मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भ्यालेन्टाइन विक स्पेशल

बेलायती प्रधानमन्त्री ऋषि सुनक र अक्षता मूर्तिको रोचक प्रेम कथा : अमेरिकामा डेटिङ, भारतमा बिहे

‘विदाको समयमा वेटरको काम गर्थे, समय हुँदा अक्षतालाई साथ दिन्थे’

काठमाडौँ– भारतीय मूलका बेलायती प्रधानमन्त्री ऋषि सुनक र उनकी श्रीमती अक्षता मूर्ति लण्डनमा बस्छन् । उनीहरुको युगल जोडीको नेपालमा समेत चर्चा गर्ने गरिन्छ । किनकि, ऋषि सुनक भारतीय मूलका पहिलो व्यक्ति हुन्, जो बेलायतको प्रधानमन्त्री भएका छन् ।

भारतीय मूलका भएका कारण ऋषि र अक्षताको प्रेम सम्बन्ध भारतबाट नै शुरु भएको भन्ने धेरैलाई लाग्न सक्छ । तर, यी दुईको प्रेम न भारतबाट भएको थियो । न त लण्डनमा नै ।

ऋषि र अक्षताको भेट पहिलोपटक संयुक्त राज्य अमेरिकामा भएको थियो । अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्दापढ्दै दुवै जना प्रेममा परेका थिए ।

रोचक कुरा त के छ भने, सन् २००९ मा लगनगाँठो कसेका यो जोडीको उमेर अन्तर केबल १७ दिनको छ । अक्षता २५ मे १९८० मा जन्मेकी हुन् भने ऋषि सन् १९८० अप्रिल १२ मा जन्मेका हुन् । यसअनुसार उमेरमा ऋषिभन्दा अक्षता १७ दिनले जेठी हुन् ।

भारतमा जन्मेकी अक्षता र बेलायतमा भारतीय मूलको परिवारमा जन्मेका ऋषिको प्रेम सम्बन्ध अमेरिकामा कसरी शुरु भयो त ? यो जोडीको प्रेम सम्बन्ध थुप्रै रोचक किस्साहरुले भरिएको छ ।

ऋषि सुनक भारतीय मूलको परिवारमा बेलायतको साउथह्याम्पटनमा जन्मेका थिए । उनका बाबुपट्टीका हजुरबुबा बेलायतको शासन हुँदा वर्तमान पाकिस्तानको गुजरनवाला र आमापट्टीका हजुरबुबा लुदियानाका बासिन्दा थिए । उनका पिता यश्वीर सुनक बेलायती शासन रहेको केन्यामा जन्मेका थिए । उनकी आमा भने अफ्रिकाकै तान्गिान्याका (वर्तमान तान्जिानिया) मा जन्मेकी थिइन् ।

उनले रोम्सेमा रहेको प्राथमिक स्कुलबाट अध्ययन शुरु गरेका थिए । पछि विन्चेस्टर कलेजमा भर्ना भए । विदाको समयमा उनले साउथह्याम्पटन मै वेटरको काम पनि गर्ने गरेका थिए । त्यसपछि अक्सफोर्डस्थित लिंकन कलेजमा दर्शनशास्त्र, राजनीति तथा अर्थशास्त्र अध्ययन गर्न भर्ना भए ।

सन् २००१ मा उनी त्यहाँबाट ग्राजुएट भए । सुनक पहिलेदेखि नै राजनीतितर्फ आकर्षित थिए । लिंकन कलेजबाट ग्राजुएट भएसँगै उनी कन्जरभेटिभ पार्टीको राजनीतिक अभियानमा जोडिन पुगे ।

यस्तै बेलामा उनले अमेरिका गएर अध्ययन गर्नका लागि फुल्ब्राइट छात्रवृत्ति पाए । फुल्ब्राइट छात्रवृत्ति पाएपछि उनी पनि एमबीए पढ्नका लागि स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भए ।

उता, अक्षता भने दक्षिण भारतीय राज्य कर्नाटकको हुबलीमा जन्मेकी हुन् । उनका बुबा एन आर नारायण मूर्तिले अक्षता जन्मेको एक वर्षपछि केही साझेदारहरुसँग मिलेर इन्फोसिस कम्पनी खोलेका थिए । हाल इन्फोसिस टाटापछि भारतकै दोस्रो ठूलो आईटी कम्पनीका रुपमा विकास भएको छ भने यस कम्पनीले विश्वका ३ लाख ४३ हजारभन्दा धेरैलाई प्रत्यक्ष रोजगारी पनि दिँदै आएको छ ।

सम्पन्न परिवारमा जन्मेको भए पनि अक्षताका बाबुले अक्षतालाई हजुरबुबाको संरक्षणमा राखेका थिए । हुबलीमा जन्मेको केबल दुई महिनापछि अक्षतालाई परिवारले मुम्बई लगेका थिए । तर, भर्खरै जन्मेकी छोरीको हेरचाह र पालनपोषण गर्न अप्ठेरो पर्ने देखेपछि पुनः हुबली नै पठाइदिएका थिए ।

