मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुँदै

चितवन– सौराहामा दक्षिण एसियाली चलचित्र महोत्सव हुने भएको छ ।  क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका–७ स्थित चित्रसारी खेलमैदानमा यही माघ १८ गतेदेखि महोत्सव सुरु हुन लागेको हो । 

नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवको आयोजना गरिएको शनिबार  पत्रकार सम्मेलन गरेर क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले बताए।

‘नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सव आयोजना गरिएको छ ।’ – उनले भने ।

महोत्सवमा चलचित्र, पर्यटन तथा स्थानीय परम्परागत खानाका गरी एक सय बढी स्टल रहने जनाइएको छ । महोत्सवको ५० हजार दर्शकले अवलोकन गर्ने, रु एक करोड ५० लाखको कारोबार हुने अनुमान र अपेक्षा गरिएको छ ।

पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा चलचित्र र पर्यटनको विकासका लागि राज्य र निजी स्तरबाट गर्नुपर्ने पहलका बारेमा सुक्ष्मरूपमा छलफल र बहस गरी नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराइने पौडेलले बताए । 

रत्ननगर नगरपालिकाको मुख्य सहयोगमा सञ्चालन हुने सो महोत्सवमा आठ राष्ट्रका चलचित्रकर्मीको उपस्थिति तथा दक्षिण एसियाली क्षेत्रका नवीनतम कला सृजनालाई अवसर प्रदान गर्ने, सांस्कृतिक आदानप्रदानलाई बढवा दिने र दक्षिण एसियाली कथा कथनको समृद्धिको उत्सवका रूपमा कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्रबिच प्रतिस्पर्धा गराइने छ ।

महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन र उत्कृष्ट लेखन विधामा तीनवटा चलचित्रलाई अवार्ड प्रदान गरिने छ । 

महोत्सवमा नेपाली चलचित्र, वृत्तचित्र तथा सर्ट फिल्म अवार्ड वितरण, सार्क स्तरका चलचित्रको प्रदर्शन, चलचित्रकर्मीको जीवनीसम्बन्धी साक्षात्कार, नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार र पर्यटन विकाससम्बन्धी अन्तर्क्रिया गरिने छ ।

त्यस्तै कलाकार र राजनीतिक दलका प्रतिनिधि, पूर्वी र पश्चिम चितवनका खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने चलचित्र निर्माता सङ्घका सचिव तथा महोत्सव मूल समारोह समितिका निर्देशक किसान पोखरेलले जानकारी दिए ।

महोत्सव मूल समारोह समितिका सहसंयोजक तथा सौराहाका व्यवसायी गोकर्ण गिरीले सौराहामा हुने अन्तर्राष्ट्रियस्तरको चलचित्र महोत्सवले सुस्ताएको पर्यटनलाई चलायमान बनाउने आशा व्यक्त गरे।

क्याराभान नेपालले यसअघि वीरगञ्जमा स्वर्णिम चलचित्र महोत्सव तथा लुम्बिनीमा बुद्धको जीवनी र दर्शनसम्बन्धी फेस्टिबल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?