मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतीय पर्यटकहरुका लागि कहिले खुल्छ कैलाश मानसरोवर प्रवेश ?

काठमाडौं – कैलाश मानसरोवर चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल हो । कोरोना संक्रमणको जोखिम बढेसँगै भारतीय पर्यटकहरुका लागि रोकिएको कैलाश मानसरोवर प्रवेश अझै खुलेको छैन । तर माउन्टेन फ्लाइट मार्फत नेपाली आकाशबाटै कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ ।

भारतीय पर्यटक कम्पनी दुर दि टेम्पलले नेपालको पथहिल ट्राभल्ससँग सहकार्य गरेर नेपालगञ्जबाट कैलाश मानसरोवरका लागि माउन्टेन फ्लाइट मार्फत दूरदर्शन सुरु गरेको हो । भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तरप्रदेश लगायत विभिन्न क्षेत्रबाट नेपालगञ्ज आइपुगेका ३८ जना भारतीय पर्यटकहरुको समूहले श्री एयरको चार्टर विमानमार्फत करिब २७ हजार फिटको उचाइबाट कैलाश मानसरोवरको दूरदर्शन गरेका हुन्।

श्री एयरका वरिष्ठ क्याप्टेन प्रफुल्ल वैद्यलगायतको उडान टिमले पहिलो पटक नेपालगञ्जबाट कैलाश मानसरोवरका लागि भरेको माउन्टेन फ्लाइटको अनुगमनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयका प्रमुख सुरेश खनाल सहितको नागरिक उड्डयन प्राधिकरणको टीम पनि सहभागी थियो ।

सवा घन्टाको माउन्टेन फ्लाइटबाट एउटै दृश्यमा कैलाश पर्वत र मानसरोवर ताल दर्शन गर्न पाउनु आफ्नो लागि जीवनकै सबैभन्दा ठूलो सौभाग्य भएको भारत राजस्थानका पर्यटक विजयकुमार शर्माले बताए । कोरोना संक्रमण तथा चीन सरकारको कैलाश मानसरोवर प्रवेशमा रोक लगाउने निर्णयका कारण निराश बनेका भारतीय पर्यटकहरुका लागि नेपालगञ्जबाट चार्टर फ्लाइट मार्फत सुरु भएको कैलाश मानसरोवरको दूरदर्शन यात्राले नेपालकै पर्यटन उद्योगमा नयाँ सम्भावनाको ढोका खोलेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका डाइरेक्टर केशव न्यौपानेले बताए ।

काठमाडौं तथा भारतको लखनउ हुँदै नेपालगञ्ज पुगेर चार्टर फ्लाइट मार्फत कैलाश मानसरोवरको सहजै दूरदर्शन गर्न सक्ने रुट सुरु भएसँगै नेपालगञ्ज कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकहरुका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने टुर दि टेम्पलका प्रबन्ध निर्देशक विकास मिश्राले बताए । कोरोना संक्रमण सुरु हुनुअघि नेपालगञ्जबाट सिमकोट हिल्सा हुँदै करिब १२ हजार भारतीय पर्यटकहरुले कैलाश मानसरोवरको दर्शन गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?