मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै

पर्वत – पवित्र कालीगण्डकी नदी किनारका घाट दुर्गन्धित बन्दै गएका छन् । शव दाहस्थल र गङ्गास्थलका रुपमा रहेका यहाँका घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धिन बन्दै गएका हुन् ।

पर्वतको सदरमुकाम कुश्माबजार नजिकैका कालीगण्डकी र मोदीखोलाको सङ्गमस्थल प्रसिद्ध मोदीबेनी घाट, फलेवास नगरपालिका–६ मा रहेको जैमिनी घाट, गुल्मी र पर्वतको सङ्गमा रहेको पूर्तिघाट तथा विश्वकै ठूलो शालग्राम शिला रहेको सेतीवेणीलगायतका घाटमा फोहोर थुप्रिन थालेको छ ।

मोदीवेणी नृसिंहधाम व्यवस्थापन समितिका अध्यक्ष केशवदास बैरागीले प्लाष्टिकसम्बन्धी फोहोर बढी रहेकाले समस्या भएको बताए । साथै कतिपय जातिमा शव नजलाउने र ढुङ्गाले पुरेर छाड्ने प्रचलनले पनि दुर्गन्ध फैलिएको उनको भनाइ छ । त्यस्ता शवका कारण गर्मी मौसममा अत्यधिक दुर्गन्ध फैलिने गरेको उनले बताए। “केही शव बेवारिसे अवस्थामा पनि घाटमा भेटिन्छन्”, उनले भने, “मलामी र भक्तजनहरुले सामग्री जथाभावी फ्याँक्दा नदी किनार फोहोरले भरिन थालेको छ ।”

मोदीवेणी घाटमा दैनिक पाँचवटासम्म शव जलाइन्छ । घाट दुर्गन्धित हुन थालेपछि पछिल्लो समय घाट सरसफाइका लागि पहल सुरु भएको अध्यक्ष वैरागीले बताए । फोहर अत्यधिक भएपछि घाट व्यवस्थापन समितिले निश्चित शुल्क लिएर सरसफाइका लागि कर्मचारी नियुक्ति गर्ने तयारी गरेको उनको भनाइ छ ।

फलेवास वडा नं ६ र बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरास्थित जैमिनीघाट, पूर्तिघाट र सेतीवेणीमा पनि फोहोरको अवस्था उस्तै छ । व्यवस्थापन समितिको उदासिनताले पनि धार्मिकस्थल र घाटमा फोहोर बढ्दै गएको माघे सङ्क्रान्तिमा स्नानका लागि सेतीवेणीधाम पुगेका पैँयू गाउँपालिका–५ का वडाध्यक्ष नारायण भुर्तेलको भनाइ छ ।

सेतीवेणीमा नयाँ व्यवस्थापन समिति गठन हुन ढिलाइ भएकाले समस्या देखिएको विहादी गाउँपालिका–६ शालिग्रामका वडाध्यक्ष मनबहादुर बस्यालको दाबी छ । उनले अब केही दिनमा नयाँ व्यवस्थापन समिति बनेपछि फोहर व्यवस्थापनको कामसमेत गरिने बताए । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशवाट शिला संरक्षणका लागि रु पाँच लाख विनियोजन भएको भन्दै व्यवस्थापन र निर्माण समिति तत्काल गठन गरेर काम थाल्ने उनको भनाइ छ ।

त्यसैगरी मोदीवेणी वृद्धाश्रममा ३० वर्षदेखि बस्दै आएकी सावित्री शर्माले आफूहरुले पटक–पटक शवको उचित व्यवस्थापन गर्न आग्रह गर्दा पनि अटेर भइरहेको बताए । कालीगण्डकी नदीको पर्वत खण्डमा पर्ने गोपाङ्घाट, नयाँ पुल, अर्मादी, मालढुङ्गा, खनियाघाट, मिलनचोक र वारीबेनीमा रहेको घाटमा पनि दाहसंस्कार गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?