मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

निफको सातौँ संस्करण: ४० देशका ८८ फिल्म प्रदर्शन गरिने


काठमाडौँ – नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैत १ देखि ५ गतेसम्म हुने भएको छ ।

आयोजक नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले मंगलबार नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरुको सूची सार्वजनिक गर्दै महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकमर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र पनि सञ्चालन हुने जानकारी गराएको छ ।

महोत्सवका अध्यक्ष केपी पाठकले फिल्मको लाइन अप सार्वजनिक गर्दै यो संस्करणमा ६० देशका ५०० बढी प्राप्त भएकोमा छनौट समितिले ४० देशका ८८ वटा फिल्म छानिएको जानकारी दिए ।

‘निफलाई प्राप्त फिल्मको संख्याले हामीलाई उत्साहित बनाएको छ । फिल्म आउने यो अनुपात हेर्दा ५ दिनमा पनि नभ्याउने स्थिति बनिरहेको छ,’ उनले भने, ‘तर निरन्तरता दिने हिसाबले आर्थिक रुपमा यसले चुनौतीको सामना गरिरहनु परिरहेको छ, यो पक्षका लागि सबैसँग सहयोगको अपेक्षा राखेका छौँ ।’

निफमा यो पटक छनौटमा परेका थुप्रै चलचित्रहरु कान्स, लोकार्नो, बर्लिन आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेको जानकारी गराइएको छ ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै अभिनेता नीर शाहले निफले आगामी दिनमा पूँजी र बजार एवं पूर्वीय ज्ञानमा केन्द्रित गर्नुपर्ने सुझाव दिएका थिए ।

उनले राष्ट्रिय चलचित्र उद्योग पूँजी र बजारमा केन्द्रित नहुने हो भने अबका थुप्रै वर्ष यही अवस्थामा रहिरहने र निफजस्ता कार्यक्रमले यस्ता कुरामा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए । यसैगरी उनले पश्चिमा चलचित्रकर्मी कथाको खोजीमा रहेका पूर्वीय दर्शन र ज्ञान बाँड्नमा पनि महोत्सव सक्रिय हुन सुझाव दिएका थिए ।

अघिल्लो साल ‘प्रकाश’ बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका प्रदीप खड्काले आफू चलचित्रको सिकारु भए पनि चलचित्रलाई सञ्चार मन्त्रालयको मातहतमा राखिनु आफ्नो लागि जिज्ञासाको विषय रहेको धारणा राखेका थिए ।

‘म आकस्मिक कलाकार हुँ । जीवनमा धेरै कुरा कोशिस गर्ने क्रममा कलाकार बनेको हुँ । चलचित्र क्षेत्रलाई सञ्चार मन्त्रालय अन्तर्गत राखेर हेर्दा यसको सामथ्र्य खुम्चिएको हो कि भन्ने लाग्छ । यसैलाई संस्कृति मन्त्रालय अन्तर्गत राखेर हेर्ने हो भने यसको बुझाइमा फरक पर्थ्यो कि,’ उनले भने ।

यसैगरी कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले नीति नियम नहुँदा बोर्डले अपेक्षित काम गर्न नसकेको धारणा राखेका थिए ।

‘पञ्चायतकालीन कानुनको भरमा हामी विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैनौँ । अहिले हामी कानुन निर्माणका लागि लागि परेका छौँ । योपछि विश्व बजारमा जाने फिल्मको निर्माणमा बल्ल सघाउन सक्छौँ,’ उनको भनाइ थियो ।

निफको यो संस्करण पनि अघिल्लो संस्करणझैँ राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु चलचित्र र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ ।

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ । महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरु सिभिल मल,लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

मोफसलमा केही संस्करण सम्पन्न गरेको निफले यो सालबाट प्रदेशमा पनि महोत्सवलाई विस्तार गर्ने तयारी गरिरहेको छ ।

प्रदेशमा हुने फेस्टिभलमा भने महोत्सवमा विजेता बनेकासँगै दर्शकको रुचिमा परेका अन्य फिल्म प्रदर्शन गरिनेछन् ।

आयोजकले महोत्सव हुने प्रदेशको मिति र स्थान केही समयपछि सार्वजनिक गरिने जनाएको थियो ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलरसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरुबाट एउटालाई ‘चलचित्र समाजहरुको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन क्विहोटे अवार्ड’ प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ ।

यो सालबाट दर्शक रुचिका चलचित्रलाई अवार्ड दिने थप एउटा विधा पनि थपिएको जानकारी गराउन चाहान्छौँ । ‘अडियन्स च्वाइस अवार्ड’ शीर्षकमा बाँडिने यो अवार्ड दर्शकको मतका आधारमा चयन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?