काठमाडौँ– अन्तर्राष्ट्रिय ख्यातिप्राप्त फेसन डिजाइनर क्रिस्टिना विटोरिया एगर नेपाल आएकी छन् । विश्वप्रसिद्ध ब्रान्ड भर्साचेका डिजाइनर हेडसमेत रहेकी क्रिस्टिना मंगलबार काठमाडौँ उत्रिएकी हुन् ।
नेपालको प्रसिद्ध क्लोदिङ ब्रान्ड ‘कासा’ले क्रिस्टिनालाई नेपाल ल्याएको हो । उनी फेब्रुअरी १ बाट सञ्चालनमा आएको वर्णवास म्युजियम होटलमा ‘पहिलो पाहुना’का रुपमा रहनेछिन् ।
वर्णवास म्युजियम होटल पर्यटन व्यवसायी तथा गोर्खा नेपाली कांग्रेसका सांसद् राजेन्द्र बजगाँईको हो । गोरखा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद् बजगाँई सो क्षेत्रमा विपतमा परेका नागरिकको हेलिकोप्टरमार्फत उद्दार गर्ने भएकाले ‘आपतकालका साथी’का रुपमा चर्चित छन् ।
कासाले बुधबार र बिहीबार फेसन डिजाइनसम्बन्धी विशेष कार्यशाला आयोजना गरेको छ । सोही कार्यशालामा मुख्य आकर्षणका रुपमा कासाले विश्वप्रसिद्ध फेसन डिजाइनर क्रिस्टिना विटोरिया एगरलाई आमन्त्रण गरेको हो ।
इटालियन फेसन डिजाइनर क्रिस्टिनाले नेपाल आएसँगै वर्णवास म्युजियम होटलमा गरिएको स्वागत एवम् सत्कारलाई आफ्नो इन्स्टाग्राममा ‘न्यानो आतिथ्यका लागि धन्यवाद’ भन्दै पोस्ट गरेकी छिन् । होटलमा उनलाई पञ्चेबाजासहित उनलाई स्वागत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया