मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

थिएटर

मण्डला थिएटरमा ‘पगला घोडा’, एक युवतीले सम्झाइदिएका अनेक किस्सा

काठमाडौं– काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘पगला घोडा’ मञ्चन भइरहेको छ । यो नाटक चर्चित भारतीय नाटककार बादल सरकारको एक उत्कृष्ट नाटकमध्ये एक हो ।

उक्त नाटकलाई शिव खाँड ठकुरीले नेपालीमा अनुवाद गरेका छन् । नाटकमा आशान्त शर्मा, मलिका महत, आशान्त शर्मा, प्रमोद अग्रहरी र विजय ताम्राकार, बिम्ब अधिकारीले अभिनय गरेका छन् । नाटकको परिकल्पना र निर्देशन घनश्याम श्रेष्ठले गरेका हुन् ।

एक घण्टा ४५ मिनेट लामो नाटक ‘पगला घोडा’ मा चार पुरुषहरु आत्महत्या गरेर मरेकी एक अञ्जान युवतीको मलामीमा भेला भएका छन् । उनीहरु उक्त केटीको लाश जलाउँदै मसानघाटमा रक्सी पिउँदै तास खेलिरहेका छन् ।

उनीहरूलाई किन किन लागिरहेको छ, चितामा जलिरहेकी युवतीसँग उनीहरूको कुनै न कुनै सम्बन्ध छ । भावना छ । त्यही युवतीको कहानीसँगै ती मलामीहरूले आफ्नो जीवनका अनेक किस्सा सम्झिरहेका छन् ।

दर्शकलाई सुनाइरहेका छन् ।

नाटकमा महिला र पुरुषको सम्बन्ध र सामाजिक चेतना स्तरलाई पृथक तरिकाले प्रस्तुत गरिएको छ । उक्त नाटक प्रेमका विभिन्न रुपलाई नाटकमार्फत देखाइएको छ । मञ्चन भइरहेको उक्त नाटकमा आत्महत्या नै सबै थोक होइन, आफ्ना भावनाहरुलाई मनमा गुम्साएर राख्न हुँदैन भन्ने सन्देश दिन खोजिएको छ ।

अभिनेता प्रमोद अग्रहरीका अनुसार ‘पगला घोडा’ हेरेका दर्शकबाट नाटकले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

‘नाटक हेरेर हामीलाई धेरै राम्रो प्रतिक्रिया दिइरहनुभएको छ, बादल सरकारको नाटक भन्नबित्तिकै नाटक हेर्न आउने पनि हुनुहुन्छ,’ अग्रहरी भन्छन् ।

बादल सरकारको यही नाटक नै किन मञ्चन गरियो त?

प्रमोद अग्रहरी भन्छन्, ‘यो नाटकले अहिले पनि हाम्रो नेपाली समाजको कथा बोल्छ, एउटा सन्देश दिन्छ, त्यसैले हामीले यो नाटक रोज्यौँ ।’

‘यो नाटकले तपाईंभित्र भएको भावनालाई दबाएर नराख्नुस्, यसले भित्रभित्रै विद्रोह गर्छ भन्ने सन्देश दिन्छ,’ उनी भन्छन् ।

‘पगला घोडा’ मा शीर्ष भूमिकामा अभिनेत्री मलिका महतले अभिनय गरेकी छिन् । उनले नाटकमा फरक फरक भूमिका निभाएकी छिन् । उनी मुख्यत: चितामा जलिरहेकी एक युवतीको भूमिकामा छिन् ।

थिएटरमा पहिलोपटक अभिनय गरेको बताउने मलिका नाटकमा अभिनय गर्न आफूलाई भित्रैदेखि मन लागेकोले कडा मेहनत गरेको बताउँछिन् ।

मलिका भन्छिन्, ‘मलाई पहिलेदेखि नै नाटकमा अभिनय गर्न मन थियो, मलाई अफर आउँदा मैले अभिनय गर्न सक्दिनँ कि भन्ने त लागेको थियो तर त्यसैले धेरै मेहनत गर्नुपर्‍यो ।’

उनका अनुसार शुरुमा नाटकमा अभिनय गर्न केही असहज भएको थियो । तर, आफूभित्र उनलाई अभिनय गर्नुपर्छ भन्ने पनि थियो । दर्शकको अगाडि अभिनय गर्दा कता कता सिरियस भइने हो कि भन्ने डर पनि थियो ।

‘मलाई डर त थियो तर नाटक मञ्चन गर्दा अझ बढी राम्रो गर्नुपर्छ भन्ने लाग्यो, अहिले दर्शकको राम्रो प्रतिक्रिया पाउँदा खुशी लाग्छ,’ मलिका भन्छिन् ।

अर्का अभिनेता आशान्त शर्मा पनि यो नाटक ‘प्रोफेसनल’ कलाकारले मात्र अभिनय गर्न सक्ने खालको भएको बताउँछन् । उनले त मलिकालाई नाटकको प्रस्ताव आउँदा नै अलिक गाह्रो हुन्छ भनेर सल्लाह दिएको स्मरण गर्छन् ।

‘यो नाटक प्रोफेसनल कलाकारले गर्ने खालको नै थियो, मैले मलिका जीलाई भनेको पनि हुँ, उहाँले नाटकमा अभिनय गर्न आँट पनि गर्नुभयो, राम्रो परिणाम पनि देखाउनुभयो,’ उनी भन्छन् ।

लामो समय नाट्य क्षेत्रमै बिताएका आशान्त भन्छन्, ‘यो नाटकमा सबै कलाकारको भूमिका त्यस्तै छ, एकैछिन अघि जड्याहाको अभिनय गर्नुपर्ने छ, एकैछिनपछि फेरि अर्को क्यारेक्टरमा जानुपर्ने छ । त्यसैले हामीले यो नाटकमा एकदमै स–साना कुराहरुलाई पनि विशेष ख्याल गरेका थियौँ ।’

शर्मा थप्छन्, ‘त्यसैले पनि होला, यो नाटक हेर्दा दर्शकले ती पात्रले आफूमा पाउनुहुन्छ, त्यसैमा रमाउनुहुन्छ ।’

‘पगला घोडा’ संसारका धेरै भाषामा मञ्चन भइसकेको छ । भारतीय नाटक भए पनि यो नाटकमा अहिलेको नेपाली समाजको कथा पनि प्रष्ट रुपमा देख्न सकिन्छ । मण्डला थिएटरमा यो नाटक माघ ६ गतेसम्म मञ्चन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?