मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केकीसँग संवाद

‘कलाकार बन्छु भन्ने लागेकै थिएन, डाक्टर बन्ने सपना थियो’

‘हामीसँग नेपाली सिनेमा कस्तो बनाउने भन्ने अझै स्पष्ट धारणा बनिसकेको छैन, सिकाइकै क्रममा छौँ ।’

काठमाडौं – अभिनय हुँदै सिनेमा निर्माणतर्फ तानिएपछि नायिका केकी अधिकारीको दैनिकी व्यस्त बनेको छ । अब उनको परिचय नायिकाको मात्र रहेन । निर्मात्री केकी अधिकारी पनि बनिसकेकी छिन् ।

केकीले ‘कोहलपुर एक्सप्रेस’ सिनेमा निर्माण गरेर सिनेमा निर्माण थालिन् ।

पछिल्लो समय उनी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को निर्माण टिममा जोडिएकी छिन् भने हालै ‘बोक्सीको घर’ नामक सिनेमा पनि निर्माणको घोषणा गरेकी छिन् ।

चार वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले सिनेमा निर्माण गर्न लागेकी हुन् । सिनेमाको शीर्ष भूमिकामा स्वयम् केकीलाई नै देख्न सकिनेछ । यस्तै सिनेमामा गौरव पहारीको पनि अभिनय रहने पक्का भइसकेको छ । अन्य कलाकार भने तय हुन बाँकी छ ।

‘यो नाटकको कथाले छोएर सिनेमा बनाउन लागेकी हुँ,’ केकीले भनिन् ।

लकडाउनपछि सिनेमा क्षेत्र खासै चलायमान छैन । यता कलाकारहरु भने अब बिस्तारै सिनेमा क्षेत्रलाई पनि चलायमान बनाउन सिनेमा निर्माणको घोषणा गरिरहेका छन् ।

केकीले पनि यो सिनेमा निर्माणको घोषणा कोरोना महामारीपछि नै गरेकी हुन् । उनी यो क्षेत्रबाहेक अरुतिरका बारेमा त्यति जानकार पनि छैनिन् ।

‘अब यही क्षेत्र नै रोजियो, अरु क्षेत्रको काम त आउँदा पनि आउँदैन,’ केकीले सुनाइन् ।

सानो छँदा आफूलाई कहिल्यै कलाकार बन्छु भन्ने नलागेको केकी बताउँछिन् । उनका अनुसार सबैले उनलाई डाक्टर बन्नु सल्लाह दिन्थे । त्यही सल्लाह र हौसलाले आफूलाई डाक्टर पढ्ने सपना बुनेको केकी सुनाउँछिन् ।

भन्छिन्, ‘कलाकार बन्छु भन्ने लागेकै थिएन, डाक्टर केकी अधिकारी बन्ने सपना थियो ।’

‘सुरुमा त यो क्षेत्रमा म लहैलहैमा लागेकी थिएँ, पछि यही क्षेत्रलाई नै कर्मथलो बनाएँ,’ केकीले भनिन्, ‘आफू केमा खुशी हुने भन्ने अन्तर्मनलाई थाहा हुने कुरा रहेछ, मैले यही क्षेत्रमा खुशी भेटेँ ।’

केकी स्कूले जीवनमा पढाइमा पनि उत्तिकै अब्बल भएको बताउँछिन् । बुबा (बद्री अधिकारी, उनी सिनेमा निर्देशक पनि हुन्) को स्कूलको प्रधानाध्यापक भएका नाताले पनि उनलाई पढ्नैपर्ने दबाब थियो ।

‘फस्ट गर्ल हुनैपर्ने प्रेसर थियो नि, झन् प्रिन्सिपलकी छोरी भएपछि त सबैले डाक्टर पढ्नै नै सल्लाह दिनुहुन्थ्यो,’ केकीले हाँस्दै सुनाइन् ।

बच्चा बेलामा आफ्नो नाम आफूलाई फिटिक्कै मन नपर्ने केकी बताउँछिन् । सबैले साथीहरुले नामका कारण जिस्काउने गरेको उनी सम्झिन्छिन् । पछि भने केकीलाई यो नाम निकै राम्रो लाग्न थाल्यो ।
आखिर किन मन पर्न थाल्यो त ?

नामको अर्थ बुझेपछि केकीलाई यो नाम खुबै प्रिय लाग्न थाल्यो ।

शुरुमा उनले बुबालाई भन्थिन् – ‘किन यस्तो अप्ठेरो नाम राखिदिएको बाबा ?’

उनको नाम साथीहरुले उच्चारण गर्न पनि जान्दैनथे । यही कुराले उनलाई वाक्क बनाउँथ्यो ।

केकीका बुबालाई भने यो नाम ‘युनिक’ लागेको थियो । नाम यस्तो थियो कि, एकपटक सुनेपछि मान्छेको मनमा बसिसक्थ्यो । बुबाले केकीलाई यही भनेर बुझाउँथे ।

केकी शब्दको अर्थ पनि उत्तिकै प्रिय रहेछ । त्यसपछि हो केकीलाई यो नाम प्रिय लाग्न थालेको ।

केकी अर्थात् मयूर ।

‘मलाई त यो नाम संसारकै सबैभन्दा सुन्दर लाग्छ आजकाल,’ केकीले आफ्नो नामको तारिफ आफै गरिन् ।

केकीका लागि उनका बुबाले क वर्णबाट नाम खोजिरहेका थिए । शब्दकोशमा हेर्दा उनले फ्याट्ट ‘केकी’ भेट्याए । यही नाम नै उनले छोरीका लागि जुराए ।

‘बाबाले माया गरेर राखिदिएको नाममा मजस्तो इरिटेड कोही हुँदैनथ्यो,’ उनले भनिन् ।

एमबीबीएसको तयारी थाल्दै गर्दा अभिनयतिर होमिएकी केकीलाई यो क्षेत्रमा आएको रमाइलो लाग्छ । काम गर्दै सिक्दै गर्दा हरेक दिन नयाँ अनुभव भएको महसुस गर्ने उनी बताउँछिन् ।

‘डाक्टर भएको भए कुनै हस्पिटलमा बिरामी जाँच्दै हुन्थेँ होला, अभिनयमा लागेर दर्शकको माया पाएकी छु,’ उनले सुनाइन् ।

नेपाली सिनेमा अझै पनि सिकाइकै क्रममा रहेको केकी बताउँछिन् । उनका अनुसार नेपालमा सिनेमा त बनिरहेका छन् । तर, ती सिनेमा अझै सिकाइका क्रममा निर्माण भएका हुन् । नेपाली मेकरले सिनेमा निर्माणमा नयाँपन पनि खोजिरहेका छन् ।

‘हामीसँग नेपाली सिनेमा कस्तो बनाउने भन्ने अझै स्पष्ट धारणा बनिसकेको छैन, सिकाइकै क्रममा छौँ नि त,’ केकी भन्छिन्, ‘अहिले हामी सबै मेकरले सिक्दै सिनेमा निर्माण गरिरहेका छौँ ।’

एक दशक नेपाली सिनेमा क्षेत्रमा बिताएकी केकीलाई आज यो अवस्थामा पुग्छु भन्ने नलागेको बताउँछिन् । न त करिअर सुरु गर्दा कुनै दिन निर्मात्री बन्छु भन्ने नै उनलाई लागेको थियो ।

सिनेमा निर्माणमा जुटेकी केकी कुनै समय निर्देशनमा समेत कदम चाल्न सक्ने बताउँछिन् । तर, यसका लागि भने अझै समय नभएको र धेरै सिक्नुपर्ने उनको बुझाइ छ ।

‘निर्देशकको काम सजिलो हुँदैन, यो गाह्रो काम पनि हो, यसका लागि म अझै तयार छैन, कुनै दिन निर्देशन पनि गर्दै गरेकी हुनेछु,’ केकीले भोलिको योजना सुनाउँदै भनिन्, ‘निर्देशक बन्नु मेरो सपना नै हो, जुन सपना अझै विपना बनिसकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?