मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाल कलाकार सचिन गम्भीर बिरामी, पैसाका विषयमा बाबु तेजेन्द्र र यूट्युबरबीच आरोप-प्रत्यारोप

काठमाडौं । बाल कलाकार सचिन परियार गम्भीर बिरामी भएका छन् । अनौठो हाउभाउ र मीठो बोलीका कारण भाइरल बनेका बाल कलाकार सचिन परियारको कम्मरमुनिको भाग राम्रोसित चल्न अहिले छोडेको छ ।

सचिनका बाबु तेजेन्द्र परियारले छोरालाई हेटौंडामा उपचार गराएर आज काठमाडौं ल्याएको बताएका छन् । हेटौंडामा राम्रो आयूर्वेदिक अस्पताल छ भन्ने सुनेर गएको उनको भनाइ छ । त्यहाँ उपचारपछि केही सुधार आएको पनि उनले जानकारी दिए ।‘खुट्टा टेकेर उभिन सकिरहेको थिएन । आज चैं आफूले दोहोर्‍याउँदा अलिकति हिँडेको छ,’ उनले भने ।

सचिन एक वर्षअघि पनि यस्तै बिरामी परेका थिए । अचानक हातगोडा चल्न छोडेपछि टिचिङ अस्पतालमा उपचार गरिएको थियो । उपचारपश्चात सुधार भए पनि उनी पूर्ण स्वस्थ थिएनन् ।

उनको दिसापिसाब बगिरहन्थ्यो । जन्मेदेखि नै उनी शारीरिक रुपमा दुर्बल छन् । अहिले फेरि उनको शरीरको तल्लो भागमा समस्या आएको हो । उनी बोल्न सक्ने भए पनि हिँडडुल गर्न सक्दैनन् ।

यसअघि सचिन बिरामी हुँदा युट्युबरहरुको सक्रियतामा राम्रै सहयोग संकलन भएको थियो । युट्युबर भोजराज थापाका अनुसार त्यसबेला जम्मा ११ लाख ६७ हजार ४१६ रुपैयाँ उठेकोमा ३ लाख ५७ हजार ८२४ रुपैयाँ खर्च भएर ८ लाख ९ हजार ५९२ रुपैयाँ बचत भएको थियो । युट्युबरहरुले सल्लाह गरेर बचत भएको रकम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको खातामा राखिदिएका थिए । तर, बाबु तेजेन्द्रले पैसा मागेर हैरान पारेपछि सचिनकै नाममा बाल बचत खाता खोलेर जम्मा गरिदिएको थापाले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘भोलिको दिनमा बिरामी हुँदा आवश्यक पर्नसक्छ भनेर बैंकमा राखिदियौं । हामीले राख्दा बिरामीको पैसा खाएको आरोप लाग्ला भन्ने सोचेर हामी सबैको अभिभावक कृष्ण कँडेल दाइको खातामा राखिदिएका थियौं । तर, त्यही पैसा पनि जहिले धम्की दिँदै, मेरो पैसा खाइस् तैले भन्दै कृष्ण दाइको घाँटी च्याप्न पुग्ने कार्य गरी नै रहेपछि यस्तो बेइज्जतीको पैसा राख्नुभन्दा दिनु नै बेस भन्ने सोचेर बाल बचतमा ट्रान्सफर गरियो । बेला-बेला बैंकमा जाने मेरो पैसा चाहियो भन्ने गरेपछि सुन्छु अहिले सचिनको बुवाले त्यो सबै पैसा झिके अरे, झिकेको पैसा त सके पनि होलान् ।’

थापाले थप लेखेका छन्ः
‘सचिन बिरामी परेपछि उनलाई आफ्नै मम्मीले राख्ने सहमति भएको थियो । तर, बुवाले सचिनलाई मम्मीको साथबाट छुटाएर लिएर गएछन् । त्यसपछि मम्मीलाई सचिनसँग भेट्नसमेत दिएनछन् । अहिले बुवाको बारेमा केही भन्यो भने कता-कता पुग्छ, कुन-कुन मिडियामा गएर हुने नहुने जे पनि बोल्छ । पैसा तपाईंले पाउनुहुन्न, मम्मीले राख्नुहुन्छ भन्दा अस्पतालमै हामीमाथि हातपात गर्‍यो । एक रात प्रहरी खोरमै बस्यो पनि । त्यत्रो ज्यान छ, हातखुट्टा छन् । काम गर्नु नि ! लाजसरम छैन । बिरामी छोराकै भर परेको छ । टन्न रक्सी खाएको छ, बसेको छ । अझ मिडियामा आएर गोहीको आँसु झार्छ ।

‘म सचिनको बुवालाई प्रश्न गर्न चाहन्छु, औषधिको लागि जम्मा गरेको त्यो ८ लाख रूपैयाँ कहाँ सकियो ? के गरेर सक्यौ ? अब फेरि हामी मिडियाकर्मीले कुन मुखले सहयोग माग्ने ? मैले यो भनिरहँदा बिचरा त्यो निर्दोष भाइ सचिनको त के नै दोष छ र है ! छोरोलाई हेर्दा माया लाग्छ, बुवालाई हेर्दा रिस उठ्छ ।’

भोजराज थापाले लगाएको आरोपका विषयमा तेजेन्द्रसँग प्रश्न गर्दा उनले आपत्ति जनाए । आफ्नो छोराका नाममा पैसा उठाएर युट्युबरहरुले नै दुरुपयोग गरेको उनको प्रत्यारोप छ । ‘त्यसबेला टन्नै पैसा उठेको थियो । तर, मैले इन्द्रेणीबाट ल्याएको चाहिँ पाँच लाख हो । अरु पैसा कहाँ कसले मास्यो मलाई थाहा छैन’, उनले दाबीका साथ भने, ‘आठ लाख रुपैयाँ बचेको थियो भन्छन् भने बाँकी तीन लाखको हिसाब उनीहरुले नै देखाउनुपर्छ ।’

तर, तपाईंले छोराको ८ लाख मासेको भनेर फेसबुकमा भक्कु गाली गरिरहेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘यस्तो न्यूजले गर्दा भोलि बिहान मै मरें भने साइबर क्राइममा हालिदिन्छु नि त ! अनि उनीहरु जेल जान्छन् कि जाँदैनन् ? उनीहरुले पैसा उठाएर मनपरी गर्ने, मलाई आरोप लगाउने ?’ छोराको खातामा रहेको पैसा अहिले उपचारमा सकिएको तेजेन्द्रको भनाइ छ ।

‘बाबु बिरामी भएको डेढ-दुई महिना भइसक्यो । त्यही पैसाले त उपचार गराइरहेको थिएँ । नत्र मैले कहाँबाट ल्याउनू ? न मेरो जागीर छ न त पेन्सिन आउँछ’, उनले भने । केही काम नगरी डुकुलन्ठक भएर बस्नुभएको छ त भन्ने प्रश्नमा उनले गार्मेन्टमा काम गरिरहेको बताए । ‘गार्मेन्टमा काम गरेर तीन छोराछोरी र श्रीमती पालिरहेको छु । डेराभाडा तिर्नुपर्‍यो । छोराको स्कुल फी तिर्नुपर्‍यो । सजिलो छ ?’, उनले भने ।

सचिनले यसअघि भद्रा घले सेवा सदनमा रहेको विद्यालयमा निःशुल्क पढिरहेका थिए । तर, महानगरले गत साउनमा सार्वजनिक जग्गामा बनेको भन्दै सेवा सदन भत्काइदियो । त्यसपछि आफूले सो विद्यालयबाट छुटाएर शुल्क तिरेर टोखाको विद्यालयमा पढाइरहेको तेजेन्द्रले बताए । सचिन ३ कक्षामा पढ्छन् । ‘पैसा तिरेको छैन भने स्कुलले कराइरहेको छ’, उनले भने ।अहिले कृष्ण कँडेलले ३५ हजार र प्रकाश भुजेलले १५ हजार रुपैयाँ दिएको तेजेन्द्रले बताए ।

कँडेल भन्छन् : बच्चाको अवस्था साह्रै टिठलाग्दो देखेपछि ३५ हजार दिएर पठाएँ

इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले सचिनको नाममा उठाएको पैसा सुरुमा आफ्नो खातामा राखेको भए पनि केही समयमै सचिनको खातामा सारेको बताए । पैसा ८ लाख थियो कि ५ लाख अहिले आफूलाई सम्झना नरहेको उनको भनाइ छ ।

‘म दुई महिना अमेरिका बसेर ८ दिनअघि मात्रै आएको हुँ । चार दिन अगाडि सचिनको बुवाले छोरा लिएर मलाई भेट्न आएका थिए । बिचरा सचिनको अवस्था नाजुक देखें । मैले ३५ हजार दिएर पठाएको हो’, कँडेलले भने ।

उनको थप भनाइ यस्तो छः

भोजराज, मोहनहरुले मलाई अभिभावक मानेर सचिनको नाममा जम्मा भएको पैसा मेरो खातामा जम्मा गरेका थिए । एक महिना पछाडि राष्ट्रिय वाणिज्य बैंकमा सचिनकै नाममा बाल बचत खाता खोलेर राखिदिएको हो । सबै मिलेर नै हस्तान्तरण गरेको हो । कति पैसा भन्ने मलाई याद छैन ।

त्यो बच्चा पहिलो चोटि इन्द्रेणीमा आउँदाखेरि नै राम्रो अवस्था थिएन । उसले दिसा गरेको थाहा पाउँदैनथ्यो । इन्द्रेणीमा उसले ५-७ चोटि ओछ्यानमै दिसा गरिदियो । त्यसपछि मैले उसलाई विद्यालयमा बोर्डस गरेर राखिदिएको हो । पछि विद्यालय छुटाएर लगे क्यारे !

अमेरिकाबाट आएको दोस्रो दिन तेजेन्द्रले फोन गरेर दाइ छोरा बिरामी पर्‍यो भन्दै पैसा मागे । मैले त्यत्रो पैसा खातामा थियो त के गर्‍यौ भन्दा ‘त्यो पैसाको कुरा नगर्नु, दिने भए १५ हजार दिनु’ भने । त्यसपछि मैले अफिसमा बोलाएँ । अफिसमा आउँदा बच्चा देखेर साह्रै टिठ लाग्यो । ‘मलाई चिन्यौ बाबु ?’ भनेर सोधें । उसले ‘ठूलो बाबा…’ भन्यो । ‘एकचोटि हाँस त’ भनें । फिस्स हाँस्यो । तर, उसको हाँसो पनि विरक्तलाग्दो थियो । साह्रै मन कुँडियो । मैले फाउन्डेसनमार्फत ३५ हजार रुपैयाँ दिएर पठाएँ ।
यो बीचमा अरु के के भयो त्यो मलाई थाहा छैन । दुई महिनादेखि अमेरिका भएकाले पनि अपडेटमा थिइनँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?