मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

दीर्घरोगी बिरामीलाई चिसोमा हातखुट्टाका औँला सुनिने समस्या जोखिमपूर्ण हुन सक्छ

जोयनेपाल
572
Shares
फोटो– एनटीभी प्लस


काठमाडौँ– चिसो मौसममा कतिपयमा हातखुट्टाका औँलाहरू सुन्निने समस्या हुन्छ । अझ कतिको त ‌‍औँलाहरू रातो भएर चिलाउने र पोल्ने समस्या पनि हुन्छ । चिसो मौसम शुरु भएसँगै यस्तो समस्या सबैमा आउँछ भन्ने नभए पनि अधिकांशमा यस्तो समस्या देखिने गरेको पाइन्छ ।

अझ बाथ रोगका बिरामीमा यो खालको समस्या झनै देखिन्छ । बाथ रोगका बिरामीका हकमा हातखुट्टाका औँलाहरुसँग जोर्नीहरु सुनिने समस्या हुने छाला रोग विशेषज्ञ डाक्टर रविन्द्र पौडेल बताउँछन् ।

यसै विषय वरिपरि रहेर डा. रविन्द्र पौडेलसँग जोय नेपालका लागि सुस्मिता फुँयालले लिएको अन्तर्वार्ता:

चिसो मौसममा हातखुट्टाहरु पनि सुन्निने हुन्छ?
जाडोयाममा मौसम निकै चिसो हुन्छ । चिसो मौसममा कोठाभित्र र कोठा बाहिरको मौसममा निकै अन्तर हुन्छ । बन्द तातो कोठामा बसिरहेको अवस्थामा बाहिर निस्किँदा एक्कासी तातोबाट चिसो वातावरणमा घुलमिल हुने हुँदा छालामा असर पर्छ । त्यसैले सुन्निने समस्या आउने हो ।

सामान्य दीर्घ रोगी नभएका व्यक्तिहरुका हकमा हात र औँला सुनिने, रातो हुने, नाकको टुप्पा रातो हुने समस्या हुन्छ । चिसोमा देखिने छालासम्बन्धी विभिन्न समस्यामध्ये हातखुट्टाका औँला सुन्निने, रातो हुने, नाकको टुप्पा रातो समस्या हुन्छ ।

चिसोमा देखिने छालासम्बन्धी विभिन्न समस्यामध्ये हातखुट्टाका औँला सुन्निने समस्या पनि एक हो । समयमा उपचार गरिने भने पिप जम्ने, फोका फुट्ने र इन्फेक्सन बल्झिएर ज्यान जोखिममा समेत पर्न सक्छ ।

हातखुट्टा सुन्निने समस्या कस्ता व्यक्तिहरुलाई बढी हुन्छ त?
पुरुषको तुलनामा महिलाहरुमा बढी सुन्निने समस्या हुन्छ । किनभने घरायसी काममा महिलाहरु नै अग्रसर हुने हुन्छन् । पानीमा धेरै समय बिताउने, जस्तो भाँडा माझ्ने, कपडा धुने गर्दा यस्तो समस्या महिलामा नै बढी देखिन्छ ।

यो समस्याबाट बच्न कस्ता उपाय अपनाउनुपर्ला त?
यो समस्याबाट बच्न त झन् चिसो पानी र चिसो हावाबाट जोगिनुपर्छ । चिसो पानी चलाएर मात्र सुन्निने भन्ने हुँदैन । यसकारण चिसो पानी सँगसँगै चिसो हावासँग पनि जोगिनु आवश्यक छ । हातखुट्टा मात्र जोगाएर हुँदैन । चिसो मौसममा पूरै शरीर नै ढाकेर न्यानो बनाउनुपर्छ ।

यदि सुन्निएको अवस्थामा के गर्न सकिन्छ त?
त्यस्तो भएमा एकैपटक हिटरमा तताउनु हुँदैन । पहिले तातो पानी या नुनपानीमा सेकाउने, त्यसपछि मात्र हिटरको तातो लिने गर्नुपर्छ । चिसो हावाबाट जोगिने, तातो पञ्जा र खुट्टामा मोजा लगाएर शरीर न्यानो बनाउने गर्नुपर्छ । साथै तातो झोलिलो पदार्थ खाने गर्नुपर्छ भने सकेसम्म व्यायाम गर्ने र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउने गर्नुपर्छ ।

हातखुट्टा सुन्निँदा बेवास्ता गरियो, ध्यान दिइएन भने कस्ता जोखिमहरु हुन्छन् ?
चिसो मौसममा हातखुट्टा सुन्निनु सामान्य हो तर बेवास्ता चाहिँ गर्नुहुँदैन । प्रायः मानिसलाई यस्तो समस्या नदेखिने भए पनि मिर्गौलाका बिरामी, मुटु र कलेजोका बिरामी जाडो र गर्मी दुवै समस्यामा यस्तो समस्या देखिन सक्छ । हामीले समयमै ख्याल गरेनौँ भने हातखुट्टा सुन्निएर फोका उठ्छन् र चिलाउन थाल्छन् ।

पछि ती फोकाहरु फुट्ने र छालामा इन्फेक्सन हुने सम्भावना पनि हुन्छ । कतिपय अवस्थामा त व्यक्तिको ज्यान जाने जोखिम पनि हुन्छ ।

अन्त्यमा पाठकलाई केही सुझाव दिन चाहनुहुन्छ?
चिसो मौसममा आफ्नो स्वास्थ्यको निकै ख्याल गर्नुहोला । तातो झोलिलो कुरा प्रशस्त मात्रामा खाने गर्नुस् । तातो न्यानो कपडा लगाएर शरीर पूरै ढाकेर हिँड्नुहोला । हातखुट्टा सुन्नियो भने त्यसलाई कन्याउने कहिले नगर्नुहोस् । बरु जतिसक्दो तातो र न्यानो बनाएर निको बनाउनुस् । सुनिने क्रम घटेन भने चिकित्सकलाई देखाएर मात्रै औषधि सेवन गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?