अक्षता सानैदेखि पढाइमा ध्यान दिन्थिन् । त्यही भएर उनको पढाइ नबिग्रियोस् भनेर उनी बस्ने घरमा टेलिभिजन पनि राखिएको थिएन । पछि उनको परिवार बैंगलोर सिफ्ट भयो र उनी त्यहीँको बल्डविन गर्ल्स हाइस्कुलमा भर्ना भइन् ।

हाइस्कुलको पढाइ सकेर उनी अमेरिका गइन् । शुरुमा फ्रेन्च र अर्थशास्त्र पढ्न उनी क्यालिफोर्निया राज्यको क्लेरमोन्टमा रहेको क्लेरमोन्ट म्याकेना कलेजमा भनाइ भइन् । सन् २००२ मा त्यस कलेजबाट ग्राजुएट भइसकेपछि उनी एमबीए पढ्न स्ट्यानफोर्ड विश्वविद्यालयमा भर्ना भएकी थिइन् । यसरी स्ट्यानफोर्ड विश्वविद्यालयले दुवै जनाको भेट गर्ने मौका जुराइदियो ।

शुरुवाती भेटमै दुवै जनाबीच ‘केही रहेको’ आफूले महसुस गरेको ऋषि सुनाउँछन् । पियर्स मोर्गनसँगको कुराकानीमा प्रधानमन्त्री ऋषि सुनकले आफ्नो प्रेम सम्बन्ध र विवाहको रोचक किस्सा सुनाएका छन् । एक पटक अक्षतासँग समय बिताउनका लागि आफूले पढ्दै नपढ्ने विषयको पनि क्लास लिएका ऋषि बताउँछन् ।

‘मैले त्यो क्लास लिइरहनुपर्ने आवश्यक थिएन । तर उनको छेउमा बस्नकै लागि मैले लिएँ ।’ सन्डे टाइम्सलाई दिएको अन्तरवार्तामा ऋषिले भनेका छन् ।

मोर्गनलाई दिएको अन्तरवार्तामा उनले आफूहरु स्ट्यानर्फोडदेखि नजिकै पर्ने हाफ मुन बेमा सँगै पैदल हिँड्दा प्रेम प्रस्ताव राखेको सुनाएका छन् । सुनक हाफ मुन बेमा रहेको एउटा विलासी होटेल छेउ ‘क्लिफ वाक’ गर्दा आफूले अक्षतालाई विवाहको प्रस्ताव गरेको बताउँछन् । त्यहाँ हिँड्दै गर्दा ऋषिले एउटा घुँडा टेकेर अक्षतालाई प्रस्ताव राखेका थिए । उनीहरुले त्यहीँको होटेलमा इङ्गेजमेन्ट पनि गरेका थिए ।

‘हामीले हाफ मुन बे भन्ने ठाउँमा इङ्गेजमेन्ट गरेका हौँ,’ पिसर्य मोर्गनसँगको कुराकानीमा ऋषिले भनेका छन्, ‘त्यहाँ एउटा विलासी होटेल पनि थियो, हाम्रो विद्यार्थी जीवनमा त्यहाँ हामीले बस्न सक्दैनथ्यौँ ।’

‘त्यसपछि मैले उनलाई सरप्राइज दिएँ र हामी त्यहीँ बस्यौँ तर त्यसअघि हामीले क्लिफमा लामो यात्रा गरेका थियौँ र मैले उनलाई त्यहीँ प्रस्ताव राखेको थिएँ,’ उनले भनेका छन् ।

सन् २००९ मा उनीहरुले बैंगलोरस्थित लीला प्यालेस होटेलमा विवाह गरेका थिए । तीनदिने विवाह समारोहमा दुवै जनाको परिवारका निकट सदस्यहरुको मात्रै सहभागिता थियो । तर, विवाह समारोह लामो र बोरिङ भए पनि अमेरिकाको न्यूयोर्कमा राखिएको भोज भने धुमधामसँग नै गरिएको थियो । उनीहरुको विवाहमा राजनीतिक दलका नेता, धनाढ्य अर्बपति, खेलकुदका हस्ती र अरु गन्नेमान्ने मानिसहरु भेला भएका थिए ।

यो दम्पत्तिले सन् २०११ मा कृष्णा र सन् २०१४ मा अनुष्काका रुपमा दुई जना सन्तान जन्माएका छन् । आफूले छोराछोरीलाई पनि प्रशस्तै समय दिएको ऋषि सुनाउँछन् ।

‘जब उनीहरु जन्मे, त्यसबेला मैले केही साथीहरूसँग मिलेर व्यवसाय थालेको थिएँ । तर, मसँग समयको नियन्त्रण थियो र म उनीहरुसँगै हुन्थेँ,’ सन्डे टाइम्ससँग उनले भनेका छन् ।

ऋषिले अक्षताबाट आफू निकै नै प्रभावित भएको र उनले आफूलाई सधैँ नै सहयोग गर्ने गरेको बताउँदै आएका छन् ।

‘उनको माया र सहयोगबिना म आफ्नो काम गर्नै सक्दिनँ,’ पियर्स मोर्गनलाई उनी सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?