मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

तनहुँमा चितुवा आतङ्क, सतर्क रहन स्थानीयलाई आग्रह

तनहुँ – जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ । साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित भएका हुन् ।

व्यास–६ साजा, शिशाघाट क्षेत्रमा चितुवा आतङ्क बढ्न थालेको स्थानीय साजा टोल विकास संस्थाका सचिव कृष्ण ढुङ्गानाले बताए । उनका अनुसार केही दिनयता तीन बोका, चार बाच्छा र चार वटा कुकुर मारिसकेका छन् । टोलबस्तीमा चितुवा देखिन थालेपछि सतर्कता अपनाएर सुरक्षित हुन स्थानीयलाई अनुरोध गरिएको उनले बताए ।

बस्ती नजिकै घनाजङ्गल रहेकाले साँझ र बिहानको समयमा हिँड्डुल गर्न समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । गाईबस्तु र बाख्रा चराउन जाँदा दिउँसोको समयमा पनि चितुवा भेटिने गरेको स्थानीयवासी बताउँछन् ।

डिभिजन वन कार्यालयसँग समन्वय गरी खोर राखेर नियन्त्रण गरिदिने विषयमा विषयमा छलफल भइरहेको ढुङ्गानाले जानकारी दिए । त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल आसपास क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयवासी त्रासित भएका छन् ।

साँझमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनका अनुसार साँझपख बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह गरिएको छ ।

चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षमा १३ बालबालिकाले ज्यान गुमाइसकेका डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिए। धनजनको क्षति हुनबाट रोक्न चितुवाका लागि पासो थापेर नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?