नाम तपाईंले राखिदिनुपर्‍यो ।’

निर्देशक श्रेष्ठलाई त्यो क्षण अहिले पनि सम्झँदा निकै रमाइलो लाग्छ । सिनेमाकर्मीप्रतिको त्यो सम्मान देखेर उनी सुत्केरीको घर गए । उनलाई आफू सिनेमाकर्मी भएकोमा गर्व पनि लाग्यो ।

उनीहरुको नाम राखिदिए– राम र लक्ष्मण ।

‘हुन त नाम राखिदिने मेरो काम होइन, तर त्यत्रो विश्वास गरेर कसैले लिन आएको छ भने मैले नाम राखिदिँदा के भयो र भन्ने लागेर नाम जुराइदिएँ,’ श्रेष्ठ मुस्कुराउँदै सुनाउँछन् ।

अहिले उनलाई त्यो समय सपना हो कि जस्तो लाग्छ ।

अहिले त कतै छायांकनमा गइयो भने पैसा नतिरी छायांकन गर्न पनि पाइँदैन । श्रेष्ठका अनुसार स्थानीयलाई कलाकार, निर्देशक जो आए पनि मतलब हुँदैन । भन्छन्, ‘यो अवस्थाको कारण हामी आफै हो कि भन्ने लाग्छ ।’

श्रेष्ठको बुझाइमा पछिल्ला पुस्ताका धेरै सिनेमाकर्मीले छायांकन स्थलमा फोहोर गरिदिने, अरुको इज्जत पनि नगरिदिने गर्दा यस्तो अवस्था सिर्जना भएको हो ।

त्यसो त अहिले त्यतिबेला जस्तो नेपाली सिनेमाप्रति दर्शकको क्रेज पनि छैन । यसको दोष पनि निर्देशक श्रेष्ठ सिनेमाकर्मीलाई नै दिन्छन् ।

‘पहिले हामीले निर्माण गर्ने सिनेमा पूरै पारिवारिक हुन्थे, गीत पनि कथाअनुसार गहिराइमा गएर रचना गरिन्थे, अहिलेका सिनेमा सतही जस्तो लाग्छ, त्यसैले पनि दर्शकले नेपाली सिनेमाप्रति रुचि नदेखाउनुभएको होला,’ उनी भन्छन् ।

अपवादमा केही सिनेमाकर्मीले राम्रा सिनेमा बनाइरहे पनि अधिकांशले कामचलाउ बनाइँदिदा सिनेमा उद्योग नै मारमा परेको उनको बुझाइ छ । ‘अहिलेका धेरै सिनेमामा द्वीअर्थी लाग्ने शब्दको बढी प्रयोग गरिएको हुन्छ, अहिले त दर्शकले परिवारसँग बसेर सिनेमा हेर्न पनि सक्दैनन्,’ उनी गुनासो गर्छन् ।

दर्शक घट्नुको अर्को कारण नेपाली सिनेमा उद्योग सांस्कृतिक अतिक्रमणको चपेटामा परेको पनि उनी बताउँछन् । सानो बजेटमा बन्ने सिनेमाले ठूला लगानीमा निर्माण भएका बलिउड तथा हलिउडका सिनेमासँग प्रतिस्पर्धा गर्न नसक्ने उनको तर्क छ ।

‘त्यो बेला नेपाली सिनेमाले विदेशी सिनेमासँग प्रतिस्पर्धा गर्नु पर्दैनथ्यो, अहिले विदेशी सिनेमा धेरै एडभान्स बनिसके, हामीसँग त्यसरी निर्माण गर्ने सामर्थ्य छैन,’ उनी अगाडि थप्छन्, ‘हाम्रा सिनेमा नै कमजोर छन्, दर्शकको कुनै दोष छैन, अहिलेलाई हामीले ठूलो लगानीका सिनेमा निर्माण गर्न सक्दा पनि सक्दैनौँ ।’

‘प्रतिस्पर्धा गर्न सक्थ्यौँ, सरकारको नीति नै भएन, नेपाली चलचित्रलाई सरकारले अनुदान दिएर हुन्छ कि, सिनेमा प्रदर्शनमा कुनै नियम लागु गरेर हुन्छ कि, यस्तो काम सरकारले गर्नुपर्ने हो तर सरकारलाई नै यसबारेमा कुनै चासो छैन,’ उनी गुनासो गर्छन्, ‘बरु अहिले त सरकारले नेपाली सिनेमामा अझ कडाइ गर्न खोज्दैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?