मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । 

चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् ।

क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री सतहबाट तीन हजार आठ सय ४० मिटर उचाइको सोवाङ धुरी पुग्ने पदमार्ग पहिचान गरिएको जानकारी दिए ।

“गोठालाहरूले लेक बेँसी गर्न प्रयोग गरेको बाटो भएर चिमखोलाबाट सोवाङ धुरी पुग्न सकिने पदमार्ग पहिचान गरेका हौँ”, उनले भने, “गोठ बस्ने चलनसँगै हराएको बाटोमा पर्यटक हिँडाएर गाउँमै रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन पहल थालेका छौँ ।”

चिमखोलाबाट हिँड्न सक्ने एक दिन र विस्तारै हिँडेर दुई दिनमा सोवाङ धुरीमा पुग्न सकिन्छ । अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे । 

नयाँ पहिचान भएको पदमार्ग र सोवाङ धुरीको प्रचार–प्रसारका लागि ‘दृश्यावलोकन केन्द्र’ स्थापना गरिएको क्लबका अध्यक्ष प्रविन बुढाले बताए। 

“पूर्वाधार र प्रचार–प्रसारको कमीले प्रशस्त सम्भावना भएर पनि सोवाङधुरी ओझेलमा परेको छ”, उनले थपे– “पूर्वाधार निर्माणमा पहल, प्रचार–प्रसार र प्रवर्द्धनमा जुटेका छौँ ।”

उनका अनुसार संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालको फेदबाट चुचुरोसम्मको दृष्यावलोकन गर्न पाउन सोवाङ धुरीको मुख्य विशेषता हो ।

सूर्योदयका साथै गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

बागलुङ बजार, ढोरपाटन सिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा, टोड्केका साथै म्याग्दी र पर्वत जिल्लाका ग्रामीण बस्ती, पहाडी भूगोलको मनोरम दृश्य देखिने चिमखोलाका वकिल पुनले बताए।

सोवाङ धुरी जाने पदमार्गमा पर्ने जङ्गलमा घोरल, मृगलगायत जनावर र पाँचऔले, सेदक चिनीलगायत जडीबुटी अवलोकन गर्न सकिने उनले बताए । सोवाङ धुरीबाट रघुगङ्गा गाउँपालिकाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना र मुस्ताङको लेते जान सकिन्छ ।

व्यवस्थित पदमार्ग, आश्रयस्थल नभएकाले वन्दोबस्तीका सामानसहित जानुपर्छ । सोवाङ धुरी जाने पर्यटक नजिकैको ओढारमा बास बस्ने गरेका छन् । आश्रय स्थल निर्माण, खानेपानीको व्यवस्थापन र पदमार्गमा सङ्केत चिह्नहरू बनाउनुपर्ने सोवाङ धुरी पुगेर आएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले बताए । 

म्याग्दी र मुस्ताङलाई वैकल्पिक पदमार्गले जोड्नेगरी पहिचान भएको धजलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गायत्री मन्दिरबाट सुरु भएर भगवती–रुइसे–भेडीओढार–मुटुकाटे–पजत्राधुरी हुँदै सोवाङधुरी जोड्ने मुख्य पदमार्ग रहेको छ ।

मुख्य पदमार्ग र चिमखोला हुँदै सोवाङ धुरी पुगेपछि पर्यटक नेपाने–लोसधाप–लाटीबराह–कालीबराह ताल हुँदै धवलागिरि हिमालको आधार शिविर पुग्न सक्छन् । 

टुरिजम एजेन्सिज अफ पश्चिमाञ्चल क्षेत्रीय च्याप्टर तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा म्याग्दीको गलेश्वर–राखुभगवती हुँदै धललागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो ।

यस पदमार्गले म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेगखोला, दग्नाम, चिमखोला, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ तातोपानी, दानालगायतका ठाउँको उच्च पहाडी डाँडाको धुरी हुँदै मुस्ताङको लेते जोडिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?