मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाँच दिने गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा सुरु

काठमाडौं – विश्व सामाजिक मन्चको पूर्व सन्ध्यामा बुधबार वीरगन्जस्थित नेपाल भारत सीमाबाट नेपाली र भारतीय शान्ति र अहिंसाप्रेमीहरुले संयुक्त रुपमा ‘गान्धीदेखि बुद्धसम्म शान्ति पदयात्रा’ सुरु गरेका छन् । राष्ट्रिय भूमि अधिकार मन्च नेपाल, नेपाल एकता महिला समाज, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र एकता परिषद भारतले संयुक्त रुपमा यो पदयात्रा आयोजना गरेका हुन् ।

भारतबाट आएका पदयात्रीहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, नेपाल भारत मैत्री संघका अध्यक्ष अशोक वैद्य लगायतकाले नेपाल भारत सीमास्थित मितेरी पुलमा स्वागत गरेका थिए । शंकराचार्य नेपाल प्रवेशद्वार परिसरमा आयोजित समारोहमा चर्चित भारतीय अभियन्ता राजगोपाल पिभिले वीरगन्जका मेयर राजेशमान सिंहलाई बिपन्न किसानको औजार हलो उपहार दिएका थिए ।

समारोहलाई सम्बोधन गर्दै वीरगन्जका शान्ति र सद्भावका लागि हुने सबै प्रयत्नमा आफ्नो ऐक्यबद्धता रहने बताए । उनले पदयात्रीहरुको शान्ति यात्राको सफलताको कामना गरे ।

वरिष्ठ पत्रकार चन्द्रकिशोरले भातरीय पदयात्रीहरुले नेपाल प्रवेशका लागि वीरगन्ज नाकानै रोज्नुको प्रतिकात्मक संकेत पनि रहेको बताए । महात्मा गान्धीले भारत छोडो आन्दोलनको सुरुवात वीरगन्ज नजिकको चम्पारणबाट गरेको र गौतम बुद्धले घरपरिवार त्याग गरेर हिडेको पहिलो रात वीरगन्ज नजिकको रामपूर्वा गाउमा बिश्राम गरेको इतिहास रहेको उनले बताए ।

यसरी करीब २ हजार ६ सय बर्षको अन्तरालमा जन्मिएका दुई विश्व शान्ति दुतहरुको एकै ठाउमा आगमन हुनु संजोग मात्र नभई एक सन्देश पनि रहेको उनले बताए ।

भारतीय अभियन्ता राजगोपाल पिभिले गौतम बुद्ध र महात्मा गान्धिको आगमन भएको वीरगन्ज नाकालाई प्रयोग गरेर आफूहरुले दुबै विश्व शान्ति दुतलाई पदयात्रा मार्फत सम्झना र सम्मान गर्न चाहेको बताए ।

उनले भारतको राजधानी नयादिल्लीबाट आफूहरुले सुरु गरेको पदयात्रामा भारतका करीब २ सय अभियन्ताहरु सहभागी रहेको बताए । त्यस पछि नेपाली तथा भारतीय शान्ति पदयात्री वीरगन्ज हुँदै परवानीपुरसम्म पैदल यात्रा गरेका थिए ।

त्यहाँबाट उक्त टोली बस चढेर काठमाडौंतर्फ लागेको छ । टोलीले बिहीबार काठमाडौंको नारायणगोपाल चोक नजिकको शङ्खपार्कबाट भृकुटीमण्डपसम्म शान्ति पदयात्रा गर्ने राष्ट्रिय भूमि अधिकार मन्च नेपालका अध्यक्ष यामबहादुर दर्जीले जानकारी दिए ।

उनले यो अभियान सीमान्तकृत मानिसकका लागि भूमि, आवास र प्राकृतिक स्रोतहरुमा पहुँच सुनिश्चित गर्न जारी आन्दोलनको एक हिस्सा रहेको बताए । यात्राका सहभागीले काठमाडौंमा हुने विश्व सामाजिक मन्च २०२४ मा सहभागी भई भूमि अधिकार, शान्ति र सामाजिक न्यायको आवाज बुलन्द गर्ने उनले बताए ।

गान्धीदेखि बुद्ध शान्ति अभियान ५ दिन सम्म जारी रहने र यस अन्तर्गत भूमि, जीविकोपार्जन र आवासदेखि शान्तिपूर्ण र अहिंसात्मक समाज निर्माण गर्ने बिषयमा बिभिन्न ७ वटा कार्यशाला र सेमिनार हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?