मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चिसो बढेसँगै सगरमाथा क्षेत्रमा घटे पर्यटक

काठमाडौँ – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । 

विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको उनको अनुभव छ । 

‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै किन हो यहाँ यस वर्ष खासै रमाइलो छैन ।’ उनले भने । 

सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कअनुसार यस वर्षको गत पुसमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्या ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको पुसमा एक हजार नौ सय २० जना सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु पुगेका थिए । 

यस वर्ष एक हजार तीन सय २९ जनाले मात्रै सगरमाथा क्षेत्रको भ्रमण गरेका निकुञ्जको कार्यालयका सूचना अधिकारी संरक्षण अधिकृत मनोजकुमार मण्डलले जानकारी दिए । 

उनका अनुसार गत वर्ष पुसमा चार सय ५५ जना नेपाली र एक हजार चार सय ६५ विदेशी नागरिक भ्रमणका लागि खुम्बु पुगेका थिए । यस वर्षको सोही अवधिमा एक सय २० नेपाली र एक हजार दुई सय नौ विदेशी खुम्बु पुगेका कार्यालयको तथ्याङ्क छ ।

विदेशी तथा स्वदेशी पर्यटकको अत्यधिक चाप हुने सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको खुम्बु क्षेत्र चिसो बढेसँगै एक्लिएको छ ।

यस क्षेत्रमा यतिखेर चिसो अत्यधिक रहेकाले पर्यटक आवागमन न्यून भएसँगै सुनसान बनेको निकुञ्जले जनाएको छ । यहाँ वर्षको छ महिना पर्यटकीय याम हुने र छ महिना बेमौसम हुने गर्दछ । 

गत फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय याम मानिन्छ भने त्यसबाहेकका समयलाई बेमौसम मानिन्छ । 

याममा दैनिक नौ सयदेखि एक हजारसम्म पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले मुस्किलले पाँच–सात जना पर्यटक मात्रै भ्रमणका लागि आउने गरेको निकुञ्ज कार्यालय नाम्चे सोलुखुम्बुका सूचना अधिकारी मण्डलले जानकारी दिए ।

विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण अधिक हुँदा भ्याई नभ्याई हुने यहाँका पर्यटन व्यवसायीसमेत यतिखेर फुर्सदिला बनेको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले बताए । 

यसका कारण पर्यटकीय स्थलका होटेल पसलमा ताला लागेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । स्थानीय बासिन्दासमेत चिसो छल्न अन्यत्र जाँदा खुम्बु सुनसान बनेको उनको भनाइ छ । 

उच्च हिमाली क्षेत्र खुम्बुका नागरिकको मुख्य आम्दानीको स्रोत भनेकै पर्यटन व्यवसाय हो । यहाँ अन्य अन्नबाली उब्जाउ नहुने भएकाले सिजनमा पर्यटन व्यवसाय गर्ने र अफसिजनमा घुमफिर तथा रमाइलो गर्ने यहाँका नागरिकको बाध्यता हो । 

इलाका प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजनकुमारी बर्देवाका अनुसार सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङलगायतका क्षेत्र पनि चिसो सुरु भएसँगै प्रायः सुनसान छन् । यो समयमा आफ्नो कार्यालयमा सेवाग्राही नगण्य मात्रामा आउने गरेको उनको भनाइ छ । 

गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवं थामेलगायतका बासिन्दाले पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम सातातिरबाटै खुम्बु छाडिसकेका छन् भने त्यसभन्दा तलका बस्ती खुम्जुङ, नाम्चे, लुक्लालगायतका स्थानीय मङ्सिर पहिलो सातातिर बाहिर जाने गरेको लुक्लाका अमृत मगरले बताए । 

यहाँका बासिन्दा जाडो छल्न धेरैजसो राजधानी काठमाडौँ जाने गरेका छन् । यतिखेर नाम्चे क्षेत्रमै तापक्रम घटेर माइनस १२ डिग्रीसम्म पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मण्डलले जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?