मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रङ्गमञ्च

नाटक ‘मासिन्या’ मा ७९ वर्षीया बूढीआमा बनेर चर्चा बटुलेकी उन्नाइस वर्षकी सानुमायाको कथा

‘तँ कलाकार बन्ने’ भनेर दिदीहरुले नै हाँसेर उडाए

काठमाडौँ– उमेरले उनी ७९ वर्षकी भइन् । कान थोरै सुन्छिन् । आँखा पनि मधुर देख्छिन् । लठ्ठीकै सहारामा आफूलाई उभ्याउँछिन् । उनी गाङ्नाम्सा (डाँडागाउँ) की माम(हजुरआमा) हुन् । छेवाङ र साङ्मोकी आमा र दिलमायाकी सासु ।

नाटक ‘मासिन्या’मा उनै हजुरआमा पात्रलाई आम दर्शकले निकै रुचाएका छन् । तामाङ मौलिक पहिरनको लुङ्गी, पटुकी, चोलो र नाकमा बुलाकी लगाएकी हजुरआमा पात्र मञ्चमा देखिने बित्तिकै दर्शकलाई आ–आफ्नै घरका हजुरआमाहरुको झल्को आउन सक्छ ।

तिनै ७९ वर्षकी हजुरआमाको भूमिका भने १९ वर्षकी सानुमाया तामाङले निभाएकी छिन् । आफूले ६० वर्षपछि बाँच्नुपर्ने जीवन र हुलियालाई देख्दा सानुमायालाई घरिघरी हाँसो उठ्छ । आफ्नो पछिको जीवन नाटकका माध्यममा अनुभव गर्न पाउँदा उनलाई खुसी पनि लागेको छ । कलाकार भएर काम गरेपछि जुनसुकै चरित्रमा उभिन सक्नुपर्छ भन्ने उनलाई लाग्छ ।

‘कलाकार भएपछि आफ्नो मात्र नभएर अरु क्यारेक्टरहरुबारे बुझ्न र सिक्न पाइने रहेछ’, उनले हाँस्दै भनिन्, ‘सबै चरित्रहरु भएर बाँच्न पाइन्छ । यसैमा त कलाकारको जीन्दगी रमाइलो हुन्छ नि ।’

‘मासिन्या’मा अभिनयका लागि नाटक समूहले जानकारी दिँदा उनलाई हजुरआमा पात्रको भूमिका गर्नुपर्छ भनेर थाहा थिएन ।

समूहले नाटकका लागि पात्रहरु छनोट गर्ने क्रममा उनी हजुरआमा बन्नुपर्ने भयो । टिममध्ये उनी सम्भवतः सबैभन्दा कान्छी उमेरकी थिइन् । उनले हजुरआमाको पात्रको भूमिकामा नाइ नास्ति गरिनन् ।

जसरी नि गर्छु भन्ने हिम्मत लिएर ‘हुन्छ’ भनिदिइन् । उनले सहमति जनाए पनि नाटक निर्माण टोलीलाई भने उनलाई भूमिका निभाउन गाह्रो होला कि भन्ने भयो ।

‘शुरुमा त सानुमायाले हजुरआमाको भूमिका गर्छु भन्दा हामीले पत्याएका थिएनौँ । त्यति सानो उमेरमा बुढीआमाको रोल गर्न सक्दिनन् कि जस्तो लागेर रिजेक्ट नै गर्ने कि भन्ने कुरा समेत थियो । अहिले नाटकमा त्यही क्यारेक्टर बढी हिट छ,’ नाटकका लेखक राजु स्याङ्तानले जोय नेपालसँगको कुराकानीमा सुनाए ।

हजुरआमा पात्रका लागि सानुमायाले गरेको प्रयास

पात्रका लागि निश्चित भएर घर फर्केपछि सानुमायाले शुरुमै आफ्नै घरकी हजुरआमालाई राम्रोसँग हेरिन् । घरको हजुरआमासँग दैनिक कुराकानी र उठबसले नै उनलाई नाटकका लागि आँट आएको थियो । हजुरआमाले बोल्ने शैली, पहिरन, हिँडाइ सबै कुरालाई उनले ख्याल गर्न थालिन् ।

हजुरआमाले बोल्ने ‘हे लाहै’ शैलीलाई उनले टपक्कै टिपिन् । त्यसैमा तामाङ लबज अझै मिसाएर मिठास थपिन् । नाटकका लागि रिहर्सल शुरु भयो । रिहर्सलका लागि ललितपुर हरिसिद्धिबाट दैनिक कहिले अनामनगर त कहिले बौद्धसम्म आउने–जाने क्रममा उनले बाटोमा देखे/भेटेजति पाको उमेरका बृद्धा महिलालाई हेर्दै हिँडिन् ।

‘मैले पाटन ललितपुरतिरका बुढी आमाहरुलाई अझै बढी ध्यान दिएर हेरेँ । उहाँहरुको हेर्ने, हिँड्ने र बोल्ने सबै कुरा हेर्दै–हेर्दै आउनेजाने गरेँ । सबैको चरित्र एक–एक गरी कपी गर्ने कोसिस गरेँ,’ उनले कुराकानीकै क्रममा सुनाइन् ।

उनका अनुसार उनलाई कान नसुन्ने शैलीमा अभिनय गर्न अलि गाह्रो भएको थियो । नाटकभित्रकै अग्रजहरुको सहायतापछि त्यो पनि उनलाई सजिलो भयो । दैनिक जसो हुने रिहर्सलमा उनले आफूलाई सुधार्दै लगिन् ।

नाटक मञ्चनको दिन नजिँकिदै गर्दा भने उनलाई निकै डर लागेको रहेछ । नाटकको पहिलो प्रिमियर ‘शो’ मा सहभागी दर्शकले उनको भूमिकालाई मन पराएपछि भने उनको हिम्मत बढेर आयो । त्यसपछि उनी ढुक्क भएर हजुरआमा बनिदिइन् ।

नाट्य क्षेत्रमा आउन सानुमायाले गरेको संघर्ष

सानुमायाको आमाबाबुले सन्तानको पढाइ र रोजगारीकै लागि रामेछाप छोडेर शहरको बसाइँलाई रोजे । पाँच सन्तानमा उनका एक भाइ र चार दिदीबहिनी छन् । उनी माइली छोरी हुन् । कक्षा ११ पढ्दै गर्दा सानुमायाले आफ्नो रहरबारे आफैं सोचिन् । उनलाई सानैदेखि अभिनय गर्न खुब मन लाग्थ्यो ।

कक्षा ११ को परीक्षा सकेपछि उनी त्यही अभिनयको भोकलाई खोज्ने यात्रामा लागिन् । एक दिन उनले सामाजिक सञ्जालमा ‘ओजस थिएटर’ले निःशुल्क अभिनय सिकाउने भनिएको विज्ञापन देखिन् । त्यसपछि उनी सोधिखोजी गर्दै रातोपुलस्थित थिएटरमा पुगिन् ।

थिएटरमा उनलाई कलाकार बन्न चाहनुको कारण, कला क्षेत्रको चिनापर्ची अनेक प्रश्न सोधियो । उनले पनि ढुंकका साथ आफू जसरी पनि कलाकार बन्ने अठोट रहेको सुनाइन् । त्यो दिन उनलाई आफू छनोट हुनुभन्दा पनि एक्लै त्यहाँसम्म पुग्न सक्नुमा ठूलो गर्व लागेको थियो ।

उनले सुनाइन्, ‘म त्यो बेलासम्म एक्लै बाहिर कतै निस्केको थिइँन । मेरो रहर र सपनाका लागि म आफैं एक्लै त्यहाँसम्म पुगेकी थिएँ । मलाई आफू सेलेक्ट हुँला–नहुँला भन्दा पनि आफूले गरेको यही काममा खुसी लागेको थियो ।’

केही दिनपछि उनी छनोटमा परेको खबर त आयो तर उनलाई परिवारलाई सुनाउन अलि गाह्रै पर्‍यो । परिवारभित्र नाटक बुझ्ने कोही थिएनन् । उनले आफ्नो रहरबारे पनि कसैलाई भनेकी थिइनन् । उनलाई अझै गाह्रो के भयो भने थिएटरमा एक वर्षसम्म अभिनय अध्ययनका लागि ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भयो ।

त्यतिको रकम आफैं जुटाउने उनको हैसियत थिएन । त्यतिबेला उनी खुब छटपटिइन् । केही बाटो नलागेपछि आमाबुवा र घरका अरुलाई आफू कलाकार बन्न हिँडेको कुरा सुनाइन् ।

उनको कुरा सुनेर शुरुमा त परिवारमा सबैजना गल्ल हाँसे । ‘तँ कलाकार बन्ने’ भनेर दिदीहरुले हाँसेरै उडाए । उनले अड्डी नै कसेपछि परिवारले जसोतसो ३० हजार रुपैयाँ पैसा जुटाए । उनी ओजससँग जोडिएको एक वर्ष भयो । यस अवधिमा उनले ‘मृत्युकुण्ड’ र ‘कर्तव्य’ नाटकमा अभिनय गरिन् ।

‘मासिन्या’ उनको तेस्रो नाटक हो । यो एक वर्षमा उनले नाटक र अभिनयबारे धेरथोर जानिन् । अहिलेसम्म बाटो खर्च घरमै माग्छिन् । खर्चका लागि आमाको थैलोमा आँखा पुराउनुपर्दा भने उनलाई अप्ठ्यारो लाग्छ । नाटक भन्दा विदेशतिर गएर कमाइ गर्न घरतिरबाट उनलाई सुझाव आउन थालेको छ ।

उनलाई भने रंगमञ्च नै प्यारो छ । पैसा नै नआएपनि नाटकको काम भइरहे मनमा दुःख नलाग्ने उनी सुनाउँछिन् ।

भन्छिन्, ‘मलाई यसैमा खुसी लाग्न थालेको छ । यतै नै सधैं काम गर्न पाए हुने जस्तो लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?