मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जब संगीतकारले योगेश वैद्यलाई उनकै प्रिय गीत गाएर विदाइ गरे


काठमाडौं– वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्य ७७ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । नेपाली सुगम संगीतका मुर्धन्य स्रष्टा बैद्य जीवनको अन्तिम कालसम्म गीत गुनगुनाउन चाहन्थे तर एक्कासी आएको ज्वरो र रुघाका कारण उनको शरीरले विश्राम लियो ।

उनी सधैँका लागि अलप भए । तर योगेशको महाप्रस्थानपछि ‘सपना भुलाई सारा आँसु लिएर जाऊ’ गुनगुनाइरहँदा शुभेच्छुकहरू आफै स्तब्ध भएका छन् ।

अमर श्रष्टा योगेश वैद्यलाई महाप्रस्थानको यात्रालाई विदाइ गर्दै सङ्गीतकार समाज नेपाल र सम्पूर्ण श्रष्टाहरूको तर्फबाट शुक्रबार अन्तिम गीति विदाइ गरिएको छ । सङ्गीत तथा नात्यास एकेडेमीको प्राङ्गणमा गरिएको उनको अन्तिम विदाइले सबैलाई स्तब्ध बनाएको छ ।

किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी’ रेकर्ड गराएपछि उनी सांगीतिक क्षेत्रमा उदाएका थिए । त्यसपछि उनले एउटा नेवारी गीत पनि गाए, ‘जीवन जिगु ’ ।

सरकारी जागिरे जीवनसँगै गीत संगीतको भीडमा अलग्गै पहिचान बनाएका योगेशले २०४४ सालमै गाएको गीत ‘सपना भुलाइ सारा’ साँच्चै कालजयी मानिन्छ । जसका कारण उनी सांगीतिक आकाशमा भिन्नै पहिचान बनाउन सफल भए ।

साहित्यकार उषा शेरचन ‘सपना भुलाइ सारा’सुनेर कहिल्यै नअघाउने कालजयी गीत भएको प्रतिक्रिया दिन्छिन् । आरआर क्याम्पसमा योगेशकी बहिनीसँगै पढेको जानकारी दिँदै शेरचनले सामाजिक संजालमा लेख्छिन्, ‘उहाँको निधन भएको अपत्यारिलो खबर पढेर झस्किएँ पनि र विश्वास गर्न गाह्रो पनि गाह्रो भयो ।

हुन त उहाँ शारीरिक हिसाबले बिसन्चो भएको त धेरै भइसकेको थियो । तर मानसिक हिसाबले भने तन्दुरुस्त हुनुहुन्थ्यो र सामाजिक सञ्जाल फेसबुकमा पनि निकै सक्रिय हुनुभएको कारणले पत्याउन गाह्रो पर्‍यो मलाई ।’

वि.सं. २०७७ सालको फागुनमा देब्रे खुट्टाको अप्रेसन गर्नुपर्दा करीब तीन महिना अस्पताल बसेका योगेश पछिल्लो समय स्टुडियोमा पुगेर गीत गाउन सक्ने अवस्थामा थिएनन् । तर संगीत भर्न र गीत लेख्न भने व्यस्त थिए ।

नेपालमा कोरोनाको महामारी देखिनुअघि एउटा गीतिसंग्रह समेत बजारमा ल्याएका गायक वैद्य आफ्नो स्वरमा अर्को गीतिसंग्रह ल्याउने योजना भने अधुरै रह्यो ।

हुन त योगेश पढाइमा पनि उस्तै निपूर्ण थिए । त्रिभुवन विश्वविद्यालयबाट वनस्पति शास्त्रमा र गेन्ट स्टेट विश्वविद्यालय बेल्जियमबाट खाद्य तथा पोषणमा स्नातकोत्तर गरेका थिए । वैद्यले तीन दशकभन्दा बढी सहसचिव स्तरको प्राविधिक सरकारी सेवामा रहेर काम गर्दापनि नेपाली गीत संगीतलाई निरन्तरता दिएका थिए ।

लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित योगेश पछिल्लो समय क्रमशः थलिँदै गएका थिए ।

उनको निधनपछि संगीतकारहरूले वैद्यको सम्झनामा शुक्रवार (आज) उनको प्रिय गीत ‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्वीर लिएर जाऊ’ बोलको कर्णप्रिय गीत गाएका थिए ।

गायक तथा संगीतकार टीका भण्डारी, चेतन सापकोटा, सम्भुजित बास्कोटा लगायतका दिग्गज कलाकारले वैद्यको सम्मानमा उक्त गीत प्रस्तुत गरेका थिए । त्यो बेलामा त्यहाँको माहोल भावुक बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?