मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

ओ प्रिया ! म तिमीलाई प्रेम गर्दिनँ

सडकको धूलोले शहरलाई फेरि एकपटक घुम्टो ओढाएको छ । मान्छेहरु हतार हतार वासस्थानतर्फ फर्कँदै छन् । सवारी चाप एक तमासले बढिरहेको छ ।

घाम क्षितिजपारि ओत लाग्दैछ । अब एकछिन पछि हेर्दाहेर्दै घाम डुब्नेछ । तर, मान्छेलाई यी कुनै कुराको खास चासो छैन । कारण, आजजस्तै भोलि पनि फेरि घाम उदाउनेछ ।

ओ प्रिया, हाम्रो सम्बन्ध पनि क्षितिज आसपास नै रुमल्लिएको छ ।

भोलि तिमी मेरो जीवनबाट जानेछौ । म दुखी छु, किनकि तिमी फर्केर आउने छैनौ । हालत यस्तो छ कि, न बोल्ने शब्द छन् न कोर्ने कुनै अक्षर ।

बोल्नु लेख्नु पनि औचित्यहीन छ । तिमीलाई याद गरेजस्तो, तिमीमाथि सपना देखेजस्तो अर्थहीन ।

अपराधको अभियोग लागेको व्यक्तिले म निर्दोष छु भनेर बयान दिएझैँ बुझाइको एउटा स्तरमा पुगेपछि र वास्तविकताको धरातलमा उभिएपछि यो स्पष्टीकरण दिन लागेको छु– ‘म तिमीलाई प्रेम गर्दिनँ ।’

कुरा कहाँबाट शुरु गरौँ, बडो अन्यौलमा छु । हाम्रो भेटघाट र अपूरा सपनाको यो सिलसिलाको अर्थ खोज्दैछु । कुनै समय यस्तो थियो, देखेका जति राम्रा र बोलेका जति आफ्ना लाग्थ्यो । सोचाइमा आफ्ना लागेका र जिन्दगीमा आफ्ना नभएकाहरु बारम्बार बदलिरहन्थे हाम्रो देशका प्रधानमन्त्री बदलिएजस्तो ।

जिन्दगीले विभिन्न घुम्तिहरु पार गर्दै अगाडि बढिरह्यो । बाध्यता, सङ्गत, सपना र आदतहरु घडीको सुईसँगै बदलिँदै गए ।

सीमित व्यक्ति मात्रै ठीक हुन् कि भन्ने लाग्न थाल्यो । अरुतिरको आर्कषणको स्तर पनि ओरालो लाग्न थाल्यो । समय बित्दै जाँदा मैले किशोर उमेरलाई बिदाइ गरेर युवा उमेरलाई स्वागत गरेँ । त्यसपछि फेरि सङ्गत, सपना, बाध्यता र बानीहरु परिमार्जित र परिवर्तित भए । सोचाइमा आफ्ना भएका र जिन्दगीमा आफ्ना नभएकाहरु बिस्तारै छुट्दै जान थाले ।

जिन्दगी यस्तो मोडमा उभियो, जहाँ पछुतो भन्दा बाँकी उपलब्धी केही हात लागेन । असफलताले निकै दह्रोसँग थप्पड हान्यो । सारा प्रयासहरु बेकार साबित भए । दिमागभरि प्रगति गरेका साथीहरु नाच्न थाले । आफू र आफ्ना असफल प्रयास साथै केही झिना मसिना उपलब्धीहरु मसँगै साथमा रहे ।

अत्यधिक मेहनत गरेर जिन्दगीमा छलाङ मार्ने अठोटका साथ केही बानीहरू बदलिए ।

जसरी भए पनि यो समयमा केही गर्नुपर्छ भनेर सम्पूर्ण परिस्थतिलाई वेवास्ता गर्दे एकोहोरो आफ्ना कामहरुमा लागिरहेको थिएँ, त्यही समयमा तिमी भेट्टियौ ।

ओ प्रिया,

यति लामो भूमिका बाँधेकोमा माफी चाहन्छु । बताउन विवश थिएँ । तिमीसँग भेट हुनु, हामी एकअर्कासँग परिचित हुनु र फेसबुकमा साथि हुनु एउटा सौभाग्य थियो तर तिमी मेरो दिमागमा बस्नु ठूलो दूर्भाग्य ।

फेसबुकले मलाई एउटा पर्खाइमा बस्न बाध्य बनायो । तिम्रो फोटोमा हरियो थोप्लोको पर्खाइ । समय बित्दै गयो, उतातिर जिन्दगीले आंशिक सफलता पायो र यतातिर हाम्रा गफहरु औपचारिकताका लागि भए पनि हुन थाले । जति गफ हुनुपर्थ्यो, त्यति नभएपनि मलाई सपना सजाउन काफी भए । जति तिमी बोल्दै गयौ, त्यति सपनाहरु चुलिँदै गए ।

जिन्दगीको सबैभन्दा वैरागी बेला कुन हो? एक्लो हुनु ? चिन्तित हुनु? अनावश्यक आरोप लाग्नु ? गोजी रित्तो हुनु वा दिमाग उदेश्यवीहिन हुनु ?

