काठमाडौँ– कवि तथा कथाकार बिना थिङ र उनका श्रीमान् मनकुमार तामाङ वैवाहिक जीवनमा बाँधिएको आज २८ वर्ष पुगेको छ । आफ्नो ‘एनिभर्सरी’ पनि ‘भ्यालेन्टाइन विक’ मै पर्ने भएर होला, उनलाई प्रणय दिवस विशेष लाग्छ । उनलाई लाग्छ, मानव जाति जति सचेत र उत्कृष्ट प्राणी भनिए पनि प्रेमविनाको जीवन मृत शरीर जस्तै हो ।
‘मान्छेका लागि प्रेम पहिलो सत्य हो । हरेक जीवनहरु प्रेमबाट नै सिर्जना भएका छन्,’ कथाकार थिङ भन्छिन् ।
प्रेमलाई जीवनको सिर्जनाका रुपमा लिने थिङले त्यसलाई आफ्ना सिर्जनामा सिंगारेकी छिन् । कहीँ कविता त कहीँ कथाका गोरेटाहरुमा उनका प्रेमिल भावहरु पोखिएका छन् । ती भावहरुमा आफ्नो प्रेम र आफूलाई खोतल्दा भने उनी टक्क अडिन खोज्छिन् अनि फेरि २८ औं वर्षमा दौडिरहेको आफ्नो वैवाहिक जीवनलाई नियाल्न पुग्छिन् ।
यस मानेमा भनौं, यो समयले मान्दै आएको प्रेम र अनुभवका किस्साहरू उनीसँगै छैनन् । उनका सिर्जनाका अनेक पात्रहरुले गरेका प्रेमका अनभूतिहरुमै उनका प्रेमका आयामहरु छरिएका छन् ।
‘उसो भए प्रेम र यसको अनुभूति नै भएन र?’ भन्ने जोय नेपालको प्रश्नमा उनले हाँस्दै सुनाइन्, ‘स्कुल पढ्दा आफूसँगैका सहपाठी केटा साथीहरुसँग बोल्न मन लाग्ने, सँगै बेन्चमा बसुँ झै लाग्ने खालको प्रेम त भयो । तर केटा र केटी या जोडीका रुपमा हुने खालको प्रेम भएन । त्यो खालको दुई जना बीचमा महसुस गर्ने प्रेम त बिहेपछि श्रीमानसँग भयो ।’
श्रीमानसँग हुने प्रेमलाई प्रेमकै रुपमा परिभाषित गर्न उनलाई लामो समय लाग्यो । प्रेम र यसको अनुभूति गर्ने उमेरको च्याप्टरमै उनको भागमा पत्नी, बुहारी हुँदै आमाको भूमिकाहरु आइपरे । त्यसपछि उनको प्रेमको संसारमा जिम्मेवारीहरुले उकालो चढे ।
त्यही उकालोको ठाडो यात्रामा बल्ल उनले प्रेमको अनुभूति गरिन् । १५ वर्षकै उमेरमा हेटौंडाबाट काठमाडौंको बुढानीलकण्ठ, नारानथानमा उनी २०५२ सालमा बुहारीको रुपमा भित्रिइन् । त्यस लगत्तै आमा बनिन् । फरक घर, परिवेश, फरक जीवनको अध्यायमा उनले पतिप्रेम भन्दा पनि जिम्मेवारीका ठूला–ठूला शिवपुरी जस्तै डाँडाका पहाडहरु देखिन् । मात्र उनी त्यही पहाड चढ्ने कोसिस गरिरहिन्, उनको त्यही कोसिसमा छाया बनेर उभिन आए श्रीमान्, मनकुमार तामाङ ।
दुवै मिलेर छोराछोरी हुर्काउने प्रयास गरे । छोराछोरीको हात समाउँदै दुवैले उभिन सिकाए । दुवैले आफ्नो सन्तानका लागि उज्यालो संसार देखाउन मिलेरै दैलो उघारे, झ्यालको पर्दा खोले अनि तिनिहरुका आवश्कता पूरा गर्न मिलेरै पाखुरा बजारे । यही क्रममा दुवैको टाउको ठोकिन पुगे, हातहरु जोडिए र आँखाहरु जुधे । यही क्रम सिलसिलाबद्ध हुँदै प्रेममा बदलियो ।
बिनाका लागि ‘म तिमीलाई प्रेम गर्छु’ भन्नु मात्र प्रेम होइन । उनी भन्छिन्, ‘श्रीमानसँग मेरो प्रेम थाहा नपाइ नै भयो । जुन कुरा हामी दुवैले भनेनौं । उहाँले मलाई सपोर्ट गरे हुने या केही कुरा किनेर गिफ्ट गरे हुने भन्ने मनमा लाग्दो रहेछ । उहाँले मैले सोचेजस्तो गरिदिँदा पनि खुसी लाग्छ । वास्तवमा यही नै प्रेम रहेछ भन्ने अहिले लाग्छ ।’
दुवैको प्रेममा उनीहरुका सन्तान केन्द्रविन्दुमा थिए । उनीहरु दुवै बच्चालाई प्रेम गर्दागर्दै एक–अर्काका निम्ति समर्पित भए ।
बिनालाई लाग्छ, मान्छेको जीवनमा प्रेम भन्ने चीज चरणबद्ध रुपमा जाने रहेछ । बाल्यकाल, किशोरावस्था, वैवाहिक जीवनको विभिन्न समयमा महसुस गरिने प्रेम र यसप्रति राखिने आशाहरु फरक– फरक छन् । अहिले श्रीमान् प्रतिको उनको प्रेमलाई उनी सहाराका रुपमा लिन्छिन् ।
छोराछोरी हुर्केर आफ्नै संसारमा रमाइरहेका छन् । उनका लागि दुवैबीच भएको प्रेम भनेको एक–अर्काका लागि सहारा हो । कुनै समयमा उनका लागि यही प्रेम वैवाहिक बन्धन, समाज र सन्तानका लागि स्वीकार्य पनि थियो ।
अहिले उनका श्रीमान् मनकुमार वैदेशिक रोजगारीकै क्रममा देशबाहिर छन् । एक दशकभन्दा लामो समयदेखि उनीहरु अलग भूगोलमा छन् । यतिबेला उनी कहिलेकाहीँ रित्तो भएको पनि महसुस गर्छिन् । फेरि भविष्यको मीठो आशाले उनको रिक्तता तुरुन्तै भरिदिन्छ ।
‘भोलि त यसै हामी सँगै हुनेछौं’ भन्ने कल्पनाले उनको मन फुरुङ्ग हुन्छ । आ–आफ्नो ठाउँमा बसेर आफ्नै तरिकाले खुसी भएर बाँच्ने स्वतन्त्रता दुवैले एक–अर्कालाई छोडिदिएका छन् ।
बिनाको परिभाषामा माया र सम्बन्ध भनेको विश्वास पनि हो । यदि कुनै पनि प्रेम र सम्बन्धमा ‘विश्वास’ छैन भने त्यसलाई लामो यात्रासम्म लैजान कठिन हुन्छ । उनका अनुसार सम्बन्धमा कहिलेकाहीँ व्यवस्थापनकै पक्षमा ठाकठुक पर्नु, द्वन्द्व हुनु अलग पाटाहरु हुन् । त्यही कारणले प्रेम र जीवनलाई अगाडि बढाउनै सकस हुन्छ भने त्यो राम्रो होइन । यसले दुवैलाई हानी पुर्याउन सक्छ ।
सम्बन्धमा कतिपय शर्तमा प्रेम खोजी पनि हो । त्यही खोजाइकै क्रममा पनि प्रेमको लम्बाइ तन्किन सक्छ । उनको बुझाइमा यसको शर्त दुवैमा लागू हुन जरुरी छ ।
उनी भन्छिन्, ‘कुनै पनि सम्बन्धमा कुण्ठा पालेर या दुःखी भएर बसिरहन जरुरी नै छैन । त्यसलाई टुङ्ग्याइदिएर पूर्णविराम लगाउनु नै बेस हुन्छ ।’
जीवनको बाँकी यात्रामा अर्काे व्यक्ति छनोट गर्नु या नगर्नुमा त्यो व्यक्तिगत स्वतन्त्रताका पक्षहरु हुन् । तर प्रेममा भरोसाको आधारस्तम्भ हुनुपर्ने उनको मान्यता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया