काठमाडौं – हालै भारतको चन्द्र अभियान चन्द्रयान ३ र सौर्य अभियान आदित्यको सफलता कुनै संयोग होइन । भारतले दशकौँको योजना, प्राविधिक विकास र हजारौँ इन्जिनियर तथा वैज्ञानिकहरुको लगावको प्रतिफल पाएको हो । यी अन्तरिक्ष अभियान भारतको नवप्रवर्तन र महत्वकांक्षाको प्रतिक पनि हुन् ।
चन्द्रमामा चन्द्रयान ३ को अवतरणदेखि सूर्य अभियानमा आदित्यको सफलताले भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आफूलाई अग्रपङ्क्तिमा उभ्याएको छ । अन्तरिक्ष अभियानलाई लिएर आम भारतीयहरु पनि उत्तिकै उत्साहित देखिएका छन् । सतिश धवन अन्तरिक्ष केन्द्रबाट हुने उडानले पाकिस्तानविरुद्धको क्रिकेट म्याचजस्तै राष्ट्रिय महत्व नै पाउने गरेको छ ।
इसरोको पहलबाट देखा परेको प्रभाव वैज्ञानिक खोज अनुसन्धानमा मात्रै सीमित छैन । मोबाइल सञ्चारको विस्तारदेखि डाइरेक्ट टू होम ९डीटीएच० टेलिभिजन र परिष्कृत मौसम पूर्वानुमानमा समेत इसरोको भूमिका छ ।
भारतको अन्तरिक्ष कार्यक्रम शीतयुद्धका बेला अन्तरिक्ष दौडमा रहेका मुलुकहरुको जस्तो महत्वकांक्षी छैन । भारतीय अन्तरिक्ष कार्यक्रम विशिष्ट दर्शनबाट सञ्चालित छ ।
शीतयुद्धका बेला अमेरिका र सोभियत संघले अन्तरिक्षयानलाई ब्यालेस्टिक क्षेप्यास्त्रकै परिष्कृत प्रविधिको रुपमा लिएका थिए । तर, भारतले भने अन्तरिक्ष अभियानको उपयोगितालाई प्रमुख प्राथमिकता दिने गरेको छ ।
इतिहासमा जाने हो भने भारतको पहिलो यान साइकलको क्यारिअरमा राखेर प्रक्षेपण केन्द्रतर्फ लगिएको थियो । त्यसपछिका यान भने बैलगाडामा राखेर प्रक्षेपण केन्द्र पुर्याइएको थियो । अहिले भने भारतीय अन्तरिक्ष कार्यक्रमले एकपछि अर्को सफलता पाइरहेको छ । यसबाट भारतीय अन्तरिक्ष कार्यक्रमको संघर्ष र प्रतिफल अझ स्पष्ट हुन्छ ।
सीमित स्रोत र साधनका बावजुद इसरोले हलिउड चलचित्रको बजेटभन्दा कम खर्चमा मंगलयान र चन्द्रयानजस्ता अभियान सञ्चालन गर्दै आएको छ ।
माइक्रोसफ्ट र एप्पलको सुरुवात ग्यारेजबाट भएजस्तै इसरोको स्थापना पनि एउटा सानो प्रयोगशालाबाट भएको हो । स्थापनाको केबल ५ दशकमा इसरोले आफूलाई किफायती र प्रभावशाली अन्तरिक्ष संस्थाका रुपमा स्थापित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया