मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसोमा बालबालिकाको हेरचाह कसरी गर्ने ?

काठमाडौं – केही दिनयता लगातार चिसो बढ्दै गएको छ । यो मौसममा प्रायजसोलाई रुघाखोकीले सताउने भएपनि १० वर्षमुनिका बालबालिकामा भने बढी जोखिम हुन्छन्। रुघाखोकी वा ज्वरो आएमा बालबालिका सुस्त हुन्छन् र खानपान छोड्छन्।

यही समयमा रोगले झनै च्पाप्ने मौका पाउछ। जसले गर्दा उनीहरु बारम्बार बिरामी भइरहन्छन्। त्यसैले यो समयमा अभिभावकले बालबालिकाको खानपानदेखि पहिरनसम्म विशेष ध्यान दिनुपर्छ।

चिसो मौसममा विशेषगरी, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूमा यस समय विभिन्न भाइरसको संक्रमण देखिन्छ । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छन् । विशेषगरी, बालबालिकालाई ज्वरो र सुक्खा खोकीले सताइरहेको देखिन्छ ।

भाइरल इन्फ्लुएन्जाका कारण बच्चामा अचानक ज्वरो आउने, टाउको दुख्ने, निरन्तर खोकी लाग्ने, छाती दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्नेलगायत लक्षण देखिन्छन् । सुरुमा रुघाखोकी लाग्छ । तर, यसलाई बेवास्ता गर्दा टाइफाइड, निमोनियालगायत समस्या देखिने जोखिम पनि रहन्छ । त्यसैले वेलैमा सचेत रहन आवश्यक छ ।

कस्ता समस्या देखिन्छन् ?

श्वासप्रश्वासमा समस्या : जाडो मौसममा बालबालिकामा श्वासप्रश्वासमा बढी समस्या देखिन्छ । यो समयमा रुघाखोकी लाग्ने, निमोनिया हुने, चिसोले बालबालिकामा दमजन्य रोगलगायतका रोग लाग्ने हुन्छ । धुलोधुवाँ, प्रदूषणका कारणले यस्ता समस्या देखिने हुन्छ ।

छालाको समस्या : चिसोमा बालबालिकामा छालाको समस्या बढी देखिन्छ । छाला सुक्खा हुने, फुस्रो हुने, फुट्ने, चिरा पर्ने, एलर्जी हुने हुन्छ ।

अन्य समस्या : चिसो मौसममा न्यानो गराउनका लागि बालबालिकालाई हिटर, दाउरा बाल्ने, हट ब्यागले सेक्ने गरिन्छ । तर, कहिलेकाहीँ तातोले बालबालिकालाई पोल्ने, विपत्ति निम्तिन सक्ने जोखिम हुने भएकाले विशेष सतर्क रहन जरुरी छ ।

फ्लुका लक्षण

अचानक ज्वरो आउने ।
नाकबाट पानी बग्ने । रुघाखोकी लाग्ने ।
छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा समस्या ।
घ्यारघ्यार हुने ।
ओठ, जिब्रो निलो भएर जाने ।
छाला फुट्ने, सुक्खा हुने, चिरिने, एलर्जी हुने ।
बच्चाले आमाको दूध नखाने, रुने ।
बान्ता गर्ने ।

सतर्कताका उपाय
चिसोमा बालबालिकालाई बिहान–बेलुका बाहिर नलैजाने । लिएर जानुपर्दा टाउकोदेखि पैतालासम्म शरीर ढाक्ने कपडा लगाएर न्यानो बनाई लैजाने ।
बच्चालाई ज्वरो वा खोकी छ भने विद्यालय पठाउनु हुँदैन । यस्तो अवस्थामा स्कुल पठाउँदा अर्को बच्चालाई सर्न सक्छ । बच्चा बिरामी भएमा घरमै हेरचाह गर्नुपर्छ ।
रुघाखोकी लागेका व्यक्तिबाट टाढा राख्नुपर्छ ।
अहिले हावा प्रदूषित छ । बाइक तथा स्कुटरमा यात्रा गराउनु हुँदैन । हावाका माध्यमबाट विभिन्न रोगको संक्रमण हुन सक्छ ।
बच्चालाई अनिवार्य रूपमा मास्क लगाइदिनुपर्छ ।
बाहिरबाट कोही मानिस घरमा जाँदा आफूले लगाएको लुगा कपडा फुकालेर मात्रै बच्चासँग भेट्ने गर्नुपर्छ ।
बच्चालाई भेट्नुअघि हात अनिवार्य धुनुपर्छ । बच्चाहरू चञ्चले हुन्छन् । हातले फोहोर छोएर फेरि त्यही हातले मुख धुँदा कीटाणुले संक्रमण गर्न सक्ने जोखिम रहन्छ । त्यसैले वेला–वेलामा साबुनपानीले उनीहरूको हात धोइदिनुपर्छ । बिहान–बेलुकी ब्रस अनिवार्य गराउनुपर्छ । चिसोले छाला फुस्रो हुने, फुट्ने, चिरा पर्ने हुँदा मोस्चराइजर क्रिम लगाइदिनुपर्छ ।
खानपिनमा ध्यान दिने । पोषिलो, झोलिलो पदार्थ खुवाउने, भिटामिनयुक्त फलफूल प्रशस्त खुवाउने । सिजनल फ्लुबाट बच्न भ्याक्सिन लगाउने ।
बालबालिकामा कुनै समस्या देखिएमा हेलचेक्र्याइँ गर्नुहुँदैन । तुरुन्तै अस्पताल लैजानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?