काठमाडौँ – काठमाडौँ महानगरपालिका (कामपा)ले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा रु चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु चार अर्ब ५६ करोड २९ लाख ५७ हजार राजस्व असुल गरेको थियो ।
अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यस वर्ष रु ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी बहाल करमा रु एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ । त्यस्तै, सम्पत्ति करमा रु ६७ करोड १७ लाख २० हजार असुल गरेको हो ।
विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो ।
महानगरले चालु आवका लागि करिब रु १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने रु नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।
विगतका केही वर्ष कोरोना महामारीका कारण आशा अनुरूप कर असुल हुन नसके पनि चालु आवमा लक्ष्यमा पुग्न समस्या नहुने महानगरको भनाइ छ ।
सम्पत्ति, घर बहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए ।
चालु आवमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाई छ ।
यस वर्ष कामपाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा खासै समस्या नभएको विभागले जनाएको छ ।
महानगरले पछिल्लो समय राजस्व सङ्लनका लागि थप कडाइ गरेसँगै लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल उपर गर्न सहज भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया