काठमाडौँ— मङ्गल ग्रहमा खोज गर्न सहयोग गरिरहेको ‘इन्जेन्युइटी मार्स हेलिकप्टर’सँग आफूले सम्पर्क गुमाएको अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले जनाएको छ ।
यस हप्ताको सुरुमा नासाले यानसँग सम्पर्क गुमाएको हो । अब नासाले आफ्नो ‘इन्जेन्युइटी मार्स हेलिकप्टर’सम्म कसरी पुग्ने भनेर पत्ता लगाइरहेको छ ।
आफ्नो ७२ औँ उडानको क्रममा लगभग ४० फिटको उचाइमा ‘क्वीक पप–अप’ मा हुँदा ‘इन्जेन्युइटी’ले ‘पर्सिभेरन्स रोभर’सँग सञ्चार गर्नु अघि नै बन्द भएको नासाले जनाएको छ ।
‘पर्सिभेरन्स’ले हेलिकप्टरमा जाने र आउने सबै सञ्चारका लागि बिचमा रहेर काम गर्दछ । तर सानो हेलिकप्टरले योजना अनुसारको उडान पूरा गरेको नासाले जनाएको छ ।
नासाका अनुसार इन्जेन्युइटी टोलीले उपलब्ध डाटाको विश्लेषण गरिरहेको छ र हेलिकप्टरसँग सञ्चार पुनः स्थापना गर्ने उपायको खोज गरिरहेको छ ।
इन्जेन्युइटी २०२१ देखि मङ्गल ग्रहमा थियो, र यसले आफ्नो मिसन लक्ष्यहरू भन्दा धेरै पार गरेको छ । इन्जेन्युइटी मङ्गल ग्रहको सतहबाट उडान भर्ने पहिलो स्वचालित विमान हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया