मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूचना–प्रविधि

‘भविष्यमा रोबोटले मानव जातिको अस्तित्व नै नष्ट गर्न सक्छ’

काठमाडौं– आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को बढ्दो विकाससँगै वैज्ञानिकहरुले रोबोटिक्स र मानव भविष्यको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालेका छन् ।

केही दशकयता प्रविधिको क्षेत्रमा एकपछि अर्को परिवर्तनहरू भइरहेका छन् । मानिसले विकास गरेका मानवीय रोबोटहरु ‘एडभान्स’ हुँदै गइरहेका छन् । तीमध्ये धेरै रोबोटहरु एआईमा आधारित छन् ।

च्याटजीपीटी लगायतका एआईमा आधारित ‘टुल’हरुको विकाससँगै भविष्यमा रोबोट कस्तो हुनेछ भन्ने चासो पनि व्यापक रुपमा बढ्न थालेको छ ।

भविष्यमा एआई केन्द्रित रोबोटहरु पृथ्वीका लागि घातकपूर्ण हुनसक्ने वैज्ञानिकहरुको चिन्ताको विषय हो । अहिलेको विकासलाई नै हेर्ने हो भने पनि कुनै गीतमा नृत्य गर्न सक्ने, कुराकानी गर्न सक्ने, हाउभाउ नक्कल गर्ने र कैयन् काम गर्ने सक्ने रोबोटका विकास भइसकेका छन् ।

साउदी अरबले सन् २०१७ मा ‘सोफिया’ नामक रोबोटलाई नागरिकता नै दिइसकेको छ । यो नागरिकता पाउने विश्वकै पहिलो रोबोट पनि हो ।

एआईको विकासलाई लिएर स्टेफन हकिङले सन् २०१४ मा एक अन्तर्वार्ताका क्रममा भनेका थिए, ‘पूर्ण आर्टिफिसियल इन्टिलिजेन्सको विकास हुनुले मानव जातिको अस्तित्व नै समाप्त हुन सक्छ ।’

हकिङका अनुसार भविष्यमा एआई आफूलाई परिमार्जन गर्दै झन् शक्तिशाली हुन सक्छ ।

सन् २०२३ मा प्रदर्शनमा आएको फिल्म ‘मिसन इम्पोसिबलः डेड रेकनिङ’ मा पनि एआईको बढ्दो प्रभावले निम्त्याउन सक्ने जोखिमबारे देखाइएको छ । उक्त फिल्ममा एआईलाई नै प्रमुख प्रतिद्वन्द्वी बनाइएको छ ।

दक्षिण भारतीय फिल्म ‘रोबोट’, हलिउड फिल्म ‘द टर्मिनेटर’ लगायतका कैयन् फिल्ममा पृथ्वीका लागि ‘रोबोट’ खतरापूर्ण भएको चित्रण गरिएको छ ।

वैज्ञानिकहरुले फिल्ममा देखाइएजस्तो अवस्था अझै सिर्जना नभइसकेको बताए पनि भविष्यमा एआईको विकाससँगै यो अवस्था आउँदैन भनेर भन्न नसकिने दाबी गर्दै आएका छन् ।

एआईका ‘गड फादर’ मानिने जिओफ्री हिन्टन भन्छन्, ‘अहिलेसम्म मेसिनहरु हामीभन्दा बुद्धिमान छैनन् तर भविष्यमा हामीभन्दा बुद्धिमान हुनेछन् भन्ने मलाई लाग्छ ।’

अहिले संसारका कैयन् देशले रोबोटलाई आफू अनुकुलका काममा प्रयोग गर्दै आइरहेका छन् ।

हुन त अहिलेको अवस्थामा मानवीय रोबोटले मानिसको दैनिकीलाई सहज बनाइदिएको छ । विश्वका ठूला कम्पनीहरुले एआईलाई विभिन्न अध्ययन अनुसन्धानमा समेत सामेल गराएका छन् ।

हालै प्रकाशित एक रिपोर्ट अनुसार एआईले अब ‘मानिसको मृत्युको भविष्यवाणी गर्न सक्ने’ समेत बताइएको थियो ।

वैज्ञानिकहरुले एआईहरु समयसँगै एडभान्स हुँदै गइरहेको दाबी गर्दै आइरहेका छन् ।

ओपनएआईले निर्माण गरेको च्याटजीपीटीले विश्वभर चर्चा कमाएसँगै अहिले माइक्रोसफ्ट, गुगल लगायतका ठूला प्रविधि कम्पनीहरु एआईलाई थप ‘अपग्रेड’ गर्नतर्फ लागिपरेका छन् । अझ च्याटजीपीटीमा त माइक्रोसफ्टकै आर्थिक सहयोग छ । माइक्रोसफ्टले आफ्ना उत्पादनहरुमा च्याटजीपीटी तथा ड्याल–ईका फिचर समावेश गर्दै आइरहेको छ ।

अर्कातर्फ वैज्ञानिकहरुले एआईको प्रयोगले भविष्यमा मानिसले अमरत्व प्राप्त गर्न सक्नेतर्फ पनि औँल्याएका छन् ।

त्यसो त अहिलेको अवस्थामा रोबोटहरु पूर्ण रुपमा मानिसको नियन्त्रणमा छन् । हस्पिटलको क्षेत्रमा रोबोटकै माध्यमबाट जटिल रोगको पहिचान गर्न सकिने, शिक्षा तथा मनोरञ्जन क्षेत्रमा पनि एआईको सहायता लिन सकिने अवस्था छ ।

रोबोटले औद्योगिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्न सक्छ । अहिले रोबोटको महत्त्वपूर्ण पाटो भनेको मानिसले सहजै गर्न नसक्ने काम उसले सहजै गर्न सक्छ ।

जस्तो कि, रोबोटले गह्रौँ सामानहरु बोक्न सक्छ । मानिसले भन्दा छिटो गणितीय हिसाबहरु हल गर्न सक्छ । चिकित्सा क्षेत्रमा गम्भीर रोगहरुको पहिचान गर्न सक्छ ।

तथापि रोबोटलाई वैज्ञानिकले भने ‘किलर रोबोट’ पनि भन्ने गरेका छन् ।

रोबोटलाई किन ज्यानमारा भन्न थालियो ?

हालसम्मको विकासक्रम हेर्दा रोबोट मानिसको नियन्त्रणमा छ । रोबोट मानिसले चाहेअनुसार प्रयोग भइरहेको छ । तर, वैज्ञानिकहरुले रोबोटले भविष्यमा मानव जीवनलाई नै नष्ट गर्न सक्ने दाबी गर्दै आइरहेका छन् ।

अहिले पनि रोबोटका कारण विश्वका थुप्रै बेरोजगारी बढिरहेको छ । यो समस्या अझै बृहत् हुने कतिपय वैज्ञानिकहरुको दाबी छ ।

विश्वभर नै रोबोटलाई मानिसको विकल्पको रुपमा प्रयोग गर्न थालिएको छ । कामको विकल्पमा रोबोट राख्दा मानिसले रोजगारी नपाउन सक्छन् र यसले आर्थिक असमानता पनि ल्याउँछ ।

होटल तथा औद्योगिक क्षेत्रमा रोबोटले नै थुप्रै कामहरु आफैले गर्न सक्छ । कारखानामा मजदुरको सट्टामा रोबोटकै प्रयोग हुने, डाटा इन्ट्री लगायतका कैयन् क्षेत्रमा अब रोबोटकै प्रयोग गरिएको छ ।

हालै एक वैज्ञानिकको टोलीले मानव जीवनलाई हानी हुनसक्ने रोबोटको विकास हुनबाट रोक्न संयुक्त राष्ट्र संघलाई आग्रह गरेका थिए ।

त्यसो त रोबोटलाई इन्टरनेटको माध्यमबाट फरक स्थानमा सञ्चालित गरी उक्त स्थानको सम्पूर्ण जानकारी लिने कार्य पनि गरिएको छ । साथैसाथै एआईको प्रयोगले व्यक्तिको सुरक्षा र गोपनियतामाथि पनि प्रश्न उठाएको छ ।

वैज्ञानिकको सबैभन्दा गम्भीर चिन्ताको विषय के हो भने, यदि रोबोटमा आफैले निर्णय गर्न सक्ने क्षमताको विकास भयो भने भविष्यमा रोबोटको मानव जातिका लागि खतरापूर्ण हुनसक्छ ।

वैज्ञानिकहरुको सबैभन्दा चिन्ताको विषय के हो भने यदि भविष्यमा रोबोटले नै निर्णय लिन सक्ने खालका रोबोर्टहरुको विकास हुँदै गए भने भविष्यमा रोबोटले आफ्नै दुनियाँ सिर्जना गर्न सक्छ । र, मानव जगतलाई नै आफ्नो ‘दास’ बनाउन सक्छ ।

च्याटजीपीटी निर्माता कम्पनीले ‘क्यु स्टार’ नामक अर्को एआईमाथि काम गरिरहेको रिपोर्टहरु पनि सार्वजनिक भएका थिए । उक्त एआईले च्याटजीपीटीले भन्दा पनि धेरै गुणा काम गर्न सक्छ । यसले आफैले सही या गलतको निर्णय लिन सक्छ ।

भविष्यमा रोबोटले नै आफैले निर्णय लिन सक्ने खालको प्रविधिको विकास भयो भने त्यसले मानव जीवनलाई पूर्ण रुपमा नष्ट गर्ने वैज्ञानिकहरुको दाबी छ ।

यसरी भयो रोबोटको विकास

पौराणिक ग्रन्थहरुमा पनि रोबोटको विकास भएका तथ्यहरु उल्लेख गरिएको छ ।

रोबोटको इतिहास प्राचीन चीन, प्राचीन ग्रिस र इजिप्टलगायत विश्वका धेरै देशका पौराणिक कथाहरुको संस्कृतिसँगै विकास भएको मानिन्छ । तर  वास्तवमै सबैभन्दा पहिले रोबोटको निर्माण भने इसापूर्वको चौथो शताब्दीका एक जना ग्रिकका दार्शनिक आर्काइटसले गरेका थिए ।

उनले आफै उड्न सक्ने ‘द फ्लाइङ पिजन’ नामको एउटा डिभाइस निर्माण गरेका थिए । उक्त डिभाइस बाफको सहायतामा चल्न सक्थ्यो ।

आर्काइटसले बनाएको यही स्वचालित डिभाइसलाई नै संसारमा सबैभन्दा पहिलो रोबोट मानिन्छ ।

यसपछि सत्रौं शताब्दीमा यस्ता धेरै आकार र प्रकारका स्वचालित रोबोटहरुका निर्माण भए र ती रोबोटहरुले चित्र बनाउने, उड्ने तथा संगीत सिर्जना गर्नेदेखि मानिसले गर्ने धेरै प्रकारका जटिल कामहरु गर्न थाले ।

पहिलो मानवीय रोबोटका जन्मदाता भने जर्ज सी देभोललाई मानिन्छ । यो रोबोटलाई उनले ‘अल्टिमेट’ नाम दिएका थिए ।

अहिले विकसित भएका कतिपय रोबोटहरु एआईमा आधारित छन् ।

रोबोटमा मानिसहरुसँग दोहोरो संवाद गर्न सक्ने प्रोग्राम राखिएको हुन्छ । रोबोटहरु हिँड्न सक्छन् । आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छन् । अनेक प्रकारका शारीरिक हलचल गर्न सक्छन् ।

अहिलेका आधुनिक ह्युमोमोइड (मानवीय) रोबोटले भने मानिसले गर्न नसक्ने जटिल कार्यहरु समेत गर्न सक्छन् । त्यस्तै रोबोटहरु सफ्टवेयर तथा अन्य साधनहरु सँग जोडिएका कारण पनि मानिस अथवा कुनै पनि वस्तुलाई सजिलै पहिचान गर्न, कुराकानी गर्न र साथी बन्न सक्छन् ।

सामान्य स्वचालित रोबोटले भिन्नभिन्नै प्रकारका कार्यहरु एकैसाथ गर्न सक्छन् र अन्य धेरै उपयोगी कार्य पनि गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?