मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जीवनशैली

रहस्यमयी देश उत्तर कोरियाका शासक किम जोङ उन: मदिराका सौखिन, विलासी जीवनशैली

काठमाडौँ– उत्तर कोरिया संसारकै सबैभन्दा रहस्यमयी  र गोप्य देश हो । बाह्य विश्वबाट अलग रहेको उत्तर कोरिया आणविक हतियार, क्षेप्यास्त्र परीक्षण र सो देशका सर्वोच्च नेता किम जोङ उनको जीवनशैलीका कारण चर्चामा आइरहन्छ ।

नेपालभन्दा सानो तर संसारका लागि रहस्यमय बनेको उत्तर कोरियाले सैनिक शासनलाई प्राथमिकता दिन्छ । उत्तर कोरियासँग विश्वको चौथो ठूलो सैनिक शक्ति रहेको बताइन्छ ।

विभिन्न आधिकारिक रिपोर्टका अनुसार उक्त देशसँग १३ लाख सैनिक छन् । जनसंख्याको हिसाबले संसारकै ठूलो सेना र आणविक हतियारको बागडोर सम्हालेका छन् ४० वर्षीय सर्वोच्च नेता किम जोङ उनले ।

कट्टर कम्युनिष्ट देश उत्तर कोरियाको शासन चलाइरहेको ‘वर्कर्स पार्टी अफ कोरिया’मा राजाको जस्तो बुबाले मन पराएको व्यक्तिलाई चुनेर सर्वोच्च नेता बनाउने वंशानुगत परम्परा छ ।

किम जोङ उनका हजुरवुबा किम इल सुङको निधनपछि सन् १९९४ मा उनमा बुवा किम जोङ इल सर्वोच्च शासक बनेका थिए । सन् २०११ इलको निधनपछि उन २८ वर्षको उमेरमै उत्तर कोरियाको नयाँ शासक बनेका हुन् ।

उत्तर कोरियाका सम्पूर्ण गतिविधिहरु गोप्य रहन्छन् । यतिसम्म कि, किम जोङ उनको वास्तविक उमेर कति हो भन्ने समेत अहिलेसम्म यकिन तथ्याङ्क छैन ।

युवा उमेरमा स्विटजरल्याण्डमा अध्ययन गरेका उन आफ्नै भिनाजुलाई मृत्युदण्ड दिनेदेखि आफ्नो कट्टर शत्रु राष्ट्र अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रत्यक्ष वार्ताले धेरै चर्चामा रहे ।

उत्तर कोरियाको ५० प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको विश्व बैंकको तथ्यांक छ भने ८३ प्रतिशत उत्तर कोरियालीको दैनिक आम्दानी २.१५ अमेरिकी डलरभन्दा कम छ । उत्तर कोरियाले आणविक हतियार विकास र उत्पादनमा आफ्नो बजेटको ठूलो हिस्सा लगानी गर्ने भएका कारण पनि उत्तर कोरियामा गरिबी र भोकमरी रहेको आरोप लाग्ने गरेको छ  ।

उत्तर कोरियाले आफ्नो कूल ग्राहस्थ उत्पादनको ३३ प्रतिशत सैन्य एवम् रक्षा क्षेत्रमा खर्च गर्दै आएको छ । त्यस्तै, आणविक तथा क्षेप्यास्त्र कार्यक्रमविरुद्ध संयुक्त राष्ट्रसंघहित विभिन्न अन्तर्राष्ट्रिय समुदायले लगाएका नाकाबन्दी र प्रतिबन्धका कारण पनि उत्तर कोरियामा गरिबीको समस्या थप विकराल बन्न पुगेको पनि भन्ने गरिन्छ ।

आफ्नो मुलुकको अवस्था दयनीय हुँदा पनि उत्तर कोरियाली शासक किम जोङ उनको जीवनशैली भने विलासी छ । उत्तर कोरियामा मिडियाको पहुँच शून्यप्रायः रहेका कारण किम जोङ उन र उनको विलासी जीवनशैलीबारे धेरैजसो अनुमान भए पनि उनको पहिरन, घडी, सवारी आदिको अनुसन्धानबाट समेत विज्ञहरुले खोजी गर्ने गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमको खोजमूलक रिपोर्टिङ, उत्तर कोरियाबाट भागेर अन्य मुलुक पुगेका व्यक्तिहरुको खुलासा र अन्तर्राष्ट्रिय भ्रमणमा किम जोङ उनको भोगविलासबाट किम र उनको परिवारको जीवनशैलीबारे नयाँ तथ्य बाहिर सार्वजनिक भइरहेका हुन्छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार किम आलिशान कार र महङ्गा घडीका पारखी हुन् । त्यस्तै, उनले मदिरा र धुम्रपान पनि धेरै नै सेवन गर्ने बताइन्छ ।  समग्रमा किमको जीवनशैली अस्वस्थ, खर्चिलो र सुखभोगी छ । यही कारणले हुनसक्छ, उनको वजन पनि औसत उत्तर कोरियालीभन्दा धेरै छ । त्यस्तै, बेलाबेला किम मधुमेह, अनिद्राजस्ता समस्याबाट पनि पीडित रहेको बताउने गरिन्छ ।

उत्तर कोरियामा कार्यालय नम्बर ३९ भनिने सरकारी विभागले उत्तर कोरियाली शासक र उनको परिवारलाई विलासी वस्तु किन्नका लागि पैसाको बन्दोबस्त गरिदिने अमेरिकी तथा दक्षिण कोरियाली अधिकारीको विश्वास छ ।

यस कार्यालयले अन्तर्राष्ट्रिय प्रतिबन्ध र नाकाबन्दी छलेर उत्तर कोरियाली सर्वोच्च शासक र उनका परिवारलाई विलासी वस्तुको खरिद, तस्करी र पारवहनका लागि विविध दशौँ करोड डलर जम्मा गर्ने गरेको बताइन्छ । किमका साथै किमकी बहिनी किम यो जोङ र किमकी श्रीमती रि सोल जु पनि बारम्बार महङ्गा ब्याग, कपडा र जुत्तामा देखिने गरेका छन् ।

किम जोङ उनको निवास

उत्तर कोरियामा किम जोङ उनको डेढ दर्जनभन्दा बढी आलिशान निवासहरु रहेको ठानिन्छ । किमको सरकारी निवास राजधानी प्योङयाङको आवास नम्बर ५५ हो ।

किम जोङ उनका हजुरबुबा तथा उत्तर कोरियाका पूर्वराष्ट्रपति किम इल सुङको पालामा निर्मित आवास नम्बर ५५ को हाताभित्र ब्याङ्क्वेट हल, स्विमिङ पुल, दौड र खेलकुदका लागि मैदान, स्पा र सौना, घोडाको तबेला र घोडा दौडाउने मैदान, शुटिङ रेन्जजस्ता सुविधा छन् ।

त्यसबाहेक प्योङयाङकै अज्ञात स्थानमा फराकिलो जग्गामा निर्माण गरिएको किमको अर्को आलिशान महल छ । आधुनिक शैलीमा निर्मित महलको हातामा सुन्दर बगैँचा, फाउन्टेनजस्ता आकर्षण छन् भने महलभित्र महङ्गा र आकर्षक शैलीमा बनाइएका मूर्तीहरु पनि राखिएका छन् ।

रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभ उत्तर कोरिया भ्रमणमा गएका बेला रुसी समाचार संस्था तासका फोटोग्राफर भलेरी शरिफुलिनले किम बस्ने महलको तस्वीर खिचेका थिए ।

हालै सार्वजनिक मिडिया रिपोर्टमा किमले आफ्ना लागि ८ वटा नयाँ आवासीय भवन बनाउन लागेको उल्लेख छ ।  आफूविरुद्ध हुनसक्ने सम्भावित घातक हमलाबाट जोगिन किमले राजधानी प्योङयाङको केन्द्रमै रहेको चाङक्वान्सेन क्षेत्रमा ८ वटा नयाँ आवासीय भवन बनाउन लागेको डेली मेलले जनाएको छ ।

पूर्व अंगरक्षक ली योङ युकको भनाइमा प्योङयाङबाहिर किमको अरु ८ वटा आवास छ । त्यसमा पनि किमलाई सबैभन्दा मनपर्ने बंगला भने समुद्री तटमा रहेको पर्यटकीय सहर वोनसानमा छ । उनले विदा मनाउन र घुमफिरमा वोनसान जाँदा त्यस बंगलामा बस्दै आएका छन् । त्यस बंगलाको हाताभित्र पनि स्विमिङ पुल, फुटबल मैदान, टेनिस कोर्ट, वाटरस्लाइड र खेलकुदको रंगशाला नै निर्माण गरिएको छ ।

किमका कार

किम जोङ उन महङ्गा र विलासी कारका पनि सोखिन हुन् । कठोर प्रतिबन्ध र नाकाबन्दीका बावजुद उत्तर कोरियाली शासकले हालैका साताहरुमा ४ वटा नयाँ विदेशी कार चढेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उत्तर कोरियाली गतिविधिको निगरानी गर्ने एनके न्यूजले जनाएअनुसार किम हालै मर्सिडिज मेबाख एस ६५० सेडान कारमा देखिएका थिए ।

यो मोडलको कार जर्मनीको मर्सिडिज कम्पनीले सन् २०१९ मा पहिलो पटक सार्वजनिक गरेको थियो । यो कारमा विशेष किसिमको सुरक्षा प्रणाली जडान गरिएको छ । सुरक्षा प्रणालीसहित यो कारको मूल्य २ लाख डलर अर्थात् २ करोड ६५ लाख नेपाली रुपैयाँभन्दा धेरै पर्छ ।

त्यसबाहेक उनले हालैका साताहरुमा मर्सिडिज मेबाख एस सिरिजको अर्को ‘स्टे«च्ड लिमोजीन’ कार पनि चढेको एनके न्यूजमा उल्लेख छ । त्यस्तै, किमले गत महिना जापानमा निर्मित लेक्सस र अमेरिकी कम्पनी फोर्डको कार चढेको पनि देखिएको थियो ।

त्यसअघि सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पँसग भएको शिखर वार्ताका क्रममा पनि सर्वोच्च नेता किम चढेको कारले निकै चर्चा बटुलेको थियो । सिंगापुरमा आयोजित पहिलो शिखर वार्ताका क्रममा किम विलासी मर्सिडिज बेन्जमा चढेको देखिएको थियो । सो क्रममा उनी चढेको मोटरसँगै उनको सुरक्षार्थ खटिएका अंगरक्षक दौडिएको भिडियोले सबैको ध्यान तानेको थियो ।

किमको रेल

आफ्ना बाबु किम जोङ इल र हजुरबुबा किम इल सुङजस्तै किम जोङ उन पनि रेलको सवारी गर्न रुचाउँछन् । विदेश यात्रा गर्नुपरे किम विशेष रेल चढ्छन् । हरियो रंगको उनको रेल गोली र बम हान्दा पनि सुरक्षित हुने हिसाबले निर्माण गरिएको छ ।

उनको रेलमा आक्रामक हतियारका साथै आकस्मिक अवस्थाका लागि हेलिकोप्टरसमेत रहेको दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । धेरै सुरक्षा बन्दोबस्त गरिएको र भारी धातुको प्रयोग भएका कारण यो रेल ५० किलोमिटर प्रतिघण्टाको गतिमा दौडन्छ जुन औसतमा धेरै नै सुस्त हो ।

उदाहरणका लागि नेपालमा सञ्चालन भइरहेको रेलको  गति १२० किलोमिटर प्रतिघण्टाको गतिसम्म पुग्छ । किमको रेलभित्र विलासी गाडीहरु पनि राख्ने गरिएको छ भने रेलमा कोरियाली, रुसी, चिनियाँ, फ्रेन्चका साथै जापानी परिकारको पनि व्यवस्था छ ।

त्यसबाहेक रेलभित्र किमका लागि विशेष कार्यालय बनाइएको छ । रेलभित्र शयनकक्ष, शौचालय, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि बेग्लै डिब्बाहरुको व्यवस्था गरिएको छ ।

किमको जहाज

किमका बाबु जहाज चढ्न डराउँथे । तर उनलाई भने जहाज चढ्न डर लाग्दैन । सन् २०११ मा उत्तर कोरियाको सर्वोच्च शासक बनेपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडान भरेर किम सन् २०१८ मा  चिनियाँ राष्ट्रपति सी जिन पिङलाई भेट्न डालियान सहर पुगेका थिए । बीबीसीका अनुसार केही सञ्चार माध्यमले उत्तर कोरियाभित्रै यात्रा गर्दा पनि किमले बारम्बार जहाजको प्रयोग गर्दै आएको उल्लेख गरेका छन् ।

समाचारमा जनाइएअनुसार किमले सोभियत संघको समयमा निर्माण गरिएको इल्युशिन ६२ विमान प्रयोग गर्छन् । इल्युशिन ६२ विमान सर्वप्रथम सन् १९६७ अर्थात् आजभन्दा ५६ वर्षअघि सोभियत हवाई सेवमा प्रवेश गरेको थियो ।

यस हिसाबमा यो जहाज धेरै पुरानो भइसकेको छ । यस जहाजमा आधुनिक प्रविधि र आवश्यक सुरक्षाका साधनहरु जडान नभएको विश्वास गरिन्छ । उत्तर कोरियाली गतिविधिको निगरानी गर्ने एनके न्युजका अनुसार यो जहाजलाई ‘चाम्मे १’ नाम दिइएको छ । यद्यपि अन्तर्राष्ट्रिय सञ्चार माध्यमले यस जहाजलाई अमेरिकी राष्ट्रपतिको जहाज ‘एअर फोर्स वान’ कै शैलीमा ‘एअर फोर्स उन’ को संज्ञा दिने गरेका छन् ।

किमको विमानभित्र पनि अमेरिकी राष्ट्रपतिको एअर फोर्स वानजस्तै कार्यकक्ष रहेको छ । उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएले सार्वजनिक गरेको यस विमानभित्रका तस्वीरहरुमा ठूलो टेबल, छाला मोरिएको कुर्सी, टेबलमाथि चुरोटको खरानी राख्ने एस्ट्रे र केही कागजातहरु देख्न सकिन्छ ।

किम जोङ उनले लगाउने घडी

किम जोङ उन अरु विलासी सामानको सौखिन भए पनि घडीमा उनलाई खासै रुचि नभएको ठानिन्छ । विलासी घडीबारे जानकारी राख्ने आईएफएल वाचमा आइभान फाटोनीले तयार पारेको खोजमूलक आलेखमा किम जोङ उनले मात्रै दुई किसिमको घडी लगाउने गरेको उल्लेख गरिएको छ ।

किमले रोलेक्स, फटेक फिलिप औडेमार्स पिजेजस्ता विलासी घडी नलगाउने गरेको बताइएको छ ।

उनले मोभाडो म्युजियम पीभीडी र आईडब्लूसी प्रोतोफिनो घडी लगाउँछन् । मोभाडो म्युजियम पीभीडीको बजार मूल्य झण्डै ७ सय डलर अर्थात् झण्डै एक लाख नेपाली रुपैयाँ र आईडब्लूसी प्रोतोफिनोको बजार मूल्य ११ हजार डलर अर्थात् करिब १५ लाख नेपाली रुपैयाँ पर्न जान्छ ।

किमको कुलत

किम जोङ उन चुरोट र रक्सीको अम्मली मानिन्छन् । केसीएनएले सार्वजनिक गर्ने तस्वीरहरूमा पनि किमले हातमा चुरोट लिएको देख्न सकिन्छ । त्यसैगरी उनले अत्यधिक मात्रामा रक्सी पनि पिउने गरेको दक्षिण कोरियाली अधिकारीहरु विश्वास गर्छन् ।

दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार किमले अमेरिकाबाट ठूलो परिमाणमा मार्लबोरो चुरोट तस्करी गरेर ल्याएका छन् ।

त्यस्तै, अनिद्राबाट पीडित भएकाले उनले कहिलेकाहीँ रातभर रक्सी पिउने गरेका छन् । उनले अनिद्रा हटाउन अमेरिकाबाट ल्याइएको जोल्पिडेम औषधी पनि सेवन गर्छन् ।

किमको यस्तै जीवनशैलीका कारण दक्षिण कोरियाली जासुसी निकायले किमको स्वास्थ्यबारे निगरानी गर्न छुट्टै टिम नै बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?