मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

समीक्षा

अत्याचारविरुद्ध ‘गङ्गालाल’को गर्जन

काठमाडौँ– ‘एकपछि  अर्को राणा प्रधानमन्त्री आउँछन् । जनतालाई हेप्छन्, दवाउँछन्, शोषण गर्छन् । यिनीहरू मानिस होइनन् । यिनीहरु त केवल मासुका पुतला मात्र छन् । केवल शालिक हुन् ।’

गंगालाल श्रेष्ठ उसैगरी ८३ वर्षपछि जहानियाँ र निरंकुश राणा शासनविरुद्ध गर्जिए । राणाहरुको शोषण र अत्याचारको विरुद्धमा आम जनतालाई एकत्रित हुन उनले आम युवाहरुलाई आह्वान गरे । फरक यति थियो, ८३ वर्षपछि देखिएका यी गंगालाल देश र जनताको मुक्तिका लागि ज्यानको आहूति दिएका वास्तविक सपूत थिएनन् ।

उनी नाटक ‘गंगालाल’मा देखिएका एक पात्र थिए ।

ती पात्रले नाटकमा गंगालालको भूमिका निर्वाह गरिरहेका थिए । तथापि आम दर्शकले उही गंगालालको उच्च छविलाई रंगमञ्चमा नियालेर इतिहासलाई स्मरण गरे ।

नाटकमा ‘गंगालाल’ केवल एउटा पात्रका रुपमा मात्र उभिएको भए पनि नेपालको इतिहासमा चीरकालका वीर शहिद गंगालाल अमर र अजर छन् । जसलाई २२ वर्षकै उमेरमा राणा शासन विरोधी गतिविधि गरेको भन्दै १९९७ साल माघ १५ शोभा भगवतीमा गोली हानेर मृत्युदण्ड दिइएको थियो । उनीसँगै अर्का वीर सपूत दशरथ चन्दलाई सोही समय र स्थानमा गोली हानिएको थियो । उनले पनि त्यही शहादत प्राप्त गरे ।

यी दुई सपूतभन्दा अघि सोही वर्षको माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुमा र १३ गते धर्मभक्त माथेमालाई सिफलमा फासी दिइएको थियो । वीर सपूतहरुका यी बलिदानीलाई नेपाल र नेपाली जनताले कसरी स्मरण गरिरहेका छन् र तिनका मूल्यांकन वर्तमान शासकको मगजमा छन् कि छैनन् भन्ने तथ्यलाई नाटकले एकपटक सोचनीय बनाउँछ ।

नाटक चार शहिदहरुभन्दा पनि गंगालालमा केन्द्रित छ । गंगालालकै माध्यममा त्यतिबेलाको राणा शासन, तिनको हैकमवाद र आम जनताले भोगेको सास्तीलाई चित्रण गरिएको छ ।

राणा शासनकालमा जनताको स्वतन्त्रता बन्देजमा थियो । जनता शिक्षित हुने अधिकार थिएन । देश र शासन भन्नु नै श्री ३ अर्थात् राणा शासक थिए । तिनै शासकको अत्याचारलाई सहन नसकेर युवाहरु राणाशासन विरुद्ध लागे । त्यही युवा जमातमा गंगालाल पनि एक थिए । उनी भर्खरै विवाहित थिए भने श्रीमती हसिना गर्भवती थिइन् । आफ्नो पिता र श्रीमतीको अनुनय विनयलाई उनले बेवास्ता गरे ।

उनका लागि आफ्नो ज्यान र परिवार भन्दा देश प्यारो थियो । राणाहरुको पटक–पटकको चेतावनी र यातनाबाट पनि उनी तर्सिएनन् । राणा शासकलाई उनको एउटै अड्डी थियो, ‘सक्छस् भने नेपाली जनताको प्रजातन्त्र दे ।’ नाटक यही इतिहासको सेरोफेरोमा घुमेको छ । 

नेपालबाट राणा शासनको पतन हुनुभन्दा अगाडि विक्रम संवत् १९७७ सालमा ‘मकैको खेती’ पुस्तक लेखेवापत् कृष्णलाल अधिकारीलाई पक्राउ गरेर जेलमा राखिएको थियो । वि.सं. १९८० मंसिरमा जेलमा नै उनले देह त्याग गरेका थिए ।

राणा शासनविरुद्ध टंकप्रसाद आचार्य, गणेशमान सिंह, शुक्रराज, धर्मभक्त, गंगालाल, दशरथ चन्द लगायतको पहलमा ‘प्रजापरिषद्’ राजनीतिक समूहको जन्म भएको थियो । जुन समूहले राणा विरुद्ध जनतालाई जागरुक बनाउने काम गरेको थियो । इतिहासका यी महत्वपूर्ण घटनाक्रमका छोटो विवरण भए पनि नाटकमा समावेश भएका छन् ।

यसर्थमा नाटक केवल एउटा रंगमञ्चमा प्रस्तुत गर्नका लागि तयार पारिएको नाट्य सिर्जना होइन भन्ने दृश्यहरु हेर्दै गर्दा दर्शकको मनमा लाग्न सक्छ ।

नाटकका लेखक तथा निर्देशक रंगकर्मी चे शंकरले नाटकमार्फत पछिल्लो पुस्तालाई इतिहास देखाउने प्रयास गरेका छन् । शहीदहरुको रगत र पसिनाले सिँचित यो देशको अवस्था कस्तो छ भनेर देखाउने उनको यो महत्वपूर्ण काम हो ।

नयाँ पुस्ताका लागि गंगालाल लगायतका तमाम शहिदहरुले देशका लागि के र कसरी आहूति दिएका थिए भनेर युवा पुस्तालाई देखाउन उनको सिर्जना नाटक मात्र नभएर ऐतिहासिक दस्तावेज पनि हो ।

राणा शासकले पक्राउ गर्नुभन्दा अघि र गरेपछि पनि मृत्युको अन्तिम क्षणमा पनि गंगालालले उनको ज्यानको माया देखाएका छैनन् । उनले उस्तै गर्जन र साहसका साथ राणा शासनको अन्त्यको कामना गर्दै जनताको स्वतन्त्रलाई मागेका छन् । जुन दृश्य नाटकमा समावेश छन् ।

अर्कातिर राणा शासकले जनतालाई दिइएको क्रुर यातनाका दृश्य हेर्दा वास्तविक घटनाहरु मानसपटलमा आउँछन् । जेलबाट गंगालालले पितालाई लेखिएको पत्र पढ्दै गर्दा र उनको घरको भावविभोर माहोलले उस्तै शुन्यता ल्याउँछ ।

राणा शासक र राजा त्रिभुवनलाई प्रतीकात्मक रुपमा नाटकमा देख्न सकिन्छ । तिनलाई शासककै भेषभुषाका साथ देखाइएको छैन । राणा दरवार र शासकको परिवेशलाई नाटकमा समावेश गरिएको छैन ।

यसमा केही छुट्टिएको आभास हुन्छ । नाटकमा प्रयुक्त संगीत र कलाकारहरुको अभिनयले भने राणा शासन र त्यसको विरुद्धमा उग्र देखिएका आम जनताको प्रतिनिधित्व सबल देखिएको छ । राणा शासन विरुद्धमा गोप्य रुपमा राति गरिएका प्रज्ञापरिषद्को वार्तालाप होस् या गंगालालको घरको माहोललाई देखाउन प्रयोग गरिएको प्रकाश अझै सशक्त छ ।

नाटकले समग्रमा देशप्रति हाँसी–हाँसी बलिदान दिएका शहिद र तिनको संघर्षलाई जोडदार उठान गरेको छ । नाटकले शहिदको बलिदानमा टेकेर आएका वर्तमानको सत्ता र शासकलाई देशप्रति उनीहरुले निभाएको जिम्मेवारीप्रति प्रश्न गरेको छ ।

गङ्गालाल फाउन्डेसन र गार्डेन थियटरको प्रस्तुति रहेको यो नाटक काठमाडौँको बत्तिसपुतलीस्थित शिल्पी थियटरमा मञ्चन भइरहेको छ । 

शनिवारसम्म मञ्चन हुने नाटकमा निर्भीक, शकु शाह, इनारा बानु, सन्दीप डंगोल, प्रदीपकुमार चौधरी, निरज दाहाल, विश्वास मानन्धर, ऋषिकेश, कृमु एडेन बात्री, एलिजा तुम्बापो, रेवन राई, रोशन चन्द लगायत कलाकारहरुले अभिनय गरेका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?