मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

निर्देशक प्रदीप भट्टराईको ‘रोमान्टिक’ प्रेम कथा: दोस्रो भेटपछि उनलाई देख्न मन लाग्यो तर माया थिएन

मोबाइलमा घण्टौँ कुरा हुन्थ्यो, दशैँपछिको भेटमा गफ गर्दागर्दै उज्यालो भयो

काठमाडौँ– निर्देशक प्रदीप भट्टराई आफूले निर्देशन गर्ने सिनेमालाई जतिसक्यो राम्रो बनाउने प्रयासमा हुन्छन् । उनले निर्देशन गरेका सिनेमा शत्रु गते, जात्रा, जात्रै जात्रा र महापुरुष मा गरेको काममार्फत प्रदीपले आफूलाई ‘अब्बल निर्देशक’ पुष्टि गरिसकेका छन् ।

प्रदीपको निर्देशनमा बनेको सिनेमा ‘महाजात्रा’ आगामी चैत्र ९ गतेदेखि प्रदर्शनमा आउँदै छ । यो बहुप्रतिक्षित सिनेमाको दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका छन् । सिनेमामा उनले प्रेमलाई भन्दा कमेडीलाई महत्त्व दिइरहेका हुन्छन् ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले निर्देशन गरेको हास्य टेलिश्रृङ्खला ‘मदन बहादुर हरिबहादुर’ मा मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेका प्रदीपको जीवनमा भने बडो गज्जबको प्रेमकथा छ ।

उनले आफ्नो प्रेमकथा सफल बनाउन धेरथोर मेहनत पनि गर्नुपरेको छ । ‘भ्यालेन्टाइन विक स्पेशल’ अन्तर्गतको सिरिजमा निर्देशक भट्टराईले जोय नेपालसँग आफ्नो जीवनको महत्त्वपूर्ण प्रेमको पाटो शेयर गरे ।

आफ्नो वृत्ति (करिअर) का लागि सङ्घर्ष गरिरहेका बेला प्रदीप मोरङकी पवित्रा भारतीसँग प्रेम सम्बन्धमा गाँसिएका थिए । झण्डै पाँच वर्षको प्रेम सम्बन्धलाई विवाह बन्धनमा बाँधेका प्रदीप अहिले फर्केर हेर्दा त्यो बेलाको प्रेम ‘टीन एजर’ को जस्तो भए पनि सम्झँदा निकै रमाइलो लाग्ने गरेको बताउँछन् । युवावस्थामा पवित्रालाई देख्न लालायित हुने प्रदीप अहिले गर्ने प्रेममा भने ‘केयरिङ’ ज्यादा हुने बताउँछन् ।

कुराकानीको शुरुमै हामीले प्रदीपलाई सोध्यौँ, ‘आखिरमा प्रेम के रहेछ त ?’

‘प्रेम के हो भनेर त यति सजिलै भन्न सकिने चीज होइन रहेछ, तपाईंले सोध्दा नै के भन्ने भयो भने यो पक्कै पनि सजिलो विषय होइन,’ प्रदीपले थोरै मुस्कानका साथ जवाफ फर्काए ।

उनका अनुसार प्रेम भनेको यस्तो चीज हो, जहाँ कुनै लेनदेन नै छैन । न त प्रेमको कहिल्यै सृष्टि भएको छ । यो कहिल्यै मर्दैन पनि ।

‘मलाई लाग्छ, प्रेममा लेनदेन नै हुँदैन, प्रेममा लेनदेन खोज्नेले प्रेममा पनि स्वार्थ हेरेका हुन्छन्, त्यस्तो स्वार्थ पूरा नहुँदा प्रेमलाई ब्रेकअपको नाम दिन्छन्,’ प्रदीप भन्छन्, ‘कतिपयको प्रेम सफल नहुने कारण के हो भने उनीहरुले बुझेको प्रेमको परिभाषा नै गलत हुन्छ, त्यसैले त्यो प्रेम सफल हुँदैन ।’

उनको बुझाइमा कसैलाई रिस उठ्दैमा ‘तेरो प्रेम फिर्ता लैजा’ भन्ने खालको प्रेम नै हुँदैन । प्रेममा ब्रेकअप भन्ने नै हुँदैन । मान्छे आफूसँग साथमा नहोला, तर चोखो प्रेम गरिएको छ भने प्रेम सधै रहिरहन्छ । र, प्रेम विपरीत लिंगीप्रति मात्र हुँदैन ।

‘प्रेम त बाबुआमा, साथीभाइ, जोसँग पनि हुन्छ, स्वार्थरहित प्रेम सधै टिक्छ,’ प्रदीप भन्छन् ।

प्रदीपको जीवनमा पनि एउटा त्यस्तै स्वार्थरहित प्रेम बसेको थियो । त्यो प्रेमको गाँठो अहिले अझ बलियो गरी कसिएको छ ।

यो कथा हो, वि.सं. २०६३ तिरको । त्यतिबेला उनी ‘टीन एज’ पार गरेर २२/२३ वर्षमा लागेका थिए । उनी लोकप्रिय हास्य टेलिश्रृङ्खला ‘मदनबहादुर हरिबहादुर’ को मुख्य सहायक निर्देशकका रुपमा कार्यरत थिए । धेरैजसो समय उनी महाराजगञ्जस्थित महजोडीको कार्यालयमै बिताउँथे । उतै खान्थे । बाहिरी दुनियाँको त्यति धेरै वास्ता पनि हुँदैनथ्यो ।

किनकि, फुर्सद कम र काम अलिक बढी र जिम्मेवारीपूर्ण थियो । प्रदीपसँगै भिडियो सम्पादनमा थिए गणेश कँडेल ।

एक दिनको कुरा हो ।

त्यो दिन ‘न्यू इयर इभ’ थियो शायद । अफिसको काम सकिएपछि सबैजनाले आज सानो ग्यादरिङ गरौँ न त भन्ने सल्लाह गरे ।

सल्लाह त भयो तर अब कहाँ जाने ?

‘गणेश (कँडेल) दाइकोमा जाम् न त, उहाँ विवाहित पनि हुनुहुन्छ, भाउजूले खाना पकाउनुहुन्छ,’ प्रदीपले भने ।

सबैको सहमति जुट्यो । साँझ गणेश कँडेलको कोठामा सबैजना भेला भए ।

‘हाम्रो खासै ठूलो पार्टी पनि थिएन, सामान्य ग्यादरिङ मात्र थियो, खानपिन चलिरहेको थियो,’ प्रदीपले सुनाए ।

‘खानपिनकै क्रममा भाउजूलाई सहयोग गर्न एक अर्की युवती आएकी थिइन् । ती युवतीको पारा देखेर मलाई वाक्क लागिरहेको थियो,’ प्रदीप स्मरण गर्छन् ।

प्रदीपलाई किन पनि झिँजो लागिरहेको थियो भने, पहिले त उनले त्यो दिनभन्दा पहिले ती युवतीलाई कहिल्यै देखेका पनि थिएनन् तर ती युवतीले भने सबैलाई वर्षौँ भेटेको नजिकका मान्छेसँग जस्तो व्यवहार गरेकी थिइन् ।

‘ती युवतीको पारा नै अर्कै थियो, हामी कसैले पनि चिनेका थिएनौँ, फाटफुट बोल्दिहाल्ने उनको स्वभावले मलाई कति बोलेको हो यो केटी भन्ने परेको थियो,’ उनले आफ्नो प्रेमिल जीवनको पहिलो भेटलाई कुराकानीमा जोडे ।

ती युवती अस्वभाविक रुपमा बोलेको जस्तो लागेपछि प्रदीपले नोटिस चाहिँ गरेका रहेछन् । उनले मनमनै सोचे– कस्तो केटी हो यार बोलेको बोल्यै गर्छ त !

त्यतिबेला उनलाई थाहा थिएन कि, भोलि उनैसँग माया बस्नेछ ।

‘त्यो दिन त्यस्तै भयो, हामी पनि ग्यादरिङपछि घर फर्कियौँ, त्यतिबेला मलाई अचम्म किन पनि लागिरहेको थियो भने म त निर्देशक भइसकेको मान्छे कस्तो पतर पतर बोलेको होला भन्ने लागिरहेको थियो, त्यही भएर पनि खासै मतलब लागेन,’ उनले जोय नेपालको कुराकानीमा सुनाए ।

त्यतिबेला प्रदीपलाई न प्रेम भएको महसूस भयो । न त पहिलो नजरमै माया बस्यो । न त सिनेमाको कथामा जस्तो फ्यान चलाएर कपाल फरफरायो । त्यस्तो केही भएन । बरु उनलाई ‘मोनोटोनस’ भयो ।

अर्को दिन ।

नियमित जस्तै प्रदीप मह सञ्चारको कार्यालयमा काम गरिरहेका थिए । उनले ती युवतीलाई याद गरेका थिएनन् । ‘कति बोलेको होला’ भन्ने पहिलो दिन त लागेको थियो, त्यो बाहेक खासै वास्ता लागेको थिएन ।

‘कार्यालयमा मैले काम गरिरहेको थिएँ, भाउजू (कँडेल पत्नी) सँग उनी फेरि आइन्, मैले देखेँ, अब यो केटी के बोल्ने हो भन्ने लागिरहेको थियो,’ प्रदीप त्यो बेलाको स्मरण सुनाउँछन् ।

तर, त्यो दिन उनी अफिस आइन् । प्रदीपकी भाउजूले चिया पकाएर सबैलाई खुवाइन् । तर, ती युवती एक शब्द पनि बोलिनन् । बोल्दै बोलिनन् ।

त्यसपछि प्रदीपले उनीतर्फ एक नजर तेर्साए ।

‘मलाई अरु त त्यस्तो केही थिएन, प्रेम भएको पनि शायद थिएन, तर ऊ आज किन बोलिन भनेर मैले उनको अनुहारमा पुलुक्क हेरेँ, उनी नबोली गइन्,’ उनी हाँस्छन् ।

प्रदीपलाई अझै पनि लागिरहेको छ कि, आफूले ती युवतीलाई चाहँदैनन् । तर, मनमा कताकता उनीप्रति एक खालको कौतहुलता थियो ।

‘मलाई त्यस्तो किन भयो थाहा छैन तर त्यो दिनदेखि उनलाई देख्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो,’ प्रदीप सुनाउँछन् ।

त्यसपछि उनले भिडियो सम्पादन गरिरहेका गणेशलाई सोधे, ‘दाइ यी नानी को हुन्?’

उनले भने, ‘हाम्रो कोठाको छेउमा बस्ने बहिनी हुन् । कलेज पढ्दै छिन्, नाम पवित्रा भारती हो ।’

त्यो दिनदेखि खै किन हो, प्रदीपलाई पवित्रालाई देख्न पाए हुँदो हो भन्ने हुन थाल्यो । उनी भन्छन्, ‘कुनै बहाना बनाएर गणेश दाइको कोठामा जान पाए हुन्थ्यो भन्ने हुन थाल्यो, फेरि मैले अर्को मनले यस्तो हुनु हुँदैन भनेर आफैलाई रोक्न पनि खोजिरहेको हुन्थेँ ।’

‘उनलाई भेट्न चाहिँ मन लाग्ने, तर मलाई यतिबेलासम्म प्रेम छैन है,’ उनी हाँस्दै आफ्ना पुराना दिन सुनाए ।

हामीले उनको कुरामा थप्यौँ– तपाईँलाई म निर्देशक हुँ भन्ने खालको पुरुषत्वले शायद रोक्यो होला, तपाईंले कतै न कतै प्रेम त गर्नुभएको थियो होला है?

‘हाहाहाहा ! हुनसक्छ,’ उनले अलिक लामो हाँसो हाँसेर हाम्रो कुरामा सहमति जनाए ।

ती युवतीलाई भेट्न उनी गणेश कँडेलको कोठामा गइरहन थाले । उनी पनि त्यहाँ आउँथिन् । पछि देखभेट हुँदाहुँदै सामान्य बोलचाल हुन थाल्यो ।

एकदिन प्रदीपले हिम्मत गरेर मोबाइल नम्बर मागे ।

‘उनले नम्बर दिइन्, मलाई अहिले पनि याद छ, त्यतिबेला उनको चाइनिज मोबाइल थियो, रातो र सेतो रंगको एकदमै राम्रो मोबाइल थियो, स्लाइड हुन्थ्यो,’ उनले सुनाए ।

त्यतिबेला अहिलेजस्तो सामाजिक सञ्जालमा च्याट गर्ने चलन थिएन । उनले फोनमै म्यासेज गर्थे ।

के गर्दै हो? खाना खाइयो?

त्यसको निकै लामो समयपछि बल्ल रिप्लाई आउँथ्यो, ‘अँ खाएँ तपाईंले?’

‘आफूलाई चाहिँ उत्तिखेरै म्यासेज आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो तर उनले निकै ढिला रिप्लाइ गर्थिन्,’ उनले आफ्नो युवावस्था स्मरण गर्दै भने, ‘उनले ६ घण्टामा रिप्लाइ दिइरहेकी छिन् भने मैले कम्तिमा ६ मिनेटपछि त दिनुपर्छ भन्ने लाग्थ्यो तर त्यो बेला ६ मिनेट बित्न पनि समय लाग्थ्यो ।’

फेरि फोनमा कुरा हुने त्यस्तो ठूलो इस्यु पनि केही हुँदैनथ्यो । एकदमै सामान्य ।

खाना खाइयो?

खाएँ । हजुरले नि ?

किन यति ढिला रिप्लाइ हो?

कपडा धुँदै थिएँ । मोबाइल हेरेकै थिइनँ ।

ए ल ल ।

‘कहिलेकाहीँ म मोबाइल नलगी कलेज गएकी थिएँ भन्थिन्, कहिले केही काम गर्दै थिएँ भन्थिन् तर आफूले रिप्लाइ कुरिरहेको हुन्थेँ,’ उनले सुनाए ।

कुरा गर्दै जाँदा समय पनि बित्दै गयो । कुराकानी पनि अलि बढी हुन थाल्यो । सम्बन्ध यस्तो अवस्थामा थियो, साथीभन्दा माथिजस्तो तर प्रेमी प्रेमिका पनि होइन ।

‘मलाई लाग्छ, हामीबीच अझै पनि प्रेम थिएन तर केयरिङ थियो,’ प्रदीपले सुनाए ।

दशैँ आयो । त्यो वर्ष सप्तकोशीको बाँध फुटेको थियो । पूर्वतिर जानेलाई दशैँमा घर जान पनि निकै सकस थियो । तर, जति सकस भए पनि दशैँमा घर जानु त सबैलाई मन लाग्ने नै भयो ।

प्रदीपकी पवित्रा पनि दशैँमा घर जाने भइन् ।

‘उनी काठमाडौँबाट आफ्नो घर (मोरङको बेलबारी) जाँदा यहाँबाट नाइट बसमा गइन् । उता कोशी तर्न दिउँसोको समयमा पुग्नुपर्ने थियो, मैले उनी घर हिँडेपछि यति फोन गरेछु कि, प्रत्येक दश मिनेटमा कहाँ पुग्यौ भनेर सोध्ने रहेछु,’ उनले अगाडि सुनाए, ‘त्यतिबेला मलाई बल्ल महसूस भयो, उनलाई मैले माया गर्छु नभए त यत्रो धेरै चिन्ता किन लाग्थ्यो होला त?’

प्रत्येक दश मिनेटमा हुने फोनमा पनि धेरै ठूला कुरा हुँदैनथ्यो । कहाँ पुग्यौ? राम्रोसँग जाऊ । आफ्नो ख्याल गर ।

हामी घर जाँदैछौँ ।

ए ल ल । राम्रोसँग जाऊ ।

हेर्नु न । दश मिनेट डुङ्गा चढेको पनि ६०० रुपैयाँ लियो । धन्नै भाइ भासिएन नि ।

ए ए ! तिमीलाई त केही भएन नि?

बालुवा भनेर टेकेको दलदल रहेछ ।

यस्तै यस्तै ।

‘कोशीको बाँध फुटेपछि सप्तकोशीमा पनि लूट चलेको थियो नि, तर त्यतिबेला उनीसँग एकदम धेरै कुरा गरिएछ, त्यसपछि त कुरा गर्न झनै सजिलो भयो,’ प्रदीपले सुनाए ।

त्यसपछि प्रदीप र पवित्राको कुराकानीको रफ्तार पनि बढ्दै गयो । फोनमा घण्टौँ कुरा हुन थाल्यो । कोशीको बाढीले धेरै चीज बगाएर लगे पनि प्रदीप र पवित्राको सम्बन्धलाई भने नजिक बनाइदिएको थियो ।

‘हामीले त्यसपछि यति धेरै कुरा गर्न थाल्यौँ कि, कुरा गर्दा गर्दा फोन नै तात्थ्यो । फुर्सद भयो कि, कुराकानी गरिहाल्ने गर्न थाल्यौँ,’ प्रदीपले अगाडि थपे, ‘फोन तातेर मैले त दुईवटा फोन बोकेको थिएँ ।’

प्रदीपसँग दुईवटा फोन भए पनि पवित्रासँग भने जम्मा एउटा फोन थियो । अझ उनी गाउँतिर गएकी थिइन् । कहिलेकाहीँ गाउँमा लामो समय बिजुली जान्थ्यो ।

‘मसँग त बरु दुईवटा फोन थिए तर उनीसँग एउटा मात्र फोन थियो, कुरा गर्दागर्दै फोन तात्यो या उनको मोबाइलको ब्याट्री सकियो भने फोन गर्नुपर्छ भनेर उनले अरु गाउँलेका नम्बर पनि दिएकी थिइन्,’ उनले सुनाए ।

अहिले उनलाई लाग्छ– पक्कै पनि मेरो लभ नै परेको हो । त्यस्तो पनि हुने रहेछ ।

तर, उनीहरु अरु सबै कुराकानी गर्थे तर प्रेमका कुरा खासै गर्दैनथे । त्यो अझ रोचक पक्ष थियो ।

दशैँ, तिहार र छठको विदा सकियो । अब पवित्रा काठमाडौँ आउने भइन् । काठमाडौँमा पढ्ने पवित्राको क्याम्पस शुरु हुन लागेको थियो ।

यता प्रदीपलाई बडो बेचैन हुन थाल्यो ।

‘ऊ आउँदैछ भनेर मन यति बेचैन थियो कि, मलाई उनीसँग भेट्न निकै हतार थियो, हामीले फोनमै भेट्ने योजना बनाइसकेका थियौँ,’ प्रदीपले सुनाए ।

तर, कहाँ भेट्ने त?

‘अन्त कहाँ हुन्थ्यो र त्यही गणेश दाइको मा त भेट्ने हो, हाम्रो प्रेमको पुल नै त्यही थियो,’ प्रदीपले फिस्स हाँस्दै भने ।

फाइनल्ली पवित्रा काठमाडौँ आइन् । प्रदीप अब उनलाई भेट्न जानैपर्ने भयो ।

‘गणेश दाइको कोठामा भेट्ने कुरा भयो, खाटमा गणेश दाइ, भाउजू र एकातिरको छेउमा पवित्रा लस्करै सुत्नुभएको थियो, नजिकैको सोफामा बसेर मैले उनीसँग कुरा गर्न थालेँ,’ प्रदीपले अगाडि थपे, ‘हामी त रातभरि गफ गरेछौँ, बिहान उज्यालो नै भयो, गणेश दाइहरु उठेपछि म पनि सोफाबाट उठ्न प¥यो भनेको त एकैनासले बस्दा बस्दा एकतिरको हर नै नचल्ने भइरहेको रहेछ एकछिन त ।’

‘हेर्नुस् त, मलाई त्यत्रो इनर्जी कहाँबाट आयो होला, अचम्म लाग्छ,’ उनी हाँसे ।

यो क्रम झण्डै पाँच वर्ष चल्यो ।

‘हामीबीच भेटघाट हुन्थ्यो तर कुराकानीबाहेक अर्थोक केही थिएन, त्यसैले त म अहिले पनि भन्छु नि, प्रेममा लेनदेन नै हुँदैन,’ उनले थपे ।

यो बीचमा प्रदीपकी दिदीको पनि बिहे भयो । अब उनी एक्लै बस्थे । पवित्रासँगको प्रेमको खोला पनि सप्तकोशी झैँ बगिरहेको थियो ।

यता एकदिन कथाले नयाँ मोड लियो । पवित्राको घरमा बिहेको कुरा चल्यो ।

निरन्तरको भेट झैँ एकदिन पवित्राले प्रदीपलाई भेटेर भनिन्, ‘तपाईँ मलाई साँच्चै माया गर्नुहुन्छ? बिहे गर्न चाहनुहुन्छ? मेरो घरमा बिहेको कुरा चलिरहेको छ, एकपटक त घरमा कुरा गर्नुपर्छ ।’

‘उनले मलाई बिहे गर्नैपर्छ पनि भनेकी थिइनन्, तर मैले उनलाई माया गर्नुपर्छ भनेर घरमा कुरा अगाडि बढाएँ,’ प्रदीपले भने ।

प्रदीपले सबैभन्दा पहिले दिदीलाई आफ्नो कुरा शेयर गरे । त्यसपछि दिदीले घरमा कुरा गर्नुभयो । तर, यहाँनेर जात मिलेन । कुरा गडबड भयो ।

प्रदीप ब्राह्मण समुदायका थिए भने पवित्रा भारती थरकी थिइन् । प्रदीपको परिवार र आफन्तलाई लागेको थियो – केटाले बाहुनी नै बिहे गर्छ ।

***

(प्रदीप भट्टराईको बिहेको उतारचढाव र त्यसपछि उनले परिवारलाई देखाएको आत्मीयता अर्को श्रृङ्खलामा ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?