मलाई लाग्छ, जिन्दगीको सबैभन्दा बैरागी बेला हो अनावश्यक सोचाइमा घोत्लिनु । तिमीसँग गफ हुँदै जाँदा मेरो दिमाग किशोर बेलाको स्वभावतिर फर्किन थाल्यो । दिमागभरि सपनाका निकै अग्ला अग्ला महलहरु खडा हुन थाले । जिन्दगी फेरि उत्तानो पर्ने अभ्यासमा अगाडि बढ्न थाल्यो ।

कहाँको छलाङ मार्ने सपना? कहाँको कडा मेहनत? कहाँको उच्च उपलब्धि ? कहाँको करियर ? यो सब मिठो मजाक बनेर मबाट दूर भए ।

कुनै युगल जोडी अंकमाल गरेको देख्दा वा वरिपरिको परिस्थितिलाई पर्दा सम्झेर प्रेम व्यक्त गर्ने बहानामा एक अर्काका ओठ जोडेको देख्दा कहिल्यै तिम्रो याद आएन । घरमा गाउँलेले ‘बा’ लाई अब बुहारी ल्याउने बेला भयो भन्दा, आफन्तले आफै सुरसार गरेको छस् कि हामीले सहयोग गरदिनुपर्छ भन्दा, बिरामी परेर बिस्तारामा पल्टिँदा सधैँ आँखा अगाडि तिमी आइरहन्थ्यौ ।

म मौन बस्थेँ । न तिमीलाई आफ्नो बनाउन सक्ने आधार थियो । न त पराइ भन्न मनले मान्थ्यो ।

तिमी म्यासेन्जरमा बोल्न छोडे पनि मेरो दिमागमा लडिबुडी गर्न छोडिनौ । मेरो मनले अनेकन कल्पनाका महलहरू ठड्याउन थाल्यो तिम्रा नामका । यार, मनलाई त सोचिदिने त हो, न कुनै मूल्य चुकाउनुपर्छ, न त कसैको अनुमति चाहिन्छ ।

कल्पना नै सही, तिमी मेरी प्रेमिकाको भूमिकामा उभियौ । यस्ती प्रेमिका जसले न कुनै दिन शंका गर्‍यो, न पूर्ण विश्वास न कसैसँग गफ ।

कल्पना आफ्नो बाटोमा विकसित हुँदै अगाडि बढ्यो । कल्पना नै सही, तिमी हाम्रो घरकी बुहारी बन्यौ । तिम्रो व्यवहार यस्तो थियो कि, मलाई लोग्ने स्वास्नीको मेलमिलाप हेर्न पनि छिमेकीको घरतिर जानुपर्ने बाध्यता रहेन । बाले गाउँभरि गफ लडाउने मौका पाए ‘छोरो भन्दा ठिक बुहारी छ’ भन्दै ।

कल्पना नै सही, हजुरआमाले मेरोभन्दा पनि तिम्रो बढी माया गर्न थाल्नुभयो । हाम्री छोरी जन्मिई । हुकिई । हाम्री छोरी बाजस्तै समझदार, आमाजस्तै दयालु, हजुरआमा जस्तै मेहनती, तिमीजस्तै असल र म जस्तै गफाडी थिई ।

म यस्ता बकम्फुसे सोचाइ बोकेर कति गल्लीहरु चहारेँ । कतिलाई जागिर लगाइदिनुस् भन्दै हात जोड्दै हिँडेँ । कति धूलो खाँदै यो शहर फन्को मारेँ । कति हिलोमा छ्याप्पिँदै हिँडे । यो सब मलाई मात्र थाहा छ, यदि छन् भने भगवानलाई पनि थाहा छ ।

मष्तिष्क दश बर्षपछिको स्थिति कल्पना गर्न व्यस्त थियो भने जिन्दगी अस्तव्यस्त । मष्तिष्कमा सुन्दर भविष्य भरिएको थियो जिन्दगी रित्तो, सारहीन र शून्य थियो ।

बेकारका सोचाइको डोको बोकेर हिँडिरहेकै समयमा साथिकी प्रेमीकाको बिहे भयो साथीसँग होइन, अर्कैसँग । परिचितको आधारमा औपचारिकताको लागि मलाई पनि फेसबुकको माध्यमबाट सस्तो निम्तो नआएको होइन । तर, म जान जरुरी नलागेर गइनँ ।

पछि थाहा भयो, उनीहरुको दम्पतिको उमेर अन्तर बाह्र बर्ष रहेछ । एउटा सम्पन्न परिवारमा उनको बिहे भएको रहेछ । पहिलोपटक साथप्रति दया जागेर आयो र एउटा ट्वीट गरेँ ।

धनी केटासँग बिहे भएपछिको पहिलो भेटमा पुरानो प्रेमीले सोध्यो– सुनको पिँजडामा बस्दा आनन्दै आएको होला?
‘भोकै उड्न पनि कहाँ सकिन्थ्यो र?’, प्रेमिकाको जवाफ थियो ।

मलाई यो घटनाले ठूलो पाठ सिकायो । तिमी पनि यसरी नै जिन्दगीलाई सुरक्षित अवतरण गर्ने पर्खाईमा छौ । आफ्ना परिवारले लिने हरेक निर्णय आफूअनुकूल नै हुन्छन् ।

प्लस टु पढ्ने उमेर भएको भए र भावनामा बगिने बेला भएको मात्र नत्र तिमी आफ्नै उमेर समुहका जीवनसाथी हुन्छन् भन्नेमा कत्ति पनि विश्वास गदिर्नौ । यस किसिमको सोचाइ विकास हुँदै जादा मष्तिष्क पनि वास्तविक धरातलमा पछारियो र कल्पनाको पहाडमा पहिरो गयो ।

दिमागमा अनेक कुराहरु खेलाउनु र बेकारका सोचाइमा समय बर्वाद गर्नु एउटा आदत बसिसकेको थियो मलाई । दिमागले तिम्रो दशक उमेर अन्तरको दम्पति र छोरी कल्पना गर्न थाल्यो ।

कल्पना नै सही, घाम डाँडाबाट बिदाइका हात हल्लाउँदै थिए । हर मान्छे दिमागमा निराश बोकेर हातमा केही पोकाहरुका साथ वासस्थानतर्फ फर्कँदै थिए ।

त्यही समयमा तिमीसँग नसोचेको भेट भयो । तिम्रो उदारता अझै उस्तै रहेछ । तिमी छोरीको हात समाउँदै हावा खान निस्किएकी थियौ ।

ओझा सर ?

ओहो मिस आराम हुनुहुन्छ । बाँचेपछि यसरी भेट पनि हुँदोरहेछ । कता हिड्नुभयो मिस?

यसो हावा खाना निस्केकी ।

ए आफ्नो जिन्दगीले सधै हावा खाइराछ ।

अनि के छ खबर?

ठिकै छ ।

कहिले आउनुभयो?

गएको कहाँ छु र? यी तिम्री छोरी हैनन् ?

हो । कसरी चिन्नुभयो म जस्तै देखिएर ?

हैन । तिमी भन्दा राम्री छिन् । फेसबुकमा दिनदिनै फोटो अपलोड गर्छौ नि । यस्तो लाग्छ, कस्सम तिमीले फेसबूकमा तस्वीर शेयर गर्नका लागि छोरी जन्माएकी हौ ।

पछि आफ्ना भएपछि थाहा पाउनुहुन्छ । किन पाउँदा रेछन् ।

एउटा कुरा भनौँ ?

के ?

छोरी धेरै राम्री रैछिन् । खासमा केटाकेटी बेलामा म पनि यस्तै राम्रो थिएँ ।

अहिले पनि हेन्डसम नै हुनुहुन्छ ।

मजाक नगर न ।

शुरु कसले गरेको हो र?

ए ए, भन छोरीलाई के किन्दिऊँ ?

केही पर्दैन ।

छोरी डेरी मिल्क खाने?

अँ ! भन्दै छोरीले टाउको हल्लाइन् ।

बिग खाने कि स्माल ?

बिग

स्माल खाँदा हुँदैन?

नाइँ ! बिग डेरी मिल्क खाने, बिग डेरी मिल्क खाने ।

ल ल । बिग डेरी मेल्क नै किन्दिन्छु । तिमी त निकै समझदार थियौ । छोरी त घमण्डी होलिन् जस्तो छ ।

यसको बाबा नि घमण्डी हुनुहुन्छ ।

श्रीमानको दोष नदेख्ने श्रीमती त कहाँ हुन्छन् र?

यसको बाबा साँच्चिकै घमण्डी हुनुहुन्छ ।

बुढा घमण्डी परेर त केही हुँदैन ट्वाँकेन्द्र पर्नु हुँदैन ।

यसो भन्दा तिमी आँखाभरी आशु भरेर ‘हामी जान्छौँ’ भनेर हिँड्न लाग्यौ । मैले त तिमी नजिकको

साथी सोचेर भनेको हो । लामो समयपछि पुराना साथिहरु भेटिदा बहुत खुसि ला’छ ।

पख छोरीलाई डेरी मिल्क किन्दिछु । अनी जाउली ।

पर्दैन । यसले रातभरी खोकेकी छे । अहिले अल्ली हतार छ । हामी गयौँ है ।

यत्त्ति भनेर तिमी गयौ ।

ओइ मोर्लास् । बाटो हेरेर हिँड् ।

सहचालकले यसो भनेपछि म झस्याङ्ग भए । दिमागमा पनि के के कुराहरु खेल्छन् । शायद अबको दश बर्षपछिको जिन्दगी यतै कतै घुम्ला ।

खासमा जे भन्ने उदेश्यले यो ब्लग शुरु गरिएको थियो, त्यो भनेकै छैन । दिमागमा खेलेका पूर्व दृश्यको सानो अंश मात्र बताएको हुँ । म आजकाल साँचो बोल्नमा बहुत आनन्द महसुस गर्छु ।

हो, म तिमिलाई प्रेम गर्दिनँ, चाहन्छु मात्र । एउटा अर्थहीन चाहना । खासमा मलाई प्रेमको परिभाषा पनि थाहा छैन ।

अहिले लाग्छ, मैले तिमीलाई प्रेम गरेको नभई तिमिबाट प्रभावित भएको हुँ । हामी समान उदेश्य बोकेर हिँडेकाबीच परिचय हुनु स्वभाविक हो र एउटा परिचितको जगमा फगत सोचाइहरुमा फस्नु ठूलो बिडम्बना हो ।

तिमीप्रति मेरो प्रेमभन्दा पनि लोभ रहेछ । दुनियाँ जसलाई प्रेम भन्छ, त्यो मलाई स्वार्थ पूरा गर्ने पुलभन्दा बढी केही लाग्दैन ।

मलाई राम्रोसँग थाहा छ । हाम्रो सम्बन्ध केवल परिचित मात्र हो यस्तो परिचित, जहाँ एक अर्काको नाम भन्दा बढ्दा केही थाहा छैन । यस्तो परिचित, जो आँखा अगाडि होस् वा अनलाइनमा जहाँ भेट हुँदा पनि हामी एक अर्कासँग बोल्न र बोलाउन जरुरी देख्दैनन् ।

यस्तो कमजोर सम्बन्धको धरातलमा उभिएका सपनाहरु पूरा हुने कुरै भएन । तर पनि म दुखी छैन । किनकि तिमीलाई चिनेर मैले गुमाएको केही छैन । शायदै भेटिन्छन् तिमी जस्ता साथीहरु । यत्ति चाहिँ मलाई थाहा छ ।

खासमा तिमी मेरो जिवनसाथीको मापदण्ड बन्यौ । जस्तो केही व्यापार गर्ने सोच बनाएको मान्छेले निकै चल्ने पसल देखेपछि सोच्छ, यत्तिको पसल चलाउन पाए हुन्थ्यो । यसको मतलब यो होइन कि, यहि पसल मेरो हुनुपर्छ र अहिलेबाटै म सामान बेच्न शुरु गर्छु ।

कोही घर बनाउने तयारीमा भएको व्यक्तिले कुनै घर मन परेपछि भन्छ– यस्तै घर बनाउन पाए । यसको मतलब यो होइन कि, यो घर मेरो हुनुपर्छ । त्यस्तै मापदण्ड बन्यौ तिमी मेरो जीवनको ।

र, अन्त्यमा तिमी र तिम्रो उदार स्वभावलाई सलाम । मजस्ता कतिले तिमीमाथि सपनामा सजाए होलान् । तर, तिमी अरु कोहीसँग समाहित हुनेछौ । त्यतिबेला पनि मलाई खुशी नै लाग्नेछ । किनकि, म तिमीलाई प्रेम गर्दिनँ तर तिम्रो कल्पनामा हराइरहने छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?