मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानद्वारा नेपाल पराजित

 
काठमाडौं । आइसीसी उन्नाइस वर्षमुनि ‘यु–१९’ विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो । जितसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ । 

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्दै पाकिस्तानलाई जितका लागि एक सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उक्त विजय लक्ष्य पाकिस्तानले पाँच विकेटको क्षतिमा ४७ दशमलव चार ओभरमा पूरा ग-यो । पाकिस्तानका लागि आजन आविसले  अविजित ६३, शम्याल हुसेनले ३७, शाहजैब खानले ३७, अहमद हसनले २९ तथा हारुन अर्शदले अविजित १५ रन बनाए । 

बलिङतर्फ नेपालका  आकाश चन्दले तीन तथा आकाश त्रिपाठी र दिपेश काडेलले एक एक विकेट लिए । यसअघि पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नेपालले सवै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए ।

उनले ६८ बल खेल्दै चार चौका र एक छक्का प्रहार गरे । यस्तै दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा एक छक्कासहित २६ रन बनाए । कप्तान देव खनालले ३७ बलमा तीन चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६÷६ रन बनाए ।  

 बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले तीन, उबैद शाह र अहमद हुसैनले दुई दुई तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले एक एक विकेट लिए ।

प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई एक सय ८१ रनले हराएको थियो । नेपालले अब शुक्रबार समूह ‘डी’ को अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?