प्यारालाइसिस, हामीले सुन्दै र भोग्दै आएको समस्या हो । नेपालीमा यसलाई पक्षघात भनेर बुझिन्छ । पक्षघात हुनु भनेको शरीरका प्रभावित अंग नचल्नु वा कार्यसंचालन गर्न नसक्नु हो । यस्तो अवस्थामा हाम्रो दिनचर्या नै प्रभावित हुन्छ । हामी शारीरिक रुपले अशक्त हुन्छौं ।
चिकित्सकका अनुसार मान्छेको जीवनमा हरेक ४ जनामा एक जनालाई कुनै न कुनै प्रकारको स्टोक हुन्छ भन्ने तथ्याङ्क छ । तुलनात्मक रुपमा यसको समस्या बढी जाडो महिनामा हुन सक्छ । प्यारालाइसिस किन हुन्छ? प्यारालाइसिस भइसकेको अवस्थामा कसरी त्यसबाट सामान्य जीवनमा फर्कने? यस्तै विषयमा लामो समयदेखि नोबेल अस्पताल विराटनगरमा कार्यरत न्यूरो सर्जन डाक्टर प्रकाश काफ्लेसँग गरिएको कुराकानी:
प्यारालाइसिस कस्तो रोग हो ?
ब्रेन या स्पाइनको कारण शरीरका कुनैपनि अंग चलेन अथवा नराम्रो तरिकाले चल्यो भने त्यसलाई प्यारालाइसिस भनिन्छ । जस्तै दिमागमा दाहिने भागमा ब्रेन स्टोक भएको छ भने देब्रे भाग चल्दैन । देब्रेमा भयो भने दाहिने भाग निष्क्रिय हुन्छ ।
यसका लक्षण के के हुन् ?
ब्रेन स्टोक भएर प्यारालाइसिस भएको छ भने बोल्दै गरेको मान्छेको बोली हराउने, दाहिने अथवा देब्रे हात तल झर्ने, बोली लर्बराउने, मान्छे एकोहोरिने, मुख बाङ्गिने, शरीरका अन्य अंगमा स्टोक भएको छ भने आँखाको ज्योति गुम्ने यी सबै स्टोक अर्थात प्यारालाइसिसका लक्षण हुन् ।
यसबाट बच्न के गर्ने ?
प्यारालाइसिसबाट बच्न शरीरमा प्रेसर हुन दिनुभएन । नियमित व्यायाम गर्ने, स्वच्छ खाना त्यसमाथि फलफूल, फाइबरयुक्त खाना खाने, लागूपदार्थको सेवन नगर्ने, धूमपान नगर्ने, मधुमेहका बिरामीले कम गर्ने जस्ता कुरामा ध्यान दियौं भने केही हदसम्म यसबाट बच्न सकिन्छ ।
घरेलु उपचार के छ ?
प्यारालाइसिसका कारण हातखुट्टाहरु नचल्ने, मुख बाङ्गिने, जस्ता लक्षण देखिए भने उसमा डिप्रेसन शुरु हुन्छ । त्यसैले सबैभन्दा पहिले बिरामीको आत्मबल बढाउने । त्यसपछि शरीरको नचल्ने भागलाई चलायमान बनाउन फिजियोथेरापी, कसैको आवाज गुमेको, बोली लर्बरिएको छ भने स्पीक थेरापी गर्नुपर्छ । त्यसको साथसाथै रक्त सञ्चार सन्तुलित राख्ने, मधुमेह र शरीरमा बोसोको तत्व बढ्यो भने धेरै स्टोक हुनसक्छ । त्यस्तो तत्व घटाउन शारीरिक व्यायाम गराउने जस्ता विधि अपनाउन सकिन्छ ।
कस्तो अवस्थामा अस्पताल जाने ?
मुख बाङ्गियो, हातखुट्टा कमजोर भयो, बोली लर्बरायो, एक्कासि टाउको दुख्यो भने स्टोक भएको निश्चित गरी तुरुन्तै अस्पताल गएर सिटिस्क्यान गर्नुपर्छ । त्यसपछि कस्तो खालको स्टोक हो थाहा हुन्छ । रगतको नसा सुक्ने र फुट्ने दुईवटा स्टोक हुन्छ । नसा फुट्ने खालको स्टोक हो भने अप्रेसन गर्नुपर्ने हुनसक्छ । नसा सुक्ने खालको स्टोक हो भने औषधीको प्रयोगले पगाल्न सकिन्छ ।
सामान्य जीवनमा फर्काउने सम्भावना कति रहन्छ ?
शरीरको कुन भागमा स्टोक भएको हो । त्यो अवस्था हेरेर हुन्छ । रगतको नसा जाम भएर समस्या भएको हो र बिरामीलाई साढे ४ घण्टाभीत्र अस्पताल पुर्याउन सकियो भने रगतको थोपा निकालेर धेरैजसो बिरामीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ । त्यस्तै रगतको नसा फुटेको छ भने सामान्य अवस्थामा फर्काउन अलि कठिन हुन्छ ।
बिरामीको अवस्था के छ ?
अहिलेको खानपान, मादक पदार्थ सेवन, शारीरिक अभ्यास कम गर्नु जस्ता कारणले प्यारालाइसिसका बिरामीको संख्या नेपालमा बढिरहेको छ ।
चिसो मौसममा यसको जोखिम बढी हुने हो ?
चिसो मौसममा ब्रेन हेम्रेज बढेको देखिन्छ । यो हुनुको कारण हो शरीरमा एक्कासि तापक्रम कम हुनु । तापक्रम कम हुँदा रगत सञ्चालनमा समस्या भएर स्टोक हुने सम्भावना बढी हुन्छ ।
तपाईं लामो समयदेखि यही क्षेत्रमा काम गरिरहनुभएको छ, स्टोकका कस्ता-कस्ता बिरामीको उपचार गर्नुभएको छ ?
म न्युरो सर्जन भएका कारण नसा फुटेका, नसा सुकेका केसहरू मैले हेरेको छु । कहिलेकाहीँ ट्युमरहरू जस्तै ब्रेन ट्युमर लगायत शरीरका अन्य भागहरुमा भएका ट्युमरहरुका कारणले पनि स्टोक भएका केसहरू आउने गरेका छन् ।
यसमा वंशाणुगत असर कत्तिको हुन्छ ?
यसमा नेपालको डाटा अहिलेसम्म बनिसकेको छैन । बाहिरी देशको तथ्याङ्क हेर्ने हो भने मान्छेको जीवनमा हरेक ४ जनामा एक जनालाई कुनै न कुनै प्रकारको स्टोक हुन्छ भन्ने देखाएको छ । त्यसैले यसको जोखिम बढी छ । झाडा बान्ता, टीबी जस्ता रोगलाई उच्च प्राथमिकतामा राखिएको छ तर, यसलाई प्राथमिकतामा नराखिनु आश्चर्यजनक छ ।
उपचार कति खर्चिलो छ ?
उपचार सस्तो महँगो भन्दा पनि यसमा म्यानपावरकै कमी छ । जसका कारण सबै ठाउँमा दक्ष जनशक्ति नपुगेको भएर उपचार अलि महँगो देखिन्छ । सरकारले पनि अन्य बिरामीका लागि विभिन्न ठाउँमा उपचार गर्न सकिने व्यवस्था गरेको छ तर स्टोकका लागि यथेष्ट जनशक्ति नै छैन ।
सरकारको भूमिका कस्तो हुनुपर्छ?
जनसङ्ख्याका आधारमा स्टोक सम्बन्धी उपचार गर्ने अस्पतालको व्यवस्था गर्नुपर्छ । सरकारी दरबन्दी बढाउनुपर्छ । मान्छेमा सामाजिक सुरक्षा छ भन्ने विश्वास बढेपछि यो क्षेत्रमा लाग्ने उत्साही हुन । अहिले के छ भने सरकारले दरबन्दी खुलाएको छैन । जागिरको सुरक्षा नभएपछि स्वत: मानिस काममा जान खुशी हुँदैन । त्यसबाहेक सरकारले ब्रेन स्टोकका बिरामीलाई पनि सुविधा दिनुपर्छ ।
अन्तमा यहाँको सुझाव के छ ?
स्टोक अर्थात प्यारालाइसिस भइसकेपछि उपचार गर्नुभन्दा हुनै नदिनु राम्रो हो । जसको लागि स्वस्थ जीवनशैली अपनाउने, सके दैनिक नभए हप्तामा ५ दिन पसिना आउने गरी शारीरिक व्यायाम गर्ने, धूम्रपान र मद्यपानबाट टाढा रहने, सुगर प्रेसरलाई नियन्त्रणमा राख्ने गर्नुपर्छ । स्टोकको प्रमुख कारण भनेकै उच्च रक्तचाप हो । स्टोकका धेरैजसो बिरामीहरूमा उच्च रक्तचापको समस्या देखिएको छ । त्यस्तै बेला–बेलामा किड्नीको जाँच गराउने गर्यौँ भने प्यारालाइसिसको समस्याबाट बच्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया