मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

विनोद चौधरीको फिल्मजस्तो प्रेम कथा, लिलीसँग बिहे गर्न ‘इङ्गेजमेन्ट’ नै तोडे

काठमाडौं- अमेरिकी अखबार फोर्ब्सले धनाढ्यको सूचीमा राखेको नेपालका एक मात्रै अर्बपति एवम् कांग्रेसका सांसद विनोद चौधरीको जीवन जति उतारचढावपूर्ण छ, उनको प्रेम कथा पनि उत्तिकै रोचक छ ।

विसं २०१२ मा जन्मेका विनोद युवावस्थामा निकै ‘फरवार्ड’ थिए । देशका राज घराना, व्यवसायिक प्रतिष्ठान, उच्च ओहदाका व्यक्तिहरूसँग बाक्लो हिमचिम बढाएका विनोद २०३० को दशकमा लक्का जवान हुँदा देश विदेशका डिस्को, क्यासिनो, मधुशाला धाइरहन्थे । तर, आफू ‘मोर्डन’ भए पनि विनोदको सोच भने स्पष्ट थियो– सुशील केटीसँग विवाह गर्ने ।

यतिसम्म कि, सुशील केटी बिहे गर्न विनोदले ‘इङ्गेजमेन्ट’ नै तोडेका थिए । बुबा लुनकरणदाले विनोदका लागि भारतको बिहारमा व्यापारी घराना कै केटी हेरिदिएका थिए । लुनकरणदासले बुहारी बनाउन चाहेकी बिहार पटनाकी केटी निकै आधुनिक स्वभावकी थिइन् । उत्तिकै फेसनेबल पनि थिइन् । यत्तिको फरवार्ड छोरो र यस्ती स्मार्ट बुहारी भएपछि यिनीहरुको जोडी राम्रैसँग जम्छ भनेर लुनकरणदासलाई लागेको हुनुपर्छ ।

केटी हेरियो, दुवै परिवारको मन मिल्यो, टिकाटालो भयो, सबै कुरा ठीकठाक नै थियो । समय बित्दै गयो । ६ महिनापछि विनोदले एक्कासी लुनकरणदालाई अब ती केटीसँग बिहे नगर्ने निर्णय सुनाए । विनोदले अब आफूले भनेकै केटीसँग बिहे हुनुपर्छ भनेर बुबासँग अड्डी कस्न थाले । उनले आफ्नो आत्मकथामा बिहेको यो रोचक किस्सा पनि समावेश गरेका छन् ।

आफूले बिहे गराइदिने निश्चित गरिदिसकेपछि छोरा विनोदको निर्णय फेर्ने फैसला गरेपछि लुनकरणदासको भुईँ भासियो । एकातर्फ इज्जतको डर, अर्कातर्फ विनोदले प्रस्ताव गरेकी केटी । दुवै कुराले छाँगाबाट खसेजस्तै भएका बुबाले त्यतिबेला दिएको एउटै उत्तर थियो – यो हुनै सक्दैन ।

त्यतिबेलै ‘कपर फ्लोर’ डिस्को चलाउने, राति अबेर घर आउने वा भनौँ आधुनिक जीवन बिताइरहेका विनोदलाई बिहे टुङ्गो लागिसकेपछि नै लाग्यो श्रीमती त ‘घरेलु’ नै हुनुपर्छ । यही कारण ‘इन्गेजमेन्ट’ कै दिनबाट छट्पटिन थालेका उनलाई पटनाकी केटीको ‘लाइफस्टाइल’ सँग भिज्न नसक्ने महसुस हुन थाल्यो ।

आफैँले राजीखुशी टिकाटालो गरेकी केटीलाई कसरी टाढा राख्ने भन्ने चिन्ता पनि बढ्न थाल्यो । पटनाबाट उनले फोन गरिरहन्थिन् तर विनोदलाई फोन आउँदा नै कहाँ भागौँजस्तो लाग्न थाल्यो । उनमा बेचैनी यति बढ्यो कि के गर्ने के नगर्ने ठम्याउनै सकिरहेका थिएनन् ।

यही कारण बुबाले गरिएको ‘टिकोटालो’ तोड्ने निर्णयमा विनोद पुगे । आफ्नो आत्मकथा ‘विनोद चौधरी’ मा उनी लेख्छन् – ‘त्यो त लिलीको मायाले पो रैछ’

खासमा नाम सारिका शर्मा रहेकी लिली विनोदको लागि नौलो पात्र थिइनन् । उनीहरुको पारिवारिक सम्बन्ध बुवाहरुकै पालोमा शुरु भएको थियो । मारवाडी समुदायकै बीएल शर्मा लुनकरणदास खास मित्र थिए । एकै उमेरका भएका कारण लिलीका दाजुसँग विनोदको दोस्तीयारी थियो । गीत गाउने शोख भएका विनोद कहिले उनको घरमा कहिले विनोदकै घरमा ‘अन्ताक्षरी’ जम्थ्यो ।

तर न लिली न विनोद दुवैले यतिञ्जेल पारिवारिक सम्बन्ध भन्दा माथि सोचेका थिएनन् ।

तर, यही बीचमा रोचक के भयो भने विनोदका बुबाले आफ्नो छोराका लागि केटी हेर्ने जिम्मा आफ्ना मित्र शर्मालाई दिए । विनोदका लागि केटी हेर्ने अभियानमा खटिएका शर्माका साथमा उनकी छोरी लिली पनि थिइन् ।

अर्थात्, लिलीले नै विनोदका लागि धेरै केटीहरु हेर्ने समारोहमा भाग लिइन् । यसले विनोदको बिहे त भएन तर उनीहरुलाई नजिक हुने मौका दियो । विनोदकै शब्दमा अन्ताक्षरी भेटघाटको औपचारिक भेट अनौपचारिक हुँदै गयो ।

चौधरीले आफ्नो आत्मकथामा लेखेका छन् – ‘इन्गेजमेन्ट’ भइसकेको मलाई ती केटीसँग चित्त नबुझ्नुको कारण त लिलीप्रति मनभित्रैबाट पलाएको माया पो रहेछ । यही कारण ६ महिनापछि पूर्वनिर्धारित बिहे नगर्ने अडान लिएका विनोदले बुबाको मन अमिलो पार्ने गरी लिएको भिष्मप्रतिज्ञा नै – ‘बिहे गरे लिलीसँगै गर्छु, नत्र बिहे नै गर्दिनँ’ भन्ने थियो ।

हुन त दुवै परिवार मारवाडी समुदायका । लिलीको परिवार बिहेका लागि राजी नै देखिँदा विनोदका बुबा जात नमिलेका कारण पनि त्यति खुशी थिएनन् । यही कारणले बरु छोरी बनाएर राख्ने तर बिहे हुन नदिने ‘अडान’मा रहेका बुबालाई फकाउन विनोदले राम्रै मेहनत गर्नुपरेको थियो ।

जसमा बुबाको वचनको सवाल जोडिएको थियो भने शर्मा परिवारलाई पनि विश्वास दिलाउनु थियो ।

यी सबैमा उनी सफल रहँदा भइरहेका घटनाबारे लिली स्वयम् भने बेखबर थिइन् । होस्टेलमा भएका कारण विनोदले लिलीलाई आफ्नो भावना व्यक्त गर्न भ्याएका थिएनन् भने परिवारका सदस्यले पनि सुनाएनन् । उनले परिवार नै सिनेमा हेर्न गएको बेला लिलीसँग आफ्नो कुरा राखे ।

‘तपाईँको त अर्की केटी छ रे नि, को हुन् त ?,’ लिलीले विनोदलाई प्रश्न गरिन् ।

‘तिमी ।,’ विनोदले सहजै उत्तर फर्काइदिए ।

तर, त्यतिबेला विनोदलाई यति असहज भइरहेको थियो कि उनले हेरेको फिल्मको नाम र कथा पनि स्मरण गर्न सकेनन् ।

विनोदको यस्तो अनपेक्षित जवाफले लिली रातोपिरो भइन् । विनोदले उनलाई लामो समयदेखि एकतर्फी प्रेम गरिरहेका रहेछन् । त्यतिबेला डर र खुसी मिश्रित लिलीको अनुहारले मौन स्वीकृतिको जनाउ दिएको थियो । सिनेमा हलको त्यो संयोगले उनीहरुको जीवनलाई नयाँ मोड दियो ।

उनीहरुले भारतमा बिहे गरे । पछि बुबा उनीहरुलाई आशीर्वाद दिन दिल्ली नै पुगेका थिए । विनोदलाई पछि मात्रै थाहा भयो – सिनेमा घरको उत्तरले त लिली छक्क नै परेकी रहेछिन् । के भन्या होला है भन्ने लागेको बताउने लिली अहिले सम्झिन्छिन् – ‘मैले त उहाँलाई त्यो नजरबाट हेरेकै थिइनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?