मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

कस्तो रोग हो पत्थरी? के कारणले हुन्छ? [अन्तर्वार्ता]

आम मानिसको दैनिक जीवनशैली फेरिएसँगै पत्थरीका रोगी पनि बढिरहेका छन् । पत्थरी हुँदा पेटको दुखाइ अत्यधिक बढ्ने समस्या देखिन्छ ।

मानव शरीरमा पानीको कमीले गर्दा पत्थरी हुन्छ भन्ने आम बुझाइ छ । पानीका कारण मात्र नभएर धेरै पसिना आउने गरी काम गर्दा, एकै ठाउँ बसेर धेरै समयसम्म काम गर्ने मान्छे, बढी गर्मीमा काम गर्ने साथै तौल बढी भएका मान्छेमा पत्थरीको सम्भावना अधिक हुने चिकित्सकहरू बताउँछन् ।

पिसाबमा रहेको क्याल्सियम र ओक्जालेटले पत्थरी बनाउँछ भने नेफ्रोक्याल्सियम युरोपोन्टिन र ट्याम–हर्सफल प्रोटिनले पत्थरी बन्न दिँदैन । कुनै कारणवश पिसाबमा पत्थरी बन्ने तत्व बढ्यो भने यो समस्या उत्पन्न हुन्छ ।

पत्थरी कस्तो रोग हो ? यो रोग लाग्ने मुख्य कारण के हो? साथै यसका उपचार विधि के–कस्ता रहेका छन् भन्ने सम्बन्धमा मेट्रो अस्पतालमा कार्यरत मुत्ररोग विशेषज्ञ डा. दिवस ज्ञवालीसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले लिएको अन्तर्वार्ताको सम्पादित अंश:

पत्थरी कस्तो रोग हो ? यो कति प्रकारको हुन्छ ?
शरीरमा पानीको मात्रा कम भएर र शरीरको फोहोरहरु निस्कने बेलामा शरीरमा क्रिस्टल बन्यो भने पत्थरी बन्ने हो । जसलाई सुगर, युरिक एसिड छ उनीहरुमा पत्थरी बन्ने सम्भावना धेरै हुन्छ । र जसको शरीरमा नुनको मात्रा धेरै हुन्छ त्यसलाई फाल्ने क्रममा पनि पत्थरी हुन सक्छ । मृगौला, युरेटर वा मुत्रथैली जहाँ पनि पत्थरी हुने डर रहन्छ ।

पत्थरी हुने कारणहरु के–के हुन् ?

शरीरमा पानीको मात्रा कम हुँदा, नुनको मात्रा बढी हुँदा, जङ्क फुडहरु धेरै खाएमा पनि पत्थरी हुन्छ । पानी कम खानु पत्थरीको मुख्य कारण हो । पिसाबमा हुने इन्फेक्सनका कारण पनि पत्थरी हुन सक्छ । युरिक एसिड लगायतका कारणले पनि पत्थरी हुन्छ । प्याराथाइराइड ग्लान्टसँगै क्लाल्सियम पनि बढ्ने र स्टोन हुने सम्भावना पनि रहन्छ । पिसाब निष्कासनको बाटो बन्द भएमा पत्थरी बन्ने डर हुन्छ ।

यसका लक्षणहरु के कस्ता देखा पर्दछन् ?

पत्थरी हुँदा पेट दुख्ने, पटक–पटक ट्वाइलेट जान मन लाग्नु, पिसाब गर्ने बेलामा पोल्ने, पिसाबबाट रगत आउनु, छटपटी हुनु, भोक नलाग्नु, ज्वरो आउनु आदि पत्थरी हुँदा देखिने लक्षणहरु हुन् ।

पत्थरी भएका व्यक्तिहरुको खानपान र जीवनशैली कस्तो हुनुपर्दछ ?

पत्थरी भएका व्यक्तिहरुले धेरै मात्रामा पानीको सेवन गर्नुपर्छ । दिनमा साढे दुईदेखि तीन लिटरसम्म पिसाब आउने गरी पानी पिउने गर्नुपर्छ । बढी पानी पिउँदा पिसाबको मात्रा बढेर मृगौलामा भएको पत्थरीलाई बाहिर निकाल्न मद्दत गर्दछ । अर्को भनेको पत्थरी भएकाको लागि नरिवलको पानी एक उत्तम औषधी हो ।

नरिवलको पानीमा प्रशस्त मात्रामा प्राकृतिक पोटासियम पाइन्छ । पोटासियमले पत्थर बन्नको लागि रोक्ने र बढ्न नदिने औषधी रुपमा काम गर्दछ । त्यसैगरी जौँको माड बनाएर खानाले मृगौला सम्बन्धित समस्या समाधान भई मुत्र प्रवाहलाई बढाएर मृगौला र मुत्रमार्गको संक्रमणबाट पनि बचाउँछ । खानपिनमा नुनको मात्रा घटाउनु पर्दछ । भुइँकटरको जुस, केरा, बदाम, कागती, गहतको झोल र गाजरको सेवन पत्थरीका बिरामीले गर्नुपर्दछ ।

पत्थरी भएका बिरामीहरुले के–के मुख बार्ने ?

पत्थरी भएका बिरामीहरुले पालुंगोको साग, गोलभेडा सेवन गर्नु हुँदैन । फलफूलमा अमला, कालो अगुर काँक्रोबाट टाढै रहनु पर्दछ । यस्तो फलफूलमा अक्जलेटको मात्रा बढी हुन्छ, जसको कारणले गर्दा पत्थर बन्ने सम्भावना अधिक हन्छ । काउली, भन्टा, च्याउ, फर्सी लगायतका खानेकुरा पनि खानुपर्छ । यसमा युरिक एसिड बनाउने प्युरिन, न्युक्लयोटाइडको मात्रा प्रशस्त हुन्छ र किस्टल बनाइ पत्थरीको समस्या उत्पन्न गराउँछ ।

यसको उपचार विधि कस्तो छ ?

पत्थरीको आकार, पत्थरीको स्थान र बिरामीको अवस्थामा पत्थरीको उपचार प्रक्रिया निर्भर रहन्छ । सामान्यतया तीन तरिकाबाट पत्थरीको उपचार हुने गर्छ । पेट चिरेर, सानो प्वाल (घाउ) मात्र बनाएर र नचिरीकन उपचार गर्न सकिन्छ । पत्थरी कस्तो किसिमको हो भन्ने कुरामा उपचार फरक पर्न सक्छ । किनभने कुनै पत्थरी बालुवाजस्तो नरम हुने र कुनै पत्थरी ढुंगाजस्तो साह्रो हुने भएकाले कुन विधिबाट उपचार सफल हुन्छ भन्ने कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ ।

सिटी स्क्यानबाट पत्थरी नरम अर्थात् १० एमएमभन्दा सानो भेटियो या त्यस्तो पत्थरी मृगौलाको माथिल्लो र बीचको भाग वा पिसाब नलीको माथिल्लो भागमा छ भने नचिरीकन गरिने प्रविधि (इएसडब्लुएल) बाट पत्थरीको उपचार गरिन्छ ।

यो प्रविधिबाट पत्थरी हटाउँदा अस्पतालमा भर्ना भएर बस्नु पर्दैन । कतिपय अवस्थामा दुईदेखि तीन पटकसम्म उपचार गर्नुपर्ने हुन सक्छ । त्यति गर्दा पनि पत्थरी फुटेन भने अर्को पद्धति अपनाउनुपर्ने हुन्छ ।

पिसाबको नलीमा भएको पत्थरी पिसाब नलीको कुन भागमा छ, त्यसैका आधारमा नचिरीकनै उपचार गरिन्छ । मृगौलाको तल्लो भागमा भएको पत्थरीलाई पनि नचिरीकन आरआईआरएस विधिबाट निकाल्न सकिन्छ ।

त्यस्तै अर्को सानो प्वाल (घाउ) बनाएर गरिने शल्यक्रिया पनि हुन्छ । मृगौलामा १० एमएमभन्दा माथिको पत्थरी छ भने त्यसलाई पत्थरीको कडापन हेरेर पीसीएलएल (सानो प्वाल बनाएर पत्थरी निकाल्ने प्रविधि) विधिबाट हटाइन्छ । यो प्रविधिबाट गरेको शल्यक्रियाले मृगौलालाई असर गर्दैन र यसको काम यथावत रहन्छ ।

त्यस्तै पेट चिरेर पत्थरी निकाल्ने विधि पनि हुन्छ । कुनै पनि प्रविधिले पत्थरीको उपचार सम्भव नभएमा वा गर्न नमिल्ने भएमा नेफ्रोलिथोटोमी र युरेटेरोलिथोटोमी भनिने शल्यक्रियाबाट पत्थरीको उपचार गरिन्छ । तर, मृगौलाले १५ प्रतिशतभन्दा कम काम गरेको देखिएमा मृगौला नै फाल्नुपर्ने पनि हुन सक्छ ।

पत्थरी हुन नदिन के गर्ने ? यसका रोकथामका उपायहरु के–के हुन् ?

पत्थरी हुन नदिन पानी प्रशस्त पिउनुपर्छ । एक दिनमा दुई लिटर पिसाब बन्ने गरी आवश्यक मात्रामा पानी पिउने गरेको खण्डमा मुत्र प्रणाली सम्बन्धी पत्थरी हुने सम्भावना ४० प्रतिशतले घट्छ । यदि हामी धेरै गर्मी ठाउँमा बस्छौँ वा धेरै पसिना बग्ने कठिन काम गर्छौं भने अझ बढी पानी पिउनुपर्ने हुन्छ । मासु कम खाने, सागसब्जीको धेरै खानुपर्छ । मासु धेरै खाने व्यक्तिमा पत्थरी हुने सम्भावना बढी हुन्छ । रातो मासु कम खानु पर्छ ।

नुन कम खाने, नुनिलो खाने कुरा, जंक फुड, प्रशोधित खाने कुरा र धेरै मात्रामा अचार नखाने गर्नुपर्छ । दूध वा दूधजन्य खानेकुरा प्रतिदिन पाँच सय मिलिलिटरसम्म खान सकिन्छ । पालुंगो साग, सखरखण्ड, काउली, चकलेट, कफी, कालो चिया, बियर, स्ट्रबेरी जस्ता खानेकुरामा कम खानु पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?