मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘घुमौँ सौराहा’ अभियान सञ्चालन हुने

चितवन – सौराहामा पर्यटक बढाउन यहाँका व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् । 

क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न ठाउँमा जाने तयारी गरिएको जानकारी दिए । 

‘पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ’, उनले भने – ‘थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ ’ । उनले सौराहामा आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्यासमेत उल्लेख्य रहेको भन्दै यी दुई देशमा समेत अभियान चलाइने जानकारी दिए । 

चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीले बताए । 

उनले जिप सफारी, हात्ती सफारीलगायतका कार्यक्रमहरू भए पनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताए । 

सरकारले निकुञ्जमा अन्य रुट पनि खुला गरिदिए पर्यटकको लागि राम्रो हुने गिरीको भनाइ छ । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनासो थियो । 

सौराहामा मात्र साना–ठूला गरी एक सय ४१ होटेल छन्  । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । यहाँ नयाँ होटेल पनि खुल्ने क्रम जारी छ । यहाँ झन्डै दुई सय रेष्टुराँ छन् । 

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?