मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाईलाई थाहा छ, मान्छेलाई कुन कुराले आकर्षक बनाउँछ ?

काठमाडौं । के तपाईले याद गर्नु भएको छ, मान्छेलाई के कुराले आकर्षक बनाउँछ ? यदि कसैलाई पहिलो पटक भेट्नु भएको छ ? कहि न कतै कुनै समयमा कसैलाई पहिलो पटक भेट्नु भएको छ ? पक्कै पनि भेट्नु भएको होला । पहिलो पटक कसैसँग भेट्दा जुन किसिमको प्रभाव छाड्नुहुन्छ त्यो उसले लामो समयसम्म याद गरिरहन्छ ।

तपाईं कसैसँगको पहिलो भेटमा कसरी प्रस्तुत हुनुभयो, कस्तो देखिनुभयो, तपाईंको आवरण दोस्रो व्यक्तिले सम्झिरहन्छ । यसबाहेक तपाईंसँग त्यस्तो के कुरा हुनसक्छ जसले अरुको हृदय स्पर्श गर्छ ? अरुको मन लोभ्याउँछ ?

अमेरिकामा यही सेरोफेरोमा एउटा सर्वेक्षण गरिएको थियो । त्यसमा एउटा साझा प्रश्न सोधिएको थियो, ‘मान्छेको लुक्स ‘आवरण’ बाहेक अरु के-कस्ता गुणले लोभ्याउँछ ?’

घर, गाडी जस्ता भौतिक सफलता आफूहरुलाई लोभ्याउनेमध्ये सबैभन्दा तल्लो तहको गुण भएको सहभागीहरुको राय थियो । बरु आफ्नो पार्टनरको कुरामा सहमति जनाउने, खुलेर बोल्ने, बुद्धिमानी जस्ता गुणलाई उनीहरुले शारीरिक आकर्षण भन्दा उच्च श्रेणीमा रहेको बताए ।

यस सर्वेक्षणमाथि टिप्पणी गर्दै अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक गै्रग वेबस्टर भन्छन्, ‘यस किसिमको सर्भेमा मान्छेहरु यस्तो जवाफ दिने प्रयास गर्छन् कि जसलाई अरुले राम्रो मान्छ । त्यसैले यस्तो सर्भेले वास्तविक सत्य भने उजागर नहुन सक्छ ।’

मनोवैज्ञानिक डाक्टर पूजा शिवम जेट्ली भन्छिन्, ‘सुरुवाती आकर्षण मान्छेको आवरणमा नै हुन्छ । यद्यपि यो मान्छेको हेराइमा पनि फरक पर्छ ।’ ‘तपाईं कस्तो देखिनुहुन्छ ? तपाईंप्रति कसैले धारणा बनाउने त्यो एउटा पहिलो बिन्दु हुनसक्छ । तर लामो समयसम्म कसैको सुन्दरता वा आवरणले लोभ्याइरहन सक्दैन ।’

तपाईंको व्यक्तित्व, तपाईंको आवश्यक्ता र तपाईंले दुनियाँलाई कसरी हेर्नुहुन्छ भन्ने कुराले यसको निर्धारण गर्छ । पहिलो झलकमै मन परेको हुनसक्छ तर त्यसबेला आपसमा कुराकानी भएको छैन भने पछि त्यही कुराले मतभेद ल्याउन सक्छ । आफ्नो पार्टनरको कुरा सुन्नु र आपसमा सहमति बनाइराख्नु कुनैपनि सम्बन्धलाई दिगो राख्ने एउटा महत्वपूर्ण सर्त हो ।

आवरण वा सुन्दरताको कारण तपाईंलाई कुनै व्यक्ति मन परेको होला । तर उनले तपाईंको कुरालाई कति पनि महत्व दिंदैन भने तपाईंले उनलाई मनपराइरहनु हुन्छ त ? कुनैपनि मान्छेको व्यक्तित्व मापन गर्नु सजिलो काम होइन । दशकौंदेखि साइकोमेट्रिक टेस्टमा मान्छेसँग यस्ता थुप्रै प्रश्न सोधिएको छ ताकि उनीहरुको व्यक्तित्वको बारेमा थप जानकारी प्राप्त होस् ।

बिहेवियर एक्सपर्ट एवं लाइफ कोच आस्था दिवान भन्छिन्, ‘एउटा मान्छेको व्यक्तित्व केही कुरा मिलेर बनेको हुन्छ । तपाईंसँग कति सहज रुपमा कुराकानी गर्न सकिन्छ ? यो महत्वपूर्ण छ ।’ कुराकानी गरिरहँदा तपाईंले दोस्रो व्यक्तिलाई बोल्न दिनुहुन्छ ? तपाईंको रुचि के हो, विचार कस्तो हो, जीवनको मूल्य के हो, आत्मविश्वास कस्तो छ ? यी तमाम कुरा व्यक्तित्वको एक अहम् हिस्सा हो ।

तपाईंले यो पनि सुन्नुभएको होला, ‘विपरीत आकर्षण’ भनेको दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया फरक छन्, उनीहरु पनि आपसमा आकर्षित हुन्छन् । किनभने व्यक्तित्वमा हुने भिन्नताले पनि मान्छेलाई आकर्षित गर्छ ।

त्यसो त मान्छेले यस्तो साथी खोजी गरिरहेका हुन्छन्, जो ऊसँग पहिलेदेखि नै परिचित छन् । जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ । यो आकर्षणको आधारभूत सिद्धान्त हो । कहिलेकाहीं मान्छेले आफ्नो समान साथी खोज्छ । कहिले आफूभन्दा अलग खोज्छ । यो मान्छेको प्रवृत्ति हो ।

खासगरी तपाईंको विचारमा, गुणमा, रोजाइमा समानता छ भने तपाईंहरु आपसमा तुरुन्तै जोडिनुहुन्छ । कुनैपनि सम्बन्धलाई दिगो बनाउन एकसाथ रहेर पनि आ आफ्नो मूल्यमान्यतालाई डोहोर्‍याउन सक्ने अनुकूलता हुनु हो ।

मान्छेले सधैं आफ्नो समानता खोज्छ भन्ने होइन । कहिलेकाहीं आफूभन्दा निकै फरक व्यक्तित्वलाई पनि मन पराउँछ । यदि दुवैले एकअर्काको आवश्यक्ता पूरा गरिदिन्छ भने ।

सम्बन्धका लागि दोस्रोको आकर्षण गुणका साथै सहमति बनाइराख्नु निकै महत्वपूर्ण हुन्छ । ग्रेग वेबस्टरले सामाजिक मनोवैज्ञानिक एंगेला ब्रायन र अमैन्डा महाफ्फीसँग मिलेर मान्छेको व्यक्तित्वको तीन गुणमाथि शोध गरेका थिए ।

यी तीन गुण थियो, मान्छेसँग शारीरिक रुपले आकर्षित हुनु । दोस्रो, आर्थिक रुपले प्रभावशाली हुनु । तेस्रो, एकआपसमा सहमति बनाइराख्नु ।

मान्छे सम्बन्धमा होस् वा नहोस्, तर मान्छेहरु यो कुरा आवश्य चाहन्छ कि उनको पार्टनर सामाजिक, शारीरिक र आर्थिक रुपले प्रभावशाली होस् । तर धेरैजसो मान्छेले यो कुरालाई स्वीकार गर्दैन । त्यही प्रभुत्व उनीहरुको सम्बन्धमा पनि तगारो बन्न पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?