मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

झोलुङ्गे पुलको भरमा पवित्र तीर्थस्थल देवघाट

 
त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाम पवित्र तीर्थस्थलका रुपमा  प्रसिद्ध छ । देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपमा महत्वपूर्ण मानिन्छ । यही महत्वपूर्ण धामबाट नै नामकरण गरिएको छ पालिकाको नाम देवघाट । ठूला नदीको बीच भागमा रहेका पालिका विकास निर्माणमा पछाडि परेको छ । 

यस देवघाट क्षेत्र झोलुङ्गे पुलको सङ्गम भन्न सकिने अवस्थामा छ । सङ्घीयता कार्यान्वयन  भए पनि यहाँको विकासमा भने खासै परिवर्तन हुन सकेको छैन । लामो समयदेखि देवघाट क्षेत्र झोलुङ्गे पुलको भरमा नै रहेको छ । तीन ठूला नदीले घेरिएको देवघाट गाउँपालिकाको क्षेत्र झोलुङ्गे पुलले जोडेको छ ।

देवघाटबाट सदरमुकाम दमौली कामकै लागि आउनुपर्ने भएमा बागमती प्रदेश पार गर्नुपर्छ । मोटरेवल पुल नहुँदा यहाँका स्थानीय बागमती प्रदेश पार गरी सदरमुकाम आउनुपर्ने अवस्था छ । केही सहज हुने स्थानका पालिकाबासी झोलुङ्गे पुलबाट मादीसेती नदी पार गरी सदरमुकाम पुग्ने गर्छन् । पुलको अभावले सामग्री ढुवानीमा समेत सकस हुने गरेको स्थानीय बताउँछन्

देवघाटसँग जोडिनका लागि हालसम्म १७  झोलुङ्गे पुलले घेरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिए। उनले भने, “गाउँपालिका झोलुङ्गे पुलकै भरमा चलेको छ । यसलाई मोटरेवल पुल बनाउनका लागि समन्वय गरिरहेका छौँ । तर अझैसम्म हुन सकेको छैन ।”

ग्रामीण क्षेत्रलाई सहज बनाउने उद्देश्यले पालिकाले समन्वय गरिरहेका अध्यक्ष थापाले बताए । झोलुङ्गे पुलरहित बनाउन भने नसकिएको उनको भनाइ छ । केही स्थानमा मोटरेवल पुल निर्माण हुने भइसकेको अवस्थामा तनहुँ हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन रहेको तनहुँ जलविद्युत् आयोजनाले गर्दा ढिला भएको अध्यक्ष थापाले जानकारी दिए । उनले भने, “देवघाट–३ र बन्दीपुर–६ स्थित मादीसेती नदीमाथि नाल्दीघाटमा मोटरेवल पुल निर्माण भइसक्थ्यो । तर तल्लो सेती जलविद्युत आयोजना बन्ने भएपछि समय फेरिँदा झोलुङ्गे पुलबाट नै आवतजावत गर्नुपर्ने अवस्था छ ।” 

देवघाट –२ र ३  वडासँग जोडिने आँबुखैरेनी, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा जोडिएको बुद्धसिं मार्गसँग जोड्ने मोटरेवल पुल निर्माण गर्न सकिएमा यस क्षेत्र झोलुङ्गे पुलरहित बन्ने उनले बताए ।  गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले भने, “हालसम्म हाम्रै जिल्लातर्फ मोटरेवल पुल बन्न सकेको छैन । तर, पहल भने गरिरहेका छौँ । चितवनतर्फबाट आवतजावत हुने गरी भने तीन स्थानमा मोटरेवल पुल रहेका छन् ।” तनहुँतर्फ देवघाट–३ र बन्दीपुर गाउँपालिका–६ स्थित वाटरखोलामा मोटरेवल पुल निर्माणका लागि सरकारबाट स्वीकृत भएर आएको उनले बताए । 

तनहुँको देवघाट–५ र चितवनको भरतपुर–२९ दासढुङ्गामा मोटरेवल पुल, देवघाट र नवलपुर जोडिने मोटरेवल पुल र चितवनतर्फकै ठिमुरामा मोटरेवल पुल निर्माण भएको छ । तर ठिमुराको मोटरेवल पुलले भने अझैसम्म पनि पूर्णरुपमा निर्माण भएको छैन । यहाँका ग्रामीण क्षेत्रलाई सहज रुपमा पालिकासम्म पुग्ने र फर्किने अवस्था बनाउन मोटरेवल पुल निर्माण गर्नुपर्ने स्थानीय नवराज गुरुङले बताए ।

सुन्तला व्यवसायीसमेत रहेका उनले भने, “पालिकामै पुगेर काम गर्नुपर्ने भएमा थोरैमा तीन दिन खर्चनुपर्ने अवस्था रहेको छ । यसको अन्त्यका लागि मोटरेवल पुल नै मुख्य रहेको छ ।” सरकारले गाउँ गाउँमा सिंहदरबारको आभास हुने गरी पुल निर्माण भइदिए यहाँका स्थानीयले राहत पाउने उनको भनाइ छ ।

उनले भने, “यहाँ उत्पादित वस्तु बजार लैजान पनि समस्या छ । आवश्यक खाद्यान्न बजारबाट ल्याउन पनि झोलुङ्गे पुल तारेर ल्याउनुपर्ने अवस्था रहेको छ । यसको अन्त्य होस् यही नै हाम्रो माग हो ।” यहाँको आयस्तर वृद्धिका लागि पनि ग्रामीण क्षेत्रसँग जोड्ने गरी मोटरेवल पुल निर्माण हुनुपर्ने गरी समन्वय गरिरहेका देवघाट–२ का वडाध्यक्ष मीनबहादुर राना मगरले बताए । 

यस पालिकाको ग्रामीण क्षेत्रमा पुग्नका लागि झोलुङ्गे पुलबाहेक सवारीसाधन आवतजावत गर्न समस्या रहेको छ । पाँच स्थानमा मोटरेवल पुल निर्माण गर्न सकिएमा देवघाटबाट सहज रुपमा सदरमुकाम आवतजावत गर्न सकिनेछ । आठवटा ठूला नदीको मिश्रण हुँदै आएका र हिमालबाट आएको कालीगण्डकी नदीमा विश्वमा प्रसिद्ध मानिने शालिग्राम भेटिने भएकाले यस क्षेत्रमा माघेसङ्क्रान्तिमा देवताहरुको ठूलो बैठक बस्ने स्थानलाई देवघाटधाम भनिएको किंवदन्ती छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?