मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धर्तीको स्वर्ग रारा : कसरी जाने ? कहिले जाने ?

काठमाण्डाैँ – समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा मुगुमा अवस्थित रारा ताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ ।

यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । यही कारण यसको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन ।

ताल रहेको रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धेरैजसो आन्तरिक पर्यटक जाने गर्छन् ।

रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्त स्थल रहेको छायाँनाथरारा नगरपालिका–७ का बासिन्दा राजु मल्ल बताउँछन् ।

कसरी जाने रारा ?

रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ । मिलीचौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न नसक्नेहरूका लागि घोडाको व्यवस्थासमेत छ । सवारी साधन छाडेपछि करिब ३० मिनेटको यात्रापश्चात् तालको छेउ पुग्न सकिन्छ ।

रारा जान सुर्खेतको वीरेन्द्रनगरबाट गाडी रिर्जब गर्न सकिन्छ भने सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्ग हुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ । जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेउमा पुग्न सकिन्छ ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सदरमुकाम पुगेर नै हो । यद्यपि जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै पनि जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घण्टाको हिँडाइमा डाँफेलेक पुग्न सकिन्छ । डाँफेलेक पुग्दा बिचमा पानी खान पाइने ठाउँ नभएकोले आफैँले पानीको व्यवस्था गर्नुपर्दछ ।

कुन समयमा जाने रारा ?

रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनासम्म हो । डिसेम्बरदेखि मार्च महिनासम्म एक मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्यभन्दा पनि तल हुने भएकाले यो समयमा उपयुक्त हुँदैन ।

जहाँ दसैँ तथा तिहारको बिचमा रारा घुम्न आन्तरिक पर्यटक बढी आउने गरेको छायाँनाथरारा–७ मा रहेको जीविका होटल एन्ड रेष्टुरेन्टका सञ्चालक अविनारा बुढा बताउँछन् । दसैँ र तिहारको बिचमा यहाँका होटल आन्तरिक पर्यटकले भरिपूर्ण हुने गरेका छन् ।

पर्यटकलाई राम्रो सेवा सुविधा दिनका लागि कुनै कुरामा कमी नगरेको होटल सञ्चालक बुढाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?