चितवन– चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायः जसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् ।
इच्छाकामना–२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घरलाई भने भूकम्पले क्षति पुर्याएन ।
तर उनले पनि पुरानाे घर भत्काएर नयाँ बनाउने सोच बनाएकी थिइन । अहिले त्यही घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मत सम्भार गर्नतर्फ लागेकी छिन् ।
फिस्लिङ–शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि मर्मत सम्भार गरेर पुरानै अवस्था राख्ने सोच बनाएको गुरुङले बताईन ।
‘भत्काएर नयाँ घर बनाउने सोचमा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ’ । उनले भनिन् –‘ यसलाई मर्मत सम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु ।’
यहाँ आउने पर्यटक यस घरमा फोटो खिचाएर मात्र फर्किने गरेको उनको भनाइ छ । स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो । फिस्लिङ–शक्तिखोरको कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भीड लाग्छ । एक पटक पुगेकाले इच्छाकामना गाउँपालिकाको वडा नं– २ मा पर्ने माया टार भन्नसाथ यही घर सम्झिन्छन् ।
घरले मौलिकता दिएको छ । पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन् । यहाँ पर्यटकको चहलपहल हुन थालेको धेरै भएको छैन । स्थानीय भीमबहादुर प्रजाका अनुसार कुनै समय गोरखा, धादिङलगायतका जिल्लाबाट हेटौँडा, वीरगन्ज हुँदै भारतसम्म जाने पैदल मार्ग यही बाटो पर्थ्यो ।
तर सडक मार्गको विकास क्रमसँगै मान्छे हिँड्न छाडेपछि मायाटार अनकन्टार बनेको थियो । केही वर्षयता फिस्लिङ– शक्तिखोर ग्रामीण सडक निर्माण भएपछि मायाटारमा चहलपहल बढ्न थालेको हो ।
उनले भनिन् – ‘यो ठाउँमा यतिको चहलपहल होला भन्ने लागेको थिएन, यो सबै सडक बाटोकै कारण भएको हो, कुनै दिन त यो आँगनभरि गाडी र बाइक हुन्छन् ।’
काठमाडौँबाट हेटौँडातर्फ जाने केही यात्रुले शक्तिखोर–फिस्लिङ सडक प्रयोग गर्ने गरेका छन् । यस कारण पनि यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन् ।
यो बाटो पृथ्वी राजमार्गको फिस्लिङ, मौवाखोला र हुग्दीखोलाबाट चितवनको पुरानो सदरमुकाम हुँदै उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व–पश्चिम राजमार्ग पुग्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया