मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

दमका रोगीले चिसोमा के खाने के नखाने ?

काठमाडौं – अहिले काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ । तराईका धेरै जसो स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिनदिनै बढ्दै गरेको चिसोमा दम रोगीका लागि निकै कठिन हुनेगर्छ । यस्तो अवस्थामा बिरामीले खानपानमा ख्याल गर्नु पर्छ ।

दम स्वासप्रश्वास सम्बन्धी समस्या हो। गर्मी मौसममा भन्दा चिसो मौसममा दम रोगीलाई सास फेर्न झन गाह्रो हुने हुने भएकाले जाडोमा दमका रोगीलाई विशेष ख्याल गर्नुपर्छ ।

के खाने ?
भिटामिन–सी दमका रोगीले भिटामिन–सीयुक्त खाना बढी खानुपर्छ। भिटामिन–सीले इन्फ्लामेसन र जलन कम गर्न मद्दत गर्छ। यसले फोक्सोलाई बलियो बनाउने र श्वाससम्बन्धी समस्या कम गर्ने गर्छ। भिटामिन–सीका लागि कागती, अमला, सुन्तला, टुसा उमारेका गेडागुडी खानुपर्छ। फलफूल दमका रोगीले गाजर, रातो र पहेँलो खुर्सानी, भेँडे खुर्सानी, पालुङोजस्ता सागतरकारी बढी खानुपर्छ। भिटामिन–बी दमका रोगीका निम्ति भिटामिन–बी लाभदायक हुन्छ। हरियो सागसब्जी र दालमा भिटामिन–बी बढी पाइने भएकाले यस्ता खानामा जोड दिनुपर्छ।

प्याज हरियो प्याज अथवा रातो प्याज दुवै दमका रोगीका लागि लाभकारी हुन्। प्याजमा सल्फर पाइन्छ, जसले दमका कारण हुने जलनलाई कम गरी बिरामीलाई राहत दिन्छ। श्वाससम्बन्धी समस्या भएकाहरूका लागि पनि प्याज उपयुक्त हुन्छ। माछा दमको समस्या भएकाहरूले सलमन प्रजातिका माछा बढी खानुपर्छ। सलमन माछा पाइँदैन भने अन्य माछा खाए पनि हुन्छ। दुग्ध परिकार दुग्ध पकिार सानैदेखि मनग्ये खानेलाई दमको रोग लाग्ने जोखिम कम हुन्छ। दम भइसकेकाहरूले पनि दुग्ध परिकार खानमा जोड दिनुपर्छ।

के नखाने ?

मसलायुक्त खाना

मसलायुक्त खानाबाट दमका रोगीले भरसक परै रहनुपर्छ। मसलायुक्त खाना खानाले मुख, घाँटी र फोक्सोका कोशिका उत्तेजित हुन पुग्छन्। जसले दमको असरलाई बढाउँछ।

भिटामिन–ई

दमका रोगीले भिटामिन–ईयुक्त खाना भरसक नखाने। सबैखालका खाने तेलमा भिटामिन–ई पाइने भएकाले तरकारी पकाउँदा तेल सकेसम्म कम हाल्नुपर्छ। सूर्यमुखीको तेलमा भिटामिन–ई कम पाइने भएकाले सकेसम्म त्यही तेलको प्रयोग गर्ने।

दम, स्वासप्रश्वास सम्बन्धी समस्या हो । दम रोगीलाई श्वास फेर्नमा कठिनाई हुने गर्छ । कतिसम्म भने, सामान्य हिँडडुल गर्दा पनि सास बढ्छ । घ्यारघ्यार हुने, छाति दुख्ने र खोकीको समस्या पनि हुन्छ । यस्तो समस्या बृद्धबृद्धालाई मात्र होइन, साना बच्चालाई समेत हुन्छ ।

दम रोगीले के गर्ने ?
आफू बस्ने कोठालाई न्यानो बनाइराख्ने।
न्यानो कपडा लगाउने।
चिसो हावामा नजाने।
बिहान सास बढ्ने खालको व्यायाम नगर्ने। सकेसम्म मुखबाट सास नफेर्ने।
रुघाखोकी तथा फ्लुजस्ता श्वासप्रश्वाससँग जोडिएका संक्रमणको खतरा चिसो मौसममा बढ्ने गर्छ जसले दमलाई झनै बढाउन सक्छ। त्यसैले फोक्सो स्वस्थ राख्न हरेक वर्ष फ्लुको भ्याक्सिन लगाउने।
चिसोमा दमका रोगीले नियमित औषधि सेवन गर्ने।
धेरैले अलिक कम भयो भनेर औषधि बीचमै छोड्ने गरेका छन्। यसरी बीचमै औषधि नछोड्ने।
घरबाहिर जाँदा सामान्य मास्कको सट्टा एन–९५ वा एन–९९ मास्क प्रयोग गर्ने।
भीडभाडमा नजाने।
अक्सिजनको जोहो गरिराख्ने। निबुलाइजर प्रयोग गर्ने बिरामीले साथमै राख्ने।
लगातार खोकी लागेको खण्डमा लामो समयसम्म खपेर नबस्ने, चिकित्सकसँग सल्लाह लिने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?