मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

चिठीमार्फत प्रेम व्यक्त गरिने त्यो समय र इन्टरनेटमा ‘डेटिङ’ गरिरहेका अहिलेका युवा

काठमाडौँ– साठीको दशकसम्म युवापुस्तामा प्रेम आदानप्रदान गर्न चिठीपत्र निकै लोकप्रिय थियो । धेरै टाढा टाढासम्म हुलाकमार्फत लामो समय हप्तौँ कुरेर आउने चिठी र त्यसमा लेखिएका शब्दहरुको बेग्लै महत्व थियो ।

नजिकैका हुलाकमा आफ्ना प्रियजनले पठाएका चिठीको खाम खोल्दा हुने उत्सुकता पनि रोचक थियो । अहिले भने त्यो समय अब स्मरणमा मात्र सीमित छ । एकाध औपचारिक पत्रबाहेक अन्य पत्र अचेल हुलाकी बाटो हुँदै आदानप्रदान हुन छोडिसकेका छन् ।

चिठी आदानप्रदान गरेर हुर्केका युवापुस्ताका लागि ती सबै पल अब स्मरण बनिसकेका छन् । त्यही स्मरण बनिसकेको आफ्नो प्रेमकथालाई सुनाउँछन्, बैतडीका नरेश भाट । श्रीमती शिवानी मल्ललाई लेखेको प्रेमपत्र सम्झेर अहिले पनि उनलाई बेग्लै आनन्द लाग्छ ।

त्यो बेला लेखेको उनको प्रेमपत्र यस्तो थियो, ‘प्रिय शिवानी, म जीवनमा पहिलो पटक तिम्रो नाममा प्रेमपत्र लेख्दैछु । मेरा लागि प्रेम आत्मीय बन्धन हो, यो मेरो जीवनलाई तिम्रो प्रेमको बन्धनमा बाध्न चाहन्छु ।’

अध्ययनकै सिलसिलामा नरेशले शिवानीलाई कैलालीमै भेटेका थिए । सँगै पढ्दै गर्दा शिवानी मन परेपछि उनले प्रेमपत्र लेखेर प्रस्ताव गरेका थिए । पत्र लेखेको करीब एक सातापछि शिवानीले उनको प्रस्ताव स्वीकार गरेको खबर आएको उनी सुनाउँछन् ।

त्यतिबेला प्रेम व्यक्त गर्ने एक मात्र माध्यम नै त्यही चिठी पत्र थियो । त्यसमा नरेश सफल भए । चिठी लेखेको रात भने उनी रातभर निदाउन सकेनन् । उनी अहिले स्मरण गर्छन् ।

केही वर्षअघि विवाह बन्धनमा बाँधिएका उनीहरु दुवैजना अहिले छोरो हुर्काइरहेका छन् । अहिले दुवै जना यसैमा खुशी छन् ।

यस्तै काभ्रेकी सुनिता तामाङको भने फरक अनुभूति छ । झण्डै २० वर्षअघितिरको प्रसङ्गलाई उनले सम्झिइन् ।

उनका अनुसार त्यतिबेला उनका गाउँमा पढेलेखेका मानिसहरु न्यून थिए । अलिअलि अक्षर जाने पनि चिठी नै लेख्न भने गाउँका युवापुस्ताहरुलाई गाह्रै विषय थियो । टोलका दाइ र भाइका प्रेमपत्रहरु उनैले लेख्ने र पढ्ने गर्थिन् ।

उनले सुनाइन्, ‘दाइहरुलाई पढ्न लेख्न आउँदैनथ्यो । फोन भर्खरै भर्खरै शहर र पैसा हुनेहरुसँग मात्रै हुन्थ्यो । उहाँहरुले सधैं प्रेमपत्र लेख्न मलाई लगाउनु हुन्थ्यो ।’

त्यतिबेला उनले प्रेमको सुरुवातदेखि विछोडसम्मका चिठीहरु लेखेको बताउँछिन् । अहिले भने चिठीको विकल्पमा भिडियो कल, म्यासेन्जर, ह्वाट्सएप, भाइबर लगायत अनेक सामाजिक सञ्जालहरू प्रयोगकर्ताको हातमा छन् । यसले हुलाक जाने झण्झट त मुक्त गरिदिएको छ नै । चिठीको लोकप्रियता पनि घटाइदिएको छ ।

भर्चुअल संसारमा रमाइरहेका युवापुस्ता

सूचना प्रविधिको पहुँचले अहिलेको युवापुस्ता भर्चुअल संसारमा रमाइरहेका छन् । प्रविधिको विकास हुनुभन्दा अघि मानिसका लागि सूचना तथा आफ्नो भावना व्यक्त गर्ने माध्यम भनेकै गीतसंगीत तथा चिठीपत्र थिए । रेडियोमार्फत पत्रमित्रताका कार्यक्रममार्फत एक ठाउँका व्यक्तिले रेडियो सुनेकै भरमा अर्को ठाउँमा साथी बनाउँथे ।

इन्टरनेट र सूचना प्रविधिको विकासले मानिसहरुको प्रेम व्यक्त गर्ने माध्यम बदलिदिएको छ । प्रेमिल तथा वैवाहिक जोडीहरुका लागि आफ्नो भाव व्यक्त गर्ने माध्यम सामाजिक सञ्जाल भएको छ ।

‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसकै अवसरमा प्रेम सप्ताह चलिरहेको यो समयमा युवापुस्ता सामाजिक सञ्जालमार्फत नै प्रेमभाव व्यक्त गरिरहेका छन् ।

प्रविधिको उच्चतम प्रयोग गर्दै युवापुस्ताहरु भर्चुअल संसारका यी प्रविधिहरुमा आफूलाई सक्रिय बनाइरहेका छन् ।

भर्चुअल कुराकानीको युग

इन्टरनेटको प्रयोग व्यापक हुनुअघि आफू उपस्थित नभई प्रेम व्यक्त गर्ने माध्यमका रुपमा चिठीपत्र मात्रै थिए । तर पछिल्लो समय सञ्चारका आधुनिक माध्यम प्रयोगमा आएसँगै प्रेम व्यक्त गर्ने तौर तरिका पनि फेरिएका छन् । इन्टरनेटका कारण नै ‘लङ डिस्ट्यान्स रिलेसनसिप’ सम्भव भएको छ । त्यसकारण भर्चुअल रूपमा कुराकानी गर्ने, सँगै चलचित्र हेर्ने, गीत सुन्ने जस्ता गतिविधि गरेर जोडीहरूले ‘भ्यालेन्टाइन डे’ लाई थप रोमान्टिक र यादगार बनाइरहेका छन् ।

युवा जोडीहरु अहिले आफ्ना प्रेमी वा प्रेमिकाका लागि चकलेट होस् या फूलको गुच्छा अथवा गरगहना उपहारका लागि अनलाइन शपिङको माध्यमलाई प्रयोग गरिरहेका छन् । प्रणय दिवस सम्बन्धी सामग्रीहरू पसलमा गएर किन्न नसक्नेहरूका लागि र प्रेमी प्रेमिकाबाट टाढा हुनेहरुका लागि यो सुविधा प्रविधिको विकासले जुराइदिएको सुनौलो अवसर पनि हो ।

भर्चुअल रियालिटीका बारेमा त तपाईले सुन्नु नै भएको होला । यो एउटा यस्तो प्रविधि हो, जसले कम्प्युटरमा बनाएका संसार र त्यहाँ रहेका स्थान, परिवेश, दृश्य र पात्रहरूलाई तपाइसँगै भएको जस्तो महसुस गराउँछ । पछिल्लो समय भर्चुअल अनुभव निकै बढेको छ । यसलाई युवाहरुले ‘भ्यालेन्टाइन्स डे’का लागि पनि उपयोग गरिरहेका छन् । यो प्रेमीहरुका लागि अनौठो र यादगार प्रेम बनाउने माध्यम पनि बनेको छ ।

यसका साथै भ्यालेन्टाइन डेको अवसरमा युवाहरुले आफ्नो प्रेम कथामा भर्चुअल रियालिटीमार्फत् प्रेम पत्र पठाउने, स्मार्ट स्पिकरमा रोमान्टिक प्लेलिस्ट शेयर गर्ने पनि गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?