मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ललितकला प्रज्ञा-प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी’ गर्ने

काठमाडौं- नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ आयोजना गर्ने भएको छ । यसअघि ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ गर्दै आएको प्रतिष्ठानले पहिलो पटक प्रादेशिक प्रदर्शनी गर्न लागेको हो ।

प्रतिष्ठानले हालै सार्वजनिक सूचना जारी गर्दै ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ र ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ का लागि देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको छ । ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा प्रदर्शनी हुने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए । उनका अनुसार ‘प्रादेशिक ललितकला प्रदर्शनी’ सातै प्रदेशमा हुनेछ ।

प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी/अप्रतियोगी कलाकृति र २०८१ जेठ १५ गते काठमाडौँमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा अप्रतियोगी र आमन्त्रित कलाकृति प्रदेशका हकमा कोसीको इटहरी मेट्रिक्स (इटहरी), मधेसको मधेस प्रज्ञा प्रतिष्ठान (जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नक्साल), गण्डकीको गण्डकी प्रज्ञा-प्रतिष्ठान (पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार सङ्घ (बुटवल), सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान (धनगढी) र कर्णालीको नेपाल व्यावसायिक कलाकार सङ्घ (सुर्खेत) र राष्ट्रिय प्रदर्शनीका हकमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल, काठमाडौँमा बुझाउनुपर्ने छ ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यस पटकदेखि राष्ट्रिय ललितकला प्रदर्शनीका लागि प्रदेशबाटै प्रतिस्पर्धा गरी कलाका पूरक गतिविधिहरूका साथै बहुआयामिक पाटा र बाटाहरूलाई समेट्नु नै यसको प्रमुख उद्देश्य रहेको बताए ।

‘प्रदर्शनीलाई विगतमा राष्ट्रिय भनेर काठमाडौँमा केन्द्रित गरिएको थियो । त्यसो गर्दा भौगोलिक र आर्थिक रूपले सर्जकहरूको सहभागिता खासै थिएन’, उनले भने, ‘यसपटक सम्मान र मूल्याङ्कनमा पनि विशेष सुविधा, विविध विधा/उपविधा, तहतप्काका र क्षेत्रमा पुरस्कार सङ्ख्या तथा रकम पनि विशेष थप गरिएको छ । त्यसमा छायाँमा परेका प्रतिभाहरूको समावेशिता सहभागिता हुुने सिर्जनात्मक कला क्रियाकलापहरू पनि गरिने छ ।’

प्रदर्शनीमा चित्रकला (समसामयिक, परम्परागत, मुद्रणकला छायाचित्र), मूर्तिकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला, वास्तुकला (शास्त्रीय), सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गिमा कला, मौलिक दृष्टान्त चित्रकला, कार्टुन, क्यारिकेचर, पोस्टर र डिजिटल कला, लोककला, हस्तकला विधाअन्तर्गत तोकिएको नियममा रहेर कलाकारले सहभागिता जनाउन पाउनेछन् ।

प्रादेशिक प्रदर्शनीमा समावेश भई छानिएका प्रतियोगी कलाकृति मात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने प्रावधान रहेकाले आ–आफ्ना प्रदेशमा हुने प्रादेशिक प्रदर्शनीमा कलाकृति तोकिएको समयभित्रै बुझाउन समेत प्रतिष्ठानले सूचित गरेको छ ।

प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई सो प्रदर्शनीबाट राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गर्न सिफारिस भई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश भएका कलाकृतिमध्ये उत्कृष्ट कलाकृतिलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार उत्कृष्ट ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?