काठमाडौँ– नेपाली सिने क्षेत्रमा प्रेम, रोमान्स र विवाहको चर्चा भइरहन्छ । अझ पछिल्लो समय त सेलीब्रेटीका विवाहको विषयले राम्रै चर्चा पाउँछन् ।
सिने उद्योगमा सँगसँगै सहकार्य गर्दागर्दै विवाह बन्धनमा बाँधिएका थुप्रै जोडीहरु छन् । ती जोडीमध्ये कुनैले हालसम्म पनि फिल्मी क्षेत्रमा आफूलाई जमाइराखेका छन् भने कुनै जोडीहरु पलायन भइसकेका छन् ।
भ्यालेन्टटाइन विक स्पेशलमा आज हामी तपाईँलाई चर्चित १० जोडीहरुबारे जानकारी गराउँछौं । जुन जोडीहरुलाई सिनेमा क्षेत्रदेखि आम दर्शकले निकै रुचाएका छन् ।
कृष्ण मल्ल र शर्मिला मल्ल
कलाकारिता क्षेत्रमा अभिनयको सिलसिलामा नजिकिएका कृष्ण र शर्मिला मल्लले २०४१ सालमा बिहे गरेका थिए । नाटक र फिल्मकै क्रममा उनीहरु नजिक भएका थिए ।
फिल्म ‘वासुदेव’मा सँगै देखिएका उनीहरु त्यसबाट झन् नजिक भएका थिए । उनीहरुले ‘माया प्रीति’, ‘बादल’ लगायतका फिल्ममा एकसाथ काम गरेका छन् ।
करिश्मा मानन्धर र विनोद मानन्धर
अभिनेत्री करिश्मा मानन्धर र निर्माता एवम् अभिनेता विनोद मानन्धरको जोडीलाई फिल्मी क्षेत्रमा एक आदर्श र उदाहरणीय जोडीका रुपमा लिइन्छ ।
फिल्म ‘सन्तान’बाट रजतपटमा डेब्यु गरेकी बुनु केसी पछि करिश्मा बनिन् । त्यसपछि फिल्म ‘कस्तुरी’का क्रममा सोही फिल्मका निर्माता विनोदसँग नजिक भएपछि उनीहरुले बिहे गरे ।
निखिल उप्रेती र सञ्चिता लुइँटेल
नेपाली फिल्मी क्षेत्रमा निकै चर्चा कमाएको जोडीमध्ये एक हो, निखिल उप्रेती र संचिता लुइटेल । फिल्म ‘माया त माया हो’ हो मा एकसाथ काम गर्दा नजिएका उनीहरु विवाहपछि मुम्बईतिर हिँडेका थिए । मुम्बइबाट फर्किएपछि दुवैजना फिल्ममा नै व्यस्त भए ।
झरना थापा सुनिल कुमार थापा
झरना थापा र सुनिल कुमार थापालाई नेपाली फिल्मी क्षेत्रमा निकै सफल जोडीका रुपमा लिइन्छ । अभिनेत्रीका रुपमा आफूलाई उभ्याएकी झरनाले ‘ए मेरो हजुर २’ बाट निर्देशकको दर्जा दिइन् ।
यी दुईले छोरी सुहानालाई समेत फिल्म क्षेत्रमा ल्याएका छन् । झरनाको निर्देशन र सुनिलको निर्माणमा बनेको फिल्म ‘ए मेरो हजुर’ को सिरिज र पछिल्लो फिल्म ‘एक भगवत् एक गीता(सामाजिक कथा) हुन् ।
निश्चल बस्नेत र स्वस्तिमा खड्का
फिल्मी क्षेत्रमा निश्चल बस्नेत र स्वस्तिमा खड्का पछिल्लो समयका व्यवसाय र पारिवारिक मामिलामा निकै सफल जोडी हुन् । उनीहरुले २०७२ सालमा बिहे गरेका थिए ।
स्वस्तिमा अभिनयमा छिन् भने निश्चल लेखन तथा निर्देशनसँगै अभिनयमा पनि देखिएका छन् । मोडलिङबाट फिल्म ‘होस्टल रिटन्स’बाट डेब्यू गरेकी स्वस्तिमा हाल फिल्मसँगै म्युजिक भिडियोमा समेत व्यस्त छिन् ।
आयुष्मान देशराज जोशी र प्रियंका कार्की
आयुष्मान देशराज जोशी र प्रियंका कार्कीलाई फिल्मी क्षेत्रका निकै रोमान्टिक जोडीका रुपमा लिइन्छ । यी दुईले २०७६ सालमा धुमधामका साथ बिहे गरेका थिए । यी दुईले फिल्म ‘चीँ मुसी चीँ’, ‘प्रेम दिवस’ मा सँगै काम गरेका छन् ।
वर्षा राउत र सञ्जोग कोइराला
फिल्म ‘सरी ल’ का अडिसनको क्रममा भेट भएका वर्षा राउत र संजोग कोइरालाले २०७५ सालमा बिहे गरेका थिए । उनीहरुले पहिलो पटक एकसाथ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा सँगै काम गरेका थिए ।
हाल सञ्जोग आफ्नो व्यवसाय र वर्षा फिल्मसँगै म्युजिक भिडियोमा व्यस्त छिन् । ‘नाई नभन्नु ल ३’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी वर्षा अभिनित पछिल्लो फिल्म ‘महाजात्रा’ रिलिजको पर्खाइमा छ ।
दीपिका प्रसाई र दिवाकर भट्टराई
फिल्म ‘ऐश्वर्य’ बाट दिपिकाले डेब्यु गरेकी थिइन् । फिल्मका निर्देशक थिए दिवाकर । सो फिल्म रिलिजसँगै उनीहरुको प्रेमको चर्चा चलेको थियो । यी दुईले २०७६ मा बिहे गरेका थिए ।
जीवन भट्टराई र लक्ष्मी बर्देवा
जीवन भट्टराई र लक्ष्मी बर्देवा फिल्मी क्षेत्रका निकै लोकप्रिय जोडी हुन् । अन्तरजातीय प्रेम सम्बन्ध र विवाहको सन्दर्भमा यी दुईलाई सधैं उदाहरणका रुपमा लिइन्छ । नाट्य क्षेत्रबाट नजिकिएका लक्ष्मी जीवनले २०७५ सालमा बिहे गरेका थिए । दुवैजना अहिले फिल्म र म्युजिक भिडियोमा व्यस्त छन् ।
‘जेल पनि सहुँला’ बोलको गीतमा यी दुवैको अभिनय छ । यसलाई दर्शकले निकै रुचाएका थिए । साथै यी दुईको अभिनय रहेको म्युजिक भिडियो ‘शिरफूल’ ले पनि राम्रो चर्चा बटुलेको थियो ।
सुरक्षा पन्त र मानव सुवेदी
सुरक्षा पन्त र मानव सुवेदीले केही वर्षको प्रेम सम्बन्धलाई गत वर्षको फागुनमा विवाहमा परिणत गरेका थिए । मानवले फिल्म ‘अन्तराल’ र सुरक्षाले ‘अझै पनि’बाट फिल्ममा डेब्यु गरेकी थिइन् ।
यी जोडीहरु बाहेक ऋचा घिमिरे र शंकर घिमिरे, मेलिना मानन्धर र मुकेश ढकाल, रेनशा राई र प्रज्जवल शमशेर जबरा लगायतका जोडीहरुले फिल्मी क्षेत्रमा काम गर्ने क्रममा बिहे गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया