काठमाडौं – बलिउडकी राष्ट्रिय अवार्ड विजेता अभिनेत्री कृति सेनन एकपटक पुनः आफ्नो दमदार अभिनयको दम देखाउन जाँदैछिन् । उनी नयाँ फिल्म ‘तेरी बातों में ऐसा उलझा जिया’मा ‘सिफरा’ नामको रोबोट चरित्रमा देखिँदैछिन् । यो भूमिकासँगै कृति सिल्भर स्क्रिनमा रोबोटको भूमिका निर्वाह गर्ने बलिउडको पहिलो अभिनेत्री बनेकी छन् ।
फिल्मको हालै सार्वजनिक ट्रेलर र गीतमा जुन झलक देखाइएको छ, त्यो हेर्दा कृतिले आफ्नो भूमिकालाई जटिलताबाट सहज रुपमा प्रस्तुत गरेको देख्न सकिन्छ ।
फिल्ममा उनले रोबोट चरित्रबाट खाना पकाउने, अनौठो आचरण अपनाउने, प्राविधिक अनुहारबाट भावना व्यक्त गर्ने, पछाडि झुक्ने र कैयौं अन्य क्षणमा आफू दक्षता देखाउने काम गरेकी छन् ।
कृतिले यो फिल्ममा रोबोटको भूमिका निर्वाह गर्नु उनको बहुमुखी प्रतिभालाई प्रस्तुत गर्नु रहेको फिल्म विश्लेषकले विश्लेषण गरेका छन् । फिल्म ‘मिमी’मा सरोगेट आमाको भूमिका निर्वाह गरेर दर्शकको माया पाएकी कृतिले ‘तेरी बातों में ऐसा उलझा जिया’मा पनि रोबोटको चरित्रबाट त्यस्तै माया पाउने आशा गरिएको छ ।
शाहिद कपूर र कृति सेनन स्टारर फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ ड्रामा, सस्पेन्स र रोमान्सले भरिपूर्ण बनेको छ । शाहिद कपुर र कृति सेननको अनस्क्रिन केमेस्ट्रीदेखि लिएर गीतसम्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ को ट्रेलरले दर्शकलाई फिल्ममा तान्ने भएको छ ।
निर्देशक अमित जोशी र आराधना शाहको फिल्ममा शाहिद कपूर र कृति सेनन बाहेक धर्मेन्द्र, डिम्पल कपाडिया र राकेश बेदी लगायत धेरै दिग्गज कलाकारहरू देखिनेछन्।
‘तेरी बातों मे ऐसा उल्झा जिया’ यो वर्षको भ्यालेन्टाइन विकमा रिलिज हुने तयारीमा छ । शाहिद कपुर र कृति सेनन अभिनित यो फिल्म फेब्रुअरी ९ मा रिलिज हुँदैछ । यो फिल्म मार्फत शाहिद र कृति पहिलो पटक सँगै पर्दामा देखिदैछन् । फ्यानहरू यी दुई स्टारको जोडीलाई पर्दामा हेर्न आतुर छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया