मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक

काठमाडौं – सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति र विषयवस्तुमा समावेशीकरणको यथार्थ समेटिएको पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक भएको छ । पत्रकार तारामणि सापकोटाले लेखेको उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत सङ्घसङ्गठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्याङ्कीय विश्लेषण प्रस्तुत गरिएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरे ।

सो अवसरमा समावेशी आयोगका अध्यक्ष तिमिल्सिनाले समावेशीतालाई हेर्ने दृष्टिकोण बदल्नुपर्नेमा जोड दिँदै समावेशीता सामुदायिक प्रतिनिधित्व मात्रै नभई समुदायभित्रका भौगोलिक र वैचारिक प्रतिनिधित्व पनि हो भने । “विविधतायुक्त समावेशीतालाई अगाडि बढाउनुपर्छ, यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीति आवश्यक छ”, उनले भने ।

आदिवासी जनजाति आयोगका अध्यक्ष थापाले नीति निर्माण र कार्यान्वयन तहमा समावेशीकरण नहुँदा त्यसको प्रभाव राज्यका सबै निकाय र सञ्चार माध्यममा पनि परेको बताए । समावेशी लोकतन्त्रको पाटो उल्टो बाटोमा जान लागेको महसुस भइरहेको उल्लेख गर्दै उनले लोकतन्त्रको समावेशीकरणमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए ।

पुस्तकमाथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समिति ‘रासस’का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले नेपाली समाज विविधतायुक्त भए पनि सञ्चारमाध्यममा विविधता पाउन नसकिएको यथार्थ पुस्तकले दर्शाएको बताए । “सञ्चार माध्यमले समाजको चित्र ग्रहण गर्न सकेका छैनन्, मिडियो सबल नहुँदा लोकतन्त्र नै सुदृढ हुन नसकेको विषयलाई पुस्तकमा प्रष्टसँग देखाइएको छ”, उनले भने ।

अध्यक्ष झाले समावेशीकरणको सैद्धान्तिक पक्ष प्रष्ट पार्दै पुस्तकले सञ्चार क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थामा समावेशीताको विषयलाई तथ्याङ्कीय रुपमा पुष्टि गरिएको बताए । “सञ्चार क्षेत्रमा कार्यरत जनशक्तिको दृष्टिकोणबाट पुस्तकमा अध्ययन भए पनि समाचारीय विषयवस्तुको समावेशी पक्षबारे अनुसन्धान हुन सकेन, विषयवस्तुका बारेमा पनि अध्ययन हुनुपर्छ”, उनले भने ।

टिप्पणीकार एवं सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले सङ्घर्ष जारी राख्नुपर्ने अवस्था तथा नेपालको इतिहास, वर्तमान र भविष्यलाई पुस्तकले मार्गदर्शन गरेको बताए । त्यस्तै, अर्का टिप्पणीकार एवं पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले मिडियाको विषयवस्तु कुनै एक जातिको वरपर घुमेको, समाचार कक्ष तथा सञ्चार संस्था समावेशी हुन सकेका छैनन् भन्ने तथ्य पुस्तकले देखाएको बताए ।

पुस्तकका लेखक सापकोटाले पुस्तकमा सञ्चार माध्यम, सञ्चार संस्था, पत्रकारका पेसागत संघसङ्गठन, संवैधानिक तथा कानुनी आयोग, सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भएका सामग्री, सञ्चारमाध्यममा सहभागिताको अवस्थाको परिमाणात्मक विधिबाट अध्ययन गